आज ऐतिहासिक दिन

आज मुलुककै ऐतिहासिक दिन हो । मुलुकका सबै स्थानीय पालिकामा नयाँ सरकार चुन्ने दिन । अर्थात संघात्मक लोकतान्त्रिक संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचन । स्थानीय तहलाई कसरी लैजाने भन्ने सन्दर्भमा सोही ठाउँका जनताले निर्णय गर्ने दिन, स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० गते ।

मतदाताहरु नेतृत्व चुन्न आतुर भएको यो दिन इतिहासको एउटा महत्वपूर्ण दिन पनि हो । आजकै दिन जनताले गरेको मतदानले मुलुकका ७ सय ५३ वटै स्थानीय पालिकामा नयाँ सरकार बन्नेछन् । आगामी ४ बर्षका लागि यिनै जननिर्वाचित प्रतिनिधिहरुले आ–आफ्नो स्थानीय तहलाई गतिशील बनाउने छन् ।

समृद्धिको रेखा कोर्ने छन् । विकास निर्माणको सम्पूर्ण अधिकार त स्थानीय तहमा छँदै थियो, तर संघात्मक व्यवस्थामा शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार, कृषि, पशुपालन तथा सहकारिताको अधिकार पनि स्थानीय तहमै आइसकेको छ ।

नयाँ संविधानले मुलुकमा तीन तहका सरकारको परिकल्पना गरेको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार । तीनै तहका सरकार जनताले चुन्ने संवैधानिक व्यवस्था छ । यद्यपि जनताको सबैभन्दा उच्चतम सरोकारको विषय भनेको स्थानीय सरकार निर्माण हो । किनकि जनता सबैभन्दा बढी स्थानीय सरकारकै टचमा रहन्छन् ।

यही कारण पनि स्थानीय तहको निर्वाचनले मुलुकमा विशेष महत्व राख्छ । संविधानले पनि स्थानीय सरकारलाई सबैभन्दा बलियो सरकारका रुपमा परिभाषित गरेको छ । यद्यपि स्थानीय तहलाई अझै पनि संविधान प्रदत्त अधिकारहरु प्राप्त हुन सकेका छैनन् । संघले केही अधिकार अझै पनि आफ्नै मातहतमा केन्द्रिकृत गरेको छ । यी समस्यालाई पनि अब बन्ने सरकारले परिमार्जन एवं परिस्कृत गर्नेछ भन्ने आम मतदाताको चाहना पनि छ ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा भैसकेको छ । निर्वाचनका लागि बुथ निर्माणदेखि सुरक्षा व्यवस्थापनलगायतका सबै तयारी पूरा भैसकेका छन् । निर्वाचनलाई भव्य र सभ्य बनाएर भयरहित वातावरणमा आफूले चाहेको उम्मेदवारलाई तोकिएको चिन्हमा स्वस्तिक छाप लगाएर विजयी बनाउन कुनै रोकतोक हुनुहुँदैन । लोभ–लालच र आर्थिक प्रलोभनमा कुनै पनि मतदाता पर्ने छैनन् ।

डर, त्रास र धम्की मतदातालाई स्वीकार हुने छैन । यस्ता अवान्छित गतिविधि गर्नेहरुलाई सुरक्षा अधिकारीहरुले कानुनी कारबाहीको दायरामा ल्याउने छन् । स्थानीय तहमा नयाँ सरकार चुन्ने यो सुनौलो दिनलाई सफलताको अनुभूतिको दिनका रुपमा आम नागरिकहरुले लिएका पनि छन् । मुख्य राजनीतिक दलका नेतादेखि स्वतन्त्र उम्मेदवारलाई समेत भयरहित ढंगले मतदानको वातावरणमा मतदानमा खटिने कर्मचारी, सुरक्षाकर्मी एवं सवै राजनीतिक दलहरुबाट सहयोग हुनेछ भन्ने हाम्रो अपेक्षा हो ।

यो ऐतिहासिक दिनलाई भव्य र सभ्य बनाउन सबै निकायहरुको सामूहिक पहल आवश्यक छ । नागरिकहरुले आफ्नो अधिकारका लागि निरन्तर गरेको ७ दशकको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि यो दोस्रो स्थानीय तहको निर्वाचनलाई एउटा महोत्सव जस्तै बनाऔं । जनतालाई आफ्नो सरकार आफै चुन्ने अधिकारको उच्च सम्मान गरौं ।