डुल्लुराम पोख्रेल
नेपालको संविधानले नेपाललाई संघीय लोकतन्त्रात्मक गणतन्त्रात्मक राष्ट्रका रुपमा परिभाषित गरेको छ । जनताको लामो समयसम्मको संघर्षबाट हालसम्मकै नयाँ अभ्यासको रुपमा संघीयता कार्यान्वयनमा आएको छ । विश्वका अन्य मुलुकको तुलनामा नेपालको संघीयतामा स्थानीय तहलाई बढी संवैधानिक अधिकार दिएको छ ।
संघीय सरकारले वृहत शासकीय मामलाहरु हेर्ने, प्रदेश तहले विकास तथा शासनमा समन्वय गर्ने र स्थानीय तहले विकास र सेवा प्रवाहमा प्रत्यक्ष्य भूमिका खेल्ने गरी नेपालको संघीयता कार्यान्वयनमा आएको छ । नयाँ संविधानको कार्यान्यवनपश्चात पहिलो निर्वाचित स्थानीय तहहरुको कार्यकाल सकिएको छ भने दोस्रो स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा हामी उपस्थित भएका छौँ । प्रस्तुत सन्दर्भमा वडाध्यक्षको स्थानीय शासन, विकास र सेवा प्रवाहमा रहने भूमिकालाई यस आलेखमा उजागर गर्ने प्रयास गरिएको छ ।
स्थानीय सरकारको संरचनामा वडाध्यक्ष एक कार्यकारी तहको पद हो । यसले राजनीतिक तवरबाट निर्वाचित भएर जनतालाई नजिकबाट सेवा प्रवाह गर्ने कार्य गर्दछ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, फोहरमैला व्यवस्थापन ऐन, २०६८ तथा यसको नियमावली २०७०, स्थानीय घटना दर्ता ऐन, २०३३ तथा नियमावली, २०३४ लगायतका विभिन्न संघीय कानुन, सम्बन्धित प्रदेशले बनाएका प्रदेश कानुनहरु तथा स्थानीय सभाले बनाएका कानुनहरुको अधीनमा रही वडाध्यक्षले आफ्नो राजनीतिक तथा कार्यकारी जिम्मेवारी वहन गर्नु पर्ने अवस्था छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ मा वडा समितिका काम, कर्तव्य र अधिकार तोकिएको छ । वडा समितिको प्रमुखको रुपमा वडाध्यक्ष रहने भएकाले वडा समितिलाई तोकेको सबै कामहरुको जिम्मेवारी तथा जवाफदेही लिने कार्य वडाध्यक्षले नै गर्नु पर्दछ । स्थानीय कार्यापालिकाले वडा समितिको काम, कर्तव्य र अधिकार तोक्ने व्यवस्था रहेको छ भने ऐनले मूलभूत कामहरु तोकेको छ । वडा भित्रका योजना तर्जुमा प्रणालीअनुसार बस्ती वा टोल स्तरबाट योजना तर्जुमा प्रकृया अवलम्बन गरी बस्ती तथा टोल स्तरीय योजनाको माग संकलन, प्राथमिकीकरण तथा छनौट गर्ने कार्यमा वडाध्यक्षकै प्रमुख भूमिका हुन्छ ।
वडाध्यक्षले टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने कार्य पनि वडा समितिको मातहतमा रहेर वडाध्यक्षले नै गर्नु पर्दछ । साथै वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत संभार, रेखदेख तथा व्यवस्थापन गर्ने कार्यमा वडाध्यक्षको कार्याकारी तथा निर्णयात्मक भूमिका हुन्छ ।
सबै तहको सरकारका लागि तथ्यांक अति आवश्यक पर्दछ । यस्तो तथ्यांक संकलन, अद्यावधिक तथा संरक्षण गर्ने कार्य पनि वडा समितिले गर्दछ । यस अन्तर्गत वडाध्यक्षले निजी घर तथा घरपरिवारको लगत राख्ने, ऐतिहासिक पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने कार्य पनि वडाध्यक्षकै जिम्मा रहेको छ ।
वडा भित्रका खुल्ला क्षेत्र, चोक, घाट, पार्टी, पौवा, सत्तल, धर्मशाला, धार्मिक तथा सांस्कृतिक स्थल, डाँडापाखा, चरण क्षेत्र, पानीको मूल पोखरी तलाउ, ईनार, कुवाँ, धारा ढुङ्गेधारा, गुठीघर, बाटो, सडक, पुल, पुलेसा, कुलो, नहर, पानी घट्ट तथा मिलको तथ्यांक संकलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डिकृत तथ्यांक र सूचना सहितको वडाको पाश्र्वचित्र तयार गर्ने कार्यमा वडाध्यक्षले महङ्खवपूर्ण भूमिका खेल्नु पर्दछ ।
वडाध्यक्षले विकासात्मक कार्यमा समेत वडालाई नेतृत्व प्रदान गर्दछ । वडामा बालउद्यानको व्यवस्था गर्ने, अनौपचारिक शिक्षा कार्याक्रम, शिशु स्याहार तथा प्रारम्भिक बालविकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा पनि वडा समितिकै हो । वडामा पुस्तकालय, वाचनालय, सामुदायिक सिकाइ केन्द्र, बालक्लव तथा बाल सञ्जालको सञ्चालन र व्यवस्थापनमा वडाध्यक्षको भूमिका महत्वपूर्ण हुन्छ ।
क्षमतावान् वडाध्यक्ष भएमा उसले वडा तहको स्वास्थ्य संस्था तथा सेवाको व्यवस्थापन गरी नागरिकलाई शुलभ स्वास्थ्य सेवा प्रदान गर्न सक्दछ । खोप सेवा कार्यक्रमको सञ्चालन तथा समन्वय, पोषण कार्यक्रमको सञ्चालन र समन्वय, वडा तह जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चलनमा पनि सक्षम वडाध्यक्षले आफ्नो क्षमताको प्रयोग गरी प्रभावकारिता ल्याउन सक्दछ । वडाध्यक्षले सहरी तथा ग्रामीण स्वास्थ्य क्लिनीकको सञ्चालन गर्ने तथा गराउने गर्न सक्दछ । वडामा सार्वजनिक शौचालय, स्नानगृह तथा प्रतीक्षालयको स्थापना र व्यवस्थापन गर्न वडाध्यक्ष योग्य हुन जरुरी छ ।
वडाध्यक्षले वडा स्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवाँ–ईनार तथा पोखरीको निर्माण, संरक्षण तथा गुणस्तर नियन्त्रण गर्न सक्नु पर्दछ । घरबाट निकास हुने फोहरमैलाको संकलन र व्यवस्थापन, चोक तथा गल्लीको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्नका लागि प्रतिबद्ध एवं योग्य दूरदृष्टियुक्त वडाध्यक्षको आवश्यकता पर्दछ ।
वडाध्यक्षले कृषि पेसा र व्यवसायको आधुनिकीकरण तलिम तथा अभिमुखीकरण गर्ने, कृषकका समस्याहरुलाई सम्बन्धित तहमा पु¥याउने, पशुपंक्षी विकास तथा छाडा पशुको व्यवस्थापन गर्ने, कृषि रोगको विवरण संकलन गरी सम्बन्धित कार्यालयमा जानकारी दिने कार्य गर्नु पर्दछ । वडाभित्रको खेलकुदको पूर्वाधार विकासका लागि वडा अध्यक्षको भूमिका अपेक्षा गरिएकाले वडाध्यक्ष योग्य र क्षमतावान हुनै पर्ने आजको आवश्यकता छ ।
शासन सञ्चालनका लागि वडाध्यक्षले नियमनसम्बन्धी कार्यहरु पनि गर्नु पर्दछ । वडाभित्र सञ्चालित विकास आयोजना तथा संलग्न उपभोक्ता समितिहरुको कार्यको नियमित अनुगमन गर्ने, सिकर्मी डकर्मीलाई भूकम्प प्रतिरोधी घर निर्माणको तालिम व्यवस्था गर्ने, खाद्यान्नको गुणस्तर अनुगमन गरी उपभोक्ता हकहित संरक्षण गर्नका लागि इमानदार, नैतिक र चरित्रवान वडाध्यक्षको आवश्यकता पर्दछ ।
वडाध्यक्षले वडा भित्रका उद्योगधन्दा र व्यवसायको प्रबद्र्धन गरी लगत राख्ने, हाटबजारको व्यवस्थापन गर्ने, विद्युत चुहावट तथा चोरी नियन्त्रणका कार्यको समेत नियमन र अनुगमन गर्ने जिम्मेवारी वडा ध्यक्षलाई तोकिएकोले वडाध्यक्ष एक सच्चा इमानदार देशभक्त व्यक्ति हुन जरुरी छ ।
वडा समितिमार्फत् वडाध्यक्षले स्थानीय तहका विभिन्न सिफरिस तथा प्रमाणित गर्नु पर्ने हुन्छ । नाता प्रमाणित, नागरिकताको सिफारिस, बहाल करको लेखाजोखा सिफारिस, मोही लगत कट्टाको सिफारिस, व्यापार व्यावसाय सञ्चालन भएको वा नभएको सिफारिस, विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने, जन्म मिति प्रमाणित गर्ने तथा प्रचलित नेपाल कानुनले प्रत्यायोजन गरेका अन्य विभिन्न सिफरिस तथा प्रमाणित गर्ने कार्य वडाध्यक्षको नेतृत्वमा वडा समितिले गर्नु पर्दछ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा १(ग) मा वडाध्यक्षको काम, कर्तव्य र अधिकारको उल्लेख भएको छ । सो व्यवस्थाअनुसार वडाध्यक्षले वडा समितिको अध्यक्ष भइ काम गर्ने व्यवस्था छ ।
साथै वडा समितिका सदस्यहरुको काममा समन्वय र सहजीकरण गर्ने, वडाको विकास योजना बजेट तथा कार्यक्रम तयार गर्ने र त्यस्तो बजेट स्वीकृतिका लागि पालिकामा पेश गर्ने कार्य पनि वडाध्यक्षको हो, वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने, गराउने, सोको अनुगमन तथा अद्यावधिक समीक्षा गर्ने गराउने कार्यमा वडाध्यक्षले जिम्मेवारीपूर्ण रुपमा काम गर्नु पर्दछ । वडाको तर्फबाट गरिने सबै खाले सिफरिस तथा प्रमाणित सम्बन्धित कार्यहरु वडाध्यक्षकै कार्य क्षेत्रमा पर्दछन् ।
वडाध्यक्षको जिम्मेवारी अत्यन्त कार्यकारी प्रकृतिको रहेको सन्दर्भमा सात दिनभन्दा बढी वडामा अनुपस्थित रहनु पर्ने भएमा वडाको दैनिक प्रशासनिक र सिफारिससम्बनधी कार्यहरु गर्न सम्बन्धित वडा समितिको कुनै सदस्यलाई जिम्मेवारी तोक्नु पर्ने व्यवस्था समेत कानुनले गरेको छ । त्यसैले वडाध्यक्षलाई कुनै पनि बखत वडामा अनुपस्थित भइ जनताको काममा ढिला–सुस्ती गर्ने छुट कानुनले दिएको छैन ।
स्थानीय सरकारका विकासात्मक, नियमानात्मक तथा सेवा प्रवाहसम्बन्धी कार्यहरुका लगि वडाध्यक्षको भूमिका कार्यकारी प्रमुखको रुपमा रहेको छ । वडाध्यक्षलाई कार्यपालिका, सभा वा वडा समितिले थप अन्य कामहरु पनि तोक्न सक्दछ । त्यस्तै स्थानीय कार्यपालिकाले आफूलाई प्राप्त अधिकारहरु वडाध्यक्षलाई प्रत्यायोजन गर्न पनि सक्दछ । यसरी वडाध्यक्षले आफूलाई कानुनले दिएका जिम्मेवारी तथा पालिकाले दिएका जिम्मेवार र स्थानीय तहमा आइ पर्ने अनेकौँ समस्या, आकस्मिक कार्यहरु समेत गर्नु पर्ने भएकाले वडाध्यक्ष वर्तमान संघीयतामा सेवा प्रवाहको एक महत्वपूर्ण पद हो ।
प्रचलित कानुनले दिएका अधिकारहरु बाहेक वडाबासीको अधिकार, आवाज र छनौटको ग्यारेन्टी गर्नका लगि वडाध्यक्ष हमेसा सक्रिय रहनु पर्दछ । राजनीतिक व्यक्तित्व भएकाले जनताको म्यान्डेड्लाई आत्मसात गर्ने र कानुनको उच्चतम पालना गर्ने पक्षको बीचमा सन्तुलन ल्याउन जरुरी हुन्छ । पूर्णतया राजनीतिक नारा र सिद्धान्तभन्दा पनि जनताको सबै पक्षमा खुलेर लाग्ने, सक्षम, प्रतिबद्ध, हमेसा प्रयत्नशील, इमानदार, नैतिकवान र योग्य वडाध्यक्ष आजको आवश्यकता हो । संविधानले परिकल्पना गरेको समृद्ध नेपाल सुखी नेपालीको लागि आम नागरिकले वडाध्यक्षको सही छनोटमा ध्यान दिनु अत्यन्त जरुरी छ ।
लेखक संयुक्त गठबन्धनको तर्फबाट घोराही उ.म.न.पा १३ का वडाध्यक्ष पदका उम्मेदवार हुन् ।