इतिहास रच्ने दाउँँमा विष्णु

गोरक्ष समाचारदाता
दाङ, २७ वैशाख । स्थानीय तह निर्वाचन–२०६९ संघारमा आइ पुगेको छ । स्थानीय तह निर्वाचनका लागि मतदान गर्ने अब चार दिन मात्रै बाँकी रहँदा उम्मेदवारले प्रचारप्रसारदेखि भेटघाटलाई तीव्र बनाएका छन् । जनताको घरदैलामा जाने, आफ्ना एजेण्डाहरू राख्ने र आपूmलाई मतदान गर्न मतदातालाई आग्रह गरिरहेका छन् ।

घोराही उपमहानगरपालिकाका १९ वटा वडामध्ये गठबन्धनमा भागबण्डाका क्रममा १४ वडाहरूमा कांग्रेसका उम्मेदवारहरू छन् । १४ वडामध्ये ५ वटा वडामा २०७४ सालको स्थानीय तह निर्वाचनमा जितेका वडाध्यक्षहरू पुनः उम्मेदवारका रूपमा रहेका छन् भने बाँकी ९ वडामा नयाँ अनुहार देखा परेका छन् । त्यही मध्यको एउटा वडा हो, घोराही–५ ।

साविकको धर्ना गाविसका रूपमा रहेको वडा नं. ५ मा कांग्रेसका उम्मेदवार विष्णुमणि दाहाल पुनः वडाध्यक्षमा दोहोरिने दौडमा छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित दाहाल यसपटक नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको साथ रहेकाले वडाध्यक्षमा निर्वाचित हुनेमा ढुक्क छन् । दाहालले निर्वाचनका लागि घरदैलो र भेटघाटसँगै मतदातालाई निर्वाचनमा कसरी मत दिने भनेर सिकाउन थालेको बताउँछन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा दाहालले १ हजार १ सय ४३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी एमालेका विवेक बुढाथोकीले ९ सय ३६ मत ल्याएका थिए । निर्वाचनमा बुढाथोकीलाई राष्ट्रिय जनमोर्चाको साथ रहेको थियो तर अहिले राष्ट्रिय जनमोर्चासहित माओवादी केन्द्र र कांग्रेसको गठबन्धन रहेकाले निर्वाचन जित्न सहज हुने गठबन्धनको ठहर छ । त्यसैमा एमालेबाट अमृत जैशीले वडाध्यक्षमा बागी उम्मेदवारी दिएका छन् ।

लामो समय शिक्षण पेसामा आबद्ध रहेर राजनीतिमा प्रवेश गरेका र पहिलो कार्यकाल वडाको विकासका लागि सम्झनलायक काम गरेकाले वडाबासीले पुनः वडाध्यक्षमा निर्वाचित गराउने उम्मेदवार दाहाल बताउँछन् । ‘२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लैले निर्वाचन जितेको हो । यस पटक माओवादी र राष्ट्रिय जनमोर्चाको साथ रहेको’, वडाध्यक्षका उम्मेदवार दाहालले भने, ‘पहिलो कार्यकालमा गरेको कामको मूल्याङ्कन र धर्ना कांग्रेस क्षेत्र भएकाले हार्ने अवस्था छैन ।’

उनले वडाको विकासका लागि विकट बस्तीलाई सडक सञ्जालले जोड्ने, विद्युत विस्तार, खानेपानीको सुविधासँगै शिक्षा, स्वास्थ्यलगायत जनताको जीवन स्तरलाई माथि उकास्नेदेखि कृषि व्यवसायमा आत्मनिर्भर बनाउनलाई किसानलाई तालिम, उन्नत जातको बिउ वितरणदेखि यान्त्रिकीकरणका लागि सहयोग गरेकाले दाहाल लोकप्रिय छन् ।

पहिलो कार्यकालमा गर्न चाहेका तर बजेट अभावका कारण अपूरा योजनाहरूलाई पूरा गर्नुका साथै वडाबासीको सेवकका रूपमा काम गर्न पुनः उम्मेदवारी दिएको दाहाल बताउँछन् । निर्वाचनमा जितेपछि धर्नामा बाँकी रहेका सडक विस्तार, धर्नालाई कृषिको पकेट क्षेत्रका रूपमा विकास गने, वडामै स्तरीय स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षासँगै नागरिकको जीवन स्तरलाई आत्मनिर्भर बनाउने गरी कृषिको आधुनिकीकरणतर्फ आफू लाग्ने बताए ।

उम्मेदवार दाहालले पहिलो कार्यकाल वडाका बसेरी खोला, रज्जे, मन्नामेलगायतका विकट बस्तीलाई सडक सञ्जालले जोड्ने, विद्युत विस्तार, खानेपानीको सुविधासँगै अन्य स्थानमा जनताको पनि सडक, शिक्षा, कृषिको विकासका लागि काम गरेको हुनाले मतदाताले कामको न्याय गर्ने दाहाल बताउँछन् । प्रदेश निर्वाचन कार्यालय घोराहीकाअनुसार घोराही उपमहानगरपालिका वडा नं. ५ मा ५ हजार ७ सय ३१ जना मतदाता रहेका छन् ।