नारायणप्रसाद श्रेष्ठ
समयको गतिसँगै युगले सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक परिवर्तन खोजेको छ । परिस्थिति अनुकूल प्रत्येक पल, क्षण समयचक्रअनुसार परिवर्तन पनि भइरहेको छ । परिवर्तीत सत्यलाई हेर्ने हो भने हिजो जे थियो त्यो आज नभइरहेको र आज जुन परिस्थितिमा मानवीय चेतना जागृत भएको छ, त्यो भोलि नहुने अवस्था पनि देखिन्छ ।
मानिसको चाहना नयाँ–नयाँ कुरातर्फ केन्द्रीकृत भइरहेको छ । मानिसको दैनिक आधारभूत आवश्यकता परिपूर्तिसँगै भौतिक सुविधा पनि मानिसको चाहनाभित्र प्रतिबिम्बित भइरहेको छ । तथापि, मानिसभित्रको अहंकार र घमण्डले कुनै पनि क्षेत्र निःस्वार्थ चिन्तनतर्फ आकर्षित हुन सकेको छैन । यसको मेरुदण्डको रुपमा रहेको राजनीतिक क्षेत्र पनि गतिहीन अवस्थातर्फ आकृष्ट भएको पाइन्छ । दलगत राजनीतिक आधारबाट राष्ट्रले उचित गति लिन सक्छ भन्ने मान्यतालाई नेतृत्व तहबाटै विचलन पैदा गरिँदै छ ।
राजनीति विकास र समृद्धिको मूल आधार हो भनी यसलाई सही र निश्चित दिशातर्फ गतिशील गराउने कुरामा नेतृत्व पंक्ति आफै अल्मलिएको छ । राजनीति केवल सत्ता, भत्ता र शक्ति प्राप्तितिर मात्रै परिलक्षित भइरहेको छ । नेतृत्व तहको अहंकार र घमण्डले राजनीतिक धरातल विदेशीको गोटिचालभित्र कठपुतली भएर नाच्नु पर्ने अवस्था देखिँदै छ ।
संस्कृति र संस्कारलाई मेटाइ राष्ट्रिय चिनारी र चिन्तनसमेत बन्धक बनाउनेतर्फ नेताको ध्यान केन्द्रित भएको छ । पर्ख र हेर भनी गलत कार्यको भण्डाफोर गर्ने कार्य गरी राजनीतिलाई प्रजातान्त्रिक संस्कारतर्फ हुर्काउनुपर्नेमा प्रजातन्त्रको सर्वोच्चतालाई समेत चुनौती दिँदै स्वार्थ र शक्ति हत्याउनेतर्फ मात्रै राजनीति केन्द्रीकृत भएको पाइन्छ ।
राजनीतिक विकास र समृद्धिका लागि नभइ शक्ति, सत्ता र भत्तातिर आकर्षित भइ राष्ट्रिय अस्तित्व ऋणात्मक अवस्थामा पुग्ने खतरा देखिँदै छ । तसर्थ, मनुष्यभित्र अन्तरनिहित दिव्यताको बोध गरी राजनीतिमा देखिएको तरंगलाई आत्मसात गर्दै प्रजातन्त्रप्रतिको धारणालाई बलियो बनाउनेतर्फ सबैको ध्यान जान जरुरी छ । समयले पारदर्शीता र समृद्धितर्फ केन्द्रित हुन घचघच्याइरहेको छ । कर्म र व्यवहारमा परिस्कृत गर्न भनिरहेको छ ।
वर्तमान समयमा देखिएको राजनीतिक परिवेशलाई हेर्ने हो भने राजनीति निकै उतारचढावमा गुज्रिरहेको छ । देशको माटो समाइ राष्ट्रियता संरक्षण र सम्बद्र्धन गर्दै राजनीतिलाई गतिशील बनाउने कुरातर्फ नेतृत्वको ध्यान कमजोर भएको छ । नेताहरु दुवोझैँ मौलाएको जस्तै पनि देखिन्छ । जनता नै राजनीतिक मूल आधार हुन् भनी जनताप्रति जिम्मेवार भएको वक्तव्यबाजी गरेको पनि पाइन्छ तर पनि व्यक्तिको निजी विचार र वैयक्तिक स्वार्थले यसलाई सही र स्पष्ट दिशानिर्देश गर्न सकेको छैन ।
नेतामा देखिने गुणले राजनीतिक धरातलमा नैतिकताका आधार कमजोर रहेको छ । राजनीति केवल स्वार्थ र दम्भतर्फ आकर्षित भएको छ । मेरो र तेरो भनी तछाडमछाड भइरहेको छ । न त राष्ट्रिय स्वार्थ झल्कने चरित्र नेताहरुबाट देखिएको छ । प्रजातन्त्रको लागि मरिमेट्ने राजनीतिक छवि बनाएर जसरी पूर्वजले आफूलाई परिचित गराएका थिए, अहिले केवल त्यो सपना बनेको छ । हिजो राष्ट्रका लागि राजनीति गरिएको थियो भने वर्तमानमा दलगत, समूहगत राजनीति गरिँदैछ । राजनीतिलाई भ्रमको खेती बनाइँदै छ । व्यक्तिगत स्वार्थका लागि सिङ्गो राष्ट्रलाई बन्धक बनाउनेतर्फ नेताको ध्यान केन्द्रित भएको छ ।
आफ्नो पक्ष कसरी सत्तासीन हुन्छ भनी सत्ता लिप्सातर्फ नेताको विचार प्रवाह भइरहेको छ । योग्य र सक्षम व्यक्तिमा आत्मग्लानी भएको छ । हैकमवादी चिन्तनले एकात्मक शासन प्रणालीको झझल्को आइरहेको छ । विधिको शासन प्रजातन्त्रको उद्देश्य हो भन्ने कुरा केवल नारामा सीमित हुँदै छ । राष्ट्रिय स्वाभिमान र अस्तित्वको लागि गरिने राजनीति स्वार्थमा रुपान्तरण भएको छ । यस्तो अवस्थामा जनताको इच्छा र आकांक्षा कसरी पूरा हुने हो ? चिन्ताको विषय बन्दै छ । हिजो अतिमहत्वाकांक्षी बनेर अहंकार र घमण्डले परिपोषित राजसंस्थाप्रति ठड्याइएको औँला र सोचमा अहिले तुषरो परी नेता स्वयम् घमण्डी र अहंकारी बनेको स्थिति वर्तमानमा सल्बलाइरहेको छ ।
अहिले उग्र राजनीतिक चिन्तन गरी राष्ट्रिय परिवेशलाई बदल्छु भनी दलगत स्वार्थतर्फ राजनीति केन्द्रित भइरहेको छ । यस्तो अवस्थामा राष्ट्रिय अखण्डता र स्वाधीनता एवंम आधारभूत आवश्यकता कसरी परिपूर्ति होला ? के गुटगत राजनीतिक चिन्तन नै राष्ट्रिय विकासको आधार हो ? गरिब, असहाय र दीनदुखीको सहारा बनी सामाजिक क्षेत्रमा उत्रिएका प्रबुद्ध व्यक्तिमा किन विचलन आइरहेको छ ? शक्ति र स्वार्थ नै राष्ट्रिय विचारको मूल आधार हो र ?
परम्परागत र प्रजातान्त्रिक संस्कार र संस्कृतिलाई भुलेर नयाँ अध्यायको सुरुवात गर्ने नारा जप्दै असान्दर्भिक र अप्रजातान्त्रिक चरित्र प्रदर्शन गर्नु के सुहाउने विषय हो ? नेपाली धरतीको माटो समाइ समाज र राष्ट्रप्रतिको जिम्मेवारी निभाउनुपर्ने बेलामा विदेशीको इसारा र थारै चास्नीभित्र डुबुल्की मार्न खोज्नु कति उपयुक्त हो ? सही र अर्थपूर्ण कुरालाई पनि अनर्थक तरिकाले सम्पादन गर्नु के राजनीतिको लागि पाच्य विषय बन्न सक्छ ? हामी किन अल्मलिएका छौँ ?
मेरो भनाइ नै सर्वाधिक महत्व र अनिवार्य छ भनी हामी किन कुर्लँदै छौँ ? तसर्थ, समयमै यस परिस्थितिको मूल्यांकन गरी नेता र नेतृत्व गर्न खोज्नेले आफूलाई सच्याउन जरुरी छ । जनताको सेवा नै सर्वोपरी ठान्ने राजनीतिक चरित्र र संकल्प आजको आवश्यकता हो भनी आफूलाई सच्याउनु परेको छ । यसको लागि जनता स्वयम् पनि चनाखो हुनुपर्ने अवस्था छ ।
प्रत्येक व्यक्तिको विचार राम्रो र नराम्रो दुवै हुनसक्छ । राम्रो विचार र भावनालाई जनसमक्ष पु¥याउनु नेतृत्वको दायित्व र कर्तव्य पनि हो । यो राजनीतिका धर्म र कर्म पनि हो । जनताको भावना र विचारलाई विकाससँग कसरी समायोजन गर्ने, यो नेतृत्वको विषय पनि हो । तर पनि केवल वर्ग र व्यक्ति स्वार्थको पछि लागेर यदि राजनीतिलाई आफ्नो उद्देश्यभित्र परिभाषित गर्ने हो भने हाम्रो आधारशीला कसरी मजबुत होला ?
त्यसैले मानव अन्तरनिहित दिव्यताको बोध गरी राजनीतिमा देखिएको तरलतालाई कम गर्न प्रजातान्त्रिक संस्कार बसाल्न वर्तमानमा जरुरी भइसकेको छ । विकासका पूर्वाधार निर्माणदेखि समृद्ध नेपाल सुखी नेपालीको अभिभारा हाम्रो जिम्मेवारी हो भनी राजनीतिज्ञल स्पष्ट र भावनात्मक हिसाबले अभिव्यक्त गर्नु परेको छ । नैतिकता र जिम्मेवारी दुवै प्रष्टिने गरी प्रस्तुत हुने बेला भएको छ । सोचमा सकारात्मक भावना जगाइ आफूलाई प्रस्तुत गर्नु परेको छ । परीक्षाको यस घडीमा केवल व्यक्ति स्वार्थ र सत्ता, भत्ता प्राप्तितर्फ मात्र ध्यान केन्द्रित गर्ने हो भने हाम्रो भविष्य कुन दिशातर्फ मोडिने हो ? चिन्ताको विषय बनेको छ ।
तसर्थ, अहिले राष्ट्र चुनावको माहोलमा रुमलिएको छ । यस अवस्थामा यदि जनताको इच्छा र चाहनालाई वर्ग र व्यक्ति स्वार्थभित्र केन्द्रित गरिने हो भने यसले निश्चिय पनि राम्रो आधार तयार गर्दैन । त्यसैले सामन्ती र एकाधिकारवादी चिन्तनले जकडिएको राजनीतिक स्वार्थलाई तिलाञ्जलि दिइ गाउँको एक मुठी माटो समाइ कसम खानुपर्ने बेला भएको छ । म हिजो पनि यही गाउँमा थिएँ र आज पनि यही गाउँको सेरोफेरोले मलाई खोजेको छ भन्ने निःस्वार्थवादी चिन्तन गरी नेतृत्वले जनसमक्ष आफ्ना भावना राख्नु परेको छ ।
खोक्रो नारा र मनगढन्ते सपना बाँडेर जनताको मन जित्ने समय अहिले होइन । यो समय नेता र नीतिको परीक्षाको समय हो । यदि यसलाई नजरअन्दाज नगरी व्यक्ति र वर्गस्वार्थभित्र प्रजातान्त्रिक संस्कृतिलाई अराजकतातर्फ धकेल्ने हो भने यसले निश्चय पनि दूरगामी असर पर्न सक्छ । तसर्थ, समयमै सबै क्षेत्र सजग र सतर्क रही वास्तवकितामा आधारित सत्यलाई अँगाल्न जरुरी छ । जनता स्वयम् सचेत भइ विवेकशील भएर आफ्नो अधिकारको प्रयोग गर्ने समय आएको छ । सक्षम र इमानदार नागरिकको परिचय दिन समयले हामीलाई घचघच्याइरहेको छ । चेतना भया ।