वैशाखमा चुनाव कि तिहार ?

मधुसूदन सुवेदी
२०७९ साल वैशाख ३० गते स्थानयि तहको निर्वाचन सम्पन्न गर्ने गराउने कार्यक्रम रहेकोले यतिबेला समय चुनावमय बनेको छ । चुनावमा हरेक दल वा पार्टीले चुनावी परिणाम आफ्नो पोल्टामा पार्ने अभिष्ट राखिरहँदा यो माहोल झनभन्दा झन तातेको छ । आजसम्मको समयलाई आँकलन गर्ने हो भने चुनावी चलाखी, चुनावी दौडान, चुनावी अभियान, चुनावी प्रचारप्रसारमा तीव्र ढङ्गका क्रियाकलाप तथा गतिविधि अघि बढिरहेका छन् ।

चुनावी उम्मेद्वार प्रत्यक्ष घरदैलोमा गएर मतदातासँगै गर्वका साथ भोट माग्ने नैतिकता गुमाएको देखियो, बाटो, पुल, पुलेसा, गल्ली, चोक, धारा, पानीपँधेरो, चिया चौतार, हे¥यौँ भने त्यहाँ नाचगान, बजाना, गीत, संगीत, सम्पूर्ण भैलोका सामग्री प्रयोग भएका छन् र यो वैशाख महिना तिहारमय बनेको छ । रमाइलो र मनोरञ्जनका दृष्टिले हेर्ने हो भने यो रमाइलो हिजोको तिहारमा पनि थिएन र भोलि आउने तिहारमा पनि हुने छैन । किनभने गीत र बाजा उही हो, बाजागाजा उही हो, नाचगान उही हो, केवल देउसी र भैलो शब्द मात्र छुटेको छ र दान माग्ने क्रममा पनि तिहारमा कात्तिके दाना रुपैयाँ, पैसा, सेल रोटी अपेक्षा गरिन्थ्यो भने यो बेला भोटको अपेक्षा गरिएको छ ।

नेताले एक प्रकारको राजनीतिक हैसियत गुमाएको देखियो र जनतामा चेतना पलाएको देखियो । जसका कारण चुनावी उम्मेदवार घरदैलोमाभन्दा सडक तताएका छन् र गाडी र मोटरको प्रयोग गरेर ढ्वाङ फुकेका छन् ।नेताको आफ्नै भाषा, आफ्नै शैली, आफ्नै बोली, आफ्नै वचन छैन न त यहाँ आफ्नै प्रतिबद्धता नै छ । केवल अर्काले सिर्जना गरेका शब्द, अर्काले संगीत भरेको धुन र अर्काले गाएको शब्द बोकेर चुनावी उम्मेदवार सडक–सडक र गल्ली–गल्ली चाहारिरहेका छन् । यो देख्ने, सुन्ने, भोग्नेका लागि संगीतमय नेपाल बनेको छ र कलाकार, संगीतका र गीतकारको लागि सुखद पक्ष बनेको छ तर यसलाई राजनीतिक भाषामा रुपान्तरण गर्ने हो भने अब नेताले जनतासँग भन्ने कुनै ठाउँ रहेनछ ।

जे भन्छ गीत, जे बोल्छ संगीत, जो नाच्छ पात्र त्यही नै राजनीतिको प्रतिबद्धता भयो । यसले के बुझायो र के सन्देश दियो भने प्रत्यक्ष नेताले बोलेका कुरा आजसम्म पूरा हुन सकेका छैनन् भने आज फेरि बोलेर त केही पनि अर्थ छैन । त्यसैले जे बोल्छ गीत बोल्छ । गीतले बोलेका कुरा आज जनताले कान ठाडा पारेर सुन्नुपर्ने अवस्था आयो । नेता सडकमा सीमित छ । ढोकामा जान सकेको छैन । जनतासँग भेट गर्न सकेको छैन । घोषणापत्र बाँडेको छैन । जनतार्ला चुनावी प्रशिक्षण दिएको छैन । जनता मतपत्रदेखि अनभिज्ञ छन् । उम्मेदवारको चासो छैन, जनताको गुनासो छैन ।

एकजना सामन्य व्यक्ति आएर घरमा फोटो भएको स्टिकर हातमा थमाउँछ र फर्केर जान्छ । दोहोरा सम्वाद छैन, दोहोरो कुराकानी छैन । दोहोरो माग छैन । यो कस्तो चुनाव हो ? कस्तो निर्वाचन हो ? कस्तो प्रचारप्रसार हो ? समयले राजनीतिलाई किन यति पछि धकेलिदियो ? समयले नेता र पार्टीलाई किन यति चाँडै विवेक गुमाइदियो ? एउटा सर्जकले सिर्जना गरेको गति, एउटा संगीतकारले संगीत भरेको बाजा र एउटा गायककारले गाएको गीति स्वरमा चुनाव चल्ने भनेको राजनीति कहाँ पुगेछ ?

जनता र नेताको दूरी कति बढेछ ? नेताले राजनैतिक नैतिकता कति गुमाएछन् ? यही हो असली लोकतन्त्र ? सडकमा नाचेर, गाएर, उफ्रिएर जनमत बदल्ने कहाँको प्रथा हो ? कहाँको चलन हो ? कहाँको संस्कार हो ? नेता र पार्टीले समीक्षा गर्नु पर्दैन ? यो कसैको बिहो हो, यो कसैको उत्सव हो ? यो कसैको कलश यात्रा हो ? यो कसैको बिहे हो, यो कसैको उत्सव हो ? यो कसैको कलशयत्रा हो ? यो कसैको धार्मिक घर, धामको फूलपाती सेलाउने कार्य हो ?

उम्मेदवारले बोल्ने भाषा र बोली किन हरायो ? उम्मेदवारको प्रतिबद्धता किन लोप भयो ? चुनावी माहोल जति बिग्रिँदै छ त्यो सहर बजारमा बिग्रिँदै छ । ग्रामीण भेगमा यस्तो छैन र यस्तो सुनिएन । गाउँघरमा नै सुन्छि उम्मेदवार नभएको र नपुगेको कुनै घर छैन । सबै झुपडी, घर र सबै महलमा पुगेकै छन् । यहाँ सडकमा कराएका छन्, सडकमा हल्ला गरेका छन् । सडकमा ताली बजाएका छन् । सडकमा नारा सडकमा कराएका छन् , सडकमा हल्ला गरेका छन् ।

चुनावै भएको छैन, उनीहरु विजयोत्सव गरिरहेका छन् भने यो के हो ? तीज हो ? दसैँ हो ? तिहार हो ? गीतसंगीत, नाचगान चल्ने समय कुन हो ? नेटाको नेता नभएपछि र नेताको नेटा नभएपछि गर्ने यस्तै हो । गन्धर्वले गीत गाउने, अप्सराहरु नाच्ने र देवताहरु हेरेर आनन्द लिने गरेको पुराणमा सुन्न पाइन्थ्यो त्यो पनि कलियुगमा होइन सत्य युगमा, त्रेता युगमा र द्वापर युग अहिले सडकमा के भएको छ भने डेगबाट गीत बज्ने अर्थत् डेगले गीत गाउने, जनता नाच्ने र उम्मेदवारले हेरेर मनोरञ्जन लिने ।

भोट कसले हो र कता जान्छ ? थाहा छैन तर तिहार उत्सव मनाउन पाएकोमा पार्टी, नेता, कार्यकर्ता, उम्मेदवारबाट सबै प्रफुल्लै देखिन्छन् । यतिबेला चुनावी जवानी छ । जोश, जाँगर र हिम्मत छ । यो बेला यो वैशाख महिना तिहार हो कि चुनाव हो थाहा छैन । जब चुनाव सम्पन्न हुन्छ र चुनावी नतिजा आउँछ त्यसपछि त्यतिबेला मनाएको तिहारको होस आउने छ र कतिले हार र जित पनि स्वीकार्लान् ।