‘तुलसीपुरमा जोगे’ जोडीको उत्साह

मुलुक स्थानीय निर्वाचनको संघारमा छ । त्यही क्रममा तुलसीपुर उपमहानगरपालिकामा कांग्रेस नेतृत्वको गठबन्धन र एमाले चुनावी मैदानमा छन् । यही क्रममा यो अंकमा गठबन्धनका उम्मेदवारहरूको राजनीतिक पृष्ठभूमि र गठबन्धनको आवश्यकताका विषयमा गरेको कुराकानीको सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

नगर प्रमुख पदका उम्मेदवार र उपप्रमुख पदका उम्मेदवार को हुन् ? आम पाठकवर्गलाई उनीहरूसँगको कुराकानी सार्वजनिक गरेका छौँ । प्रमुख र उपप्रमुखका उम्मेदवारका सुहाउँदा जोडीलाई तुलसीपुरबासीले ‘जोगे’ जोडी भन्न रुचाएका छन् । गठबन्धनको यो भन्दा गत्तिलो जोडी बन्नै नसक्ने पनि मतदाताको अभिव्यक्ति देखिएको छ । यी जोडीको राजनीतिक ‘प्रोफाइल’ यहाँ प्रस्तुत गरिएको छ ।

रगतको कसम म कांग्रेस बनें : गेहेन्द्र गिरी

केटौले जोवनमै धुरन्धर राजनीतिमा जोडिएका कर्मठ राजनीतिक व्यक्तित्वको नाम हो, गेहेन्द्र गिरी । हाल तुलसीपुर उपमहानगरपालिका–५ स्थायी बसोबास भए पनि उनको जन्म भने घोराहीको सेवार वनगाउँमा भयो, विसं २००८ सालमा । नेपालमा प्रजातन्त्रको उदय भएको करिब एक वर्षपछि जन्मिएका गिरी एउटा चतुर राजनीतिक व्यक्तिका रूपमा उदाइरहँदा इष्र्या गर्नेहरू पनि कम थिएनन्, उनको सर्कलमा ।

बुवा देविप्रसाद गिरी घोराही मालपोत कार्यालयमा मुखिया थिए । जागिरको क्रममा उनको परिवार त्यो बेला सेवार वनगाउँमै बस्थ्यो । प्राथमिक शिक्षा सेवार वनगाउँ तथा घोराहीकै भरतपुरमा कक्षा ८ सम्म पढेपछि उनको माध्यमिक तहको पढाइ तुलसीपुरको महेन्द्र हाई स्कूलमा भयो । त्यसो त उनले मेट्रिक र आइए भने भारतबाट उत्तीर्ण गरे । राजनीतिलाई सक्रिय बनाउँदै जाँदा उनको त्यसभन्दा माथिको अध्ययनमा ब्रेक लाग्यो ।

त्यसो त गेहेन्द्रको पारिवारिक पृष्ठभूमि पनि नेपाली कांग्रेससँगै जोडिएको थियो । त्यसैको प्रभावले उनी सानै उमेरमा सक्रिय राजनीतिमा अग्रसर हुन पाए । खासमा उनको राजनीतिक यात्रा सुरु भएको थियो, विसं २०२३ सालदेखि । जुनबेला उनी तुलसीपुरको महेन्द्र हाई स्कूलमा अध्ययन गर्थे । ‘त्यो बेला म कक्षा ९ मा पढ्थेँ, त्यही स्कूलमा पढाउने शिक्षक पश्चिम दाङ भमकेका नेमकान्त दाहालले राजनीतिको कखरा सिकाउनु भयो मलाई’, गेहेन्द्र सम्झन्छन् ।

उनले आफ्नै औलाको रगतले सेतो कागजमा ल्याप्चे लगाएर राजनीतिको कसम खाए । ‘तन, मन र धनले म पार्टीको काममा लाग्ने छु, मैले पार्टीको गोपनियता कहीँकतै भङ्ग गर्ने छैन’, लेखिएको कागजमा रगतको ल्याप्चे लगाएर राजनीतिमा प्रवेश गरेको हुँ’, गेहन्द्रले भने, ‘औलामा काँडाले गोबेर रगत निकालेर ल्याप्चे लगाएको थिएँ ।’

कम्ति असहज थिएन, त्यो बेला राजनीति गर्न । जताजतै सिआइडी हुन्थे । बसमा, चोकमा, चौतारामा जताजतै सिआइडी छरिएका हुन्थे, अञ्चलाधीशका । त्यतिबेला राजनीतिमा लागेकाहरूलाई ‘क’ र ‘का’ भन्ने गरिन्थ्यो । ‘क’ भनेको कम्युनिष्ट, ‘का’ भनेको कांग्रेस । ‘क’ र ‘का’लाई सरकारले अराष्ट्रिय तत्व भन्थ्यो । खोजी–खोजी काराबास हाल्थे । कांग्रेसको राजनीतिमा जोडिएकै बेला बल्ल नेविसंघ गठन भयो । अर्थात् विसं २०२७ सालमा गेहेन्द्र नेविसंघको राजनीतिमा जोडिए ।

हामी त्यो बेला महेन्द्र हाई स्कूलमा पढ्थ्यौँ, पढाउने सबै शिक्षक इन्डियन भएकाले उनीहरूलाई खासै राजनीतिमा चासो थिएन । हामी निर्धक्क राजनीति गथ्र्यौँ’, गेहेन्द्र स्मरण गर्छन, ‘मेरो बाजे चित्रवीर गिरी कांग्रेसी भएको नाताले म पनि कांग्रेसकै राजनीतिमा जोडिएँ ।’ विसं २०२४ सालदेखि गिरीको सक्रिय राजनीतिक यात्रा सुरु भयो । त्यो बेला दाङ कम्युनिस्टमय थियो । यहाँका सबै पुँजीपति प्रायः कम्युनिस्ट थिए ।

रामनारायण श्रेष्ठ यहाँका चतुर अन्चलाधीश थिए । उनको कम्युनिस्ट र कांग्रेस छुट्याउने तरिका पनि गजवको थियो । कम्युनिस्टहरू पाइन्ट, सर्ट लगाउँथे, कांग्रेसहरू पाइजामा लगाउँथे, प्रायःले । पाइन्ट लगाउनेहरूले उठेरै पिसाप फेर्थे, कांग्रेसहरू पाइजामा लगाउने भएकाले बसेर पिसाप फेर्थे । त्यही कारण अञ्चलाधीशले उठीउठी पिसाप फेर्नेलाइ कम्युनिस्ट भनेर चिन्थे, बसेर पिसाप फेर्नेलाइ कांग्रेसी भनेर ।

‘त्यसपछि हामीले महेन्द्र हाई स्कूलमा संगठन गर्न थाल्यौँ, कांग्रेस र कम्युनिस्ठबीच त्यही बेलादेखि नै दिनदिनै झडप हुन्थ्यो । किनकि यहाँ कम्युनिस्टको विगविगी थियो, नारायणपुर एरिया त पूरै कम्युनिस्टहरूको नै थियो । कांग्रेसीहरूलाई नारायणपुर क्रस गर्नै मुस्किल हुन्थ्यो, त्यो बेला’, गेहेन्द्र सम्झन्छन्, ‘हरेक दिन झडपै झडप ।’ उता कांग्रेस कम्युनिस्ठबीच झडम, अर्काेतिर अञ्चलाधीशको कडा निगरानी, थाना त अस्थायी बासस्थान जस्तै थियो । कतिपटक हो कतिपटक थानामा थुनिएको ।

गिरीलाई विसं २०३० सालदेखि २०३४ सालसम्म चार वर्ष घोराही कारागारमा बस्नुप¥यो, अराष्ट्रिय तत्वको आरोपमा । त्यो बेला ‘क’ ले राजाको जयजय गर्थे, ‘का’ ले राजाको विरोध गथ्र्यौँ । त्यसैले कांग्रेसलाई राजनीति गर्न अलि कठिनै थियो । एक दिन त स्कूलमै प्रहरी खोज्न आयो मलाई, मसँगै सोधेको थियो, गेहेन्द्र खोई भनेर । मैले उ नभएको बताएर प्रहरीलाई फर्काएको थिएँ ।

त्यसपछि भारतको वनारस गएर फेरि आप्रवासी विद्यार्थीको संगठनमा जोडिए, गिरी । त्यहाँ कांग्रेसका अग्रज नेताहरूसँग सम्पर्क हुन पुग्यो, गिरीको । ‘त्यसपछि हामीले त्यही बसेर तुलसीपुरको वाणिज्य बैंकबाट पैसा लुट्ने प्लान गरेका थियौँ । मैले त्यही योजना गिरिजाप्रसाद कोइरालालाई बताएको थिएँ तर पछि हामीले त्यसलाई ब्रेक ग¥यौँ । त्यो बेला यहाँका अञ्चलाधीश चन्द्रमान थकाली थिए । त्यो वेला ७ वर्ष जेल र ७ हजार जरिमाना तोक्यो । पर्चा पम्प्लेट, राजद्रोहलगायतका ५वटा मुुद्दा लगाइए । मैले नेपालगञ्जमा पुनरावेदन अदालतमा अपील गरेपछि ४ वर्षमै रिहा भएको थिएँ’, गिरीले स्मरण गरे ।

खरो राजनीतिमा सक्रिय गेहेन्द्र गिरी विसं २०३६ सालमा नेविसंघ दाङको जिल्ला सभापति बने । विसं २०४९ सालमा नेपाली कांग्रेस दाङको जिल्ला सभापति बने । फेरि बलदेव मज्गैयाँले बीचमै जिल्ला सभापतिबाट राजिनामा दिएपछि भएको जिल्ला अधिवेशनमा पनि गेहेन्द्र गिरी नै चुनिए । विसं २०५८ सम्म उनले जिल्ला सभापतिको नेतृत्व सम्हाले । विसं २०५६ सालको संसदीय निर्वाचनमा उनी सांसदमा निर्वाचित भए ।

त्यसो त गिरी कांग्रेसको अघिल्लो तेह्रौँ महाधिवेशनमा तुलसीपुर नगर सभापतिमा पनि निर्वाचित भए । भर्खरै सम्पन्न चौधौँ महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । विसं २०७४ सालको स्थानीय निर्वाचनमा तात्कालीन एमालेका उम्मेदवार घनश्याम पाण्डेसँग झिनो मतान्तरले तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा पराजय भोगेका गिरी आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको प्रमुखको उम्मेदवार बनेका छन् ।

लप्पनछप्पन जान्दैनन् जोगबहादुर

बुवा बलराम राना र आमा छविदेवी रानाका सुपुत्र जोगबहादुर राना विसं २०२० सालमा खाद्रे वनहरीमा जन्मिएका हुन् । त्यहीँ कखरा पनि सिके । कखरासँगै राजनीति पनि सिके । उनलाई दिउँसो कम्युनिस्ट नेता युवराज ज्ञवालीले पाठ्यपुस्तक पढाउँथे भने राती राजनीति । त्यसैको प्रभावले राना कम्युनिस्ट भए । जवानीमा उनको रुचिको विषय खेल भएकाले उनी त्यही क्षेत्रमा जोडिए ।

उनै जोगबहादुर यतिखेर तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख पदको उम्मेदवार बनेका छन् । जित्ने लक्ष्यका साथ घरदैलो अभियानमा छन् । पाँच राजनीतिक दलको गठबन्धनका साझा उम्मेदवार हुन्, उनी । उनीसँग नेपाली कांग्रेसका नेता गेहेन्द्र गिरी अभिभावकका रूपमा छन्, नगर प्रमुख पदका उम्मेदवार । ‘जनजातिको छोरो, लप्पनछप्पन जान्दैन’, रानाले भने, ‘स्टेट फरवार्ड–गो मेरो मिसन हो ।’

प्राथमिक शिक्षा खाद्रेवनहरीबाट पूरा गरेका रानाले एसएलसी महेन्द्र मावि तुलसीपुरबाट उत्तीर्ण गरे । आइए भारतको वनारसबाट गरे । उनी राजनीतिक रूपमा खाद्रेमै प्रशिक्षित भएका थिए । उनको पारिवारिक पृष्ठभूमि पनि कम्युनिस्ट शिक्षासँग जोडिएको छ । विसं २०३६ सालको जनमत संग्रहमा राना पञ्चायत विरूद्ध पर्चा पम्प्लेटिङ गर्ने होनाहार कार्यकर्ताका रूपमा चिनिन्थे । महेन्द्र माविदेखि भोजपुर स्कूलसम्म उनले पर्चा छर्ने जिम्मेवारी लिन्थे । त्यही क्रममा राना राज्यको नजरमा विद्रोही युवा बनिसकेका थिए ।

रानाकै शब्दमा राजनीतिक गुरु गोपाल शाक्य र नेत्रलाल अभागी हुन् । उनीहरूकै बोलीको प्रभावले आफू कम्युनिस्ट पार्टीमा लागेको राना बताउँछन् । ‘मैले बाह्र वर्षकै उमेरमा कम्युनिस्ट शिक्षा लिएको थिएँ’, रानाले भने, ‘त्यसैले जनमत संग्रहमा म बहुदलको पक्षमा उत्रिएको थिएँ ।’ यद्यपि, रानाले कम्युनिस्ट पार्टीको संगठित सदस्य भने २०४७ सालमा मात्रै लिए । त्यसपछि मात्रै रानाको सक्रिय राजनीतिक यात्रा सुरु भयो ।

पार्टी भूमिगत हुने अवस्थामा उनको गाउँ खाद्रे विद्रोही गाउँका रूपमा परिचित थियो । भूमिगत राजनीति गर्ने खाद्रे बनाउनेहरू यिनै रानाजस्ता युवाहरू थिए । उतिखेरै नेकपाका पोलिटव्यूरो सदस्य गोपाल शाक्यलगायतका नेतालाई खाद्रे गाउँमा हप्तौँसम्म आश्रय दिइएको थियो । जोगबहादुरप्रतिको विश्वास र राजनीतिक जग उतिखेरदेखि झनै मजबुत बनेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । मुलुकमा बहुदल आएपछि राना २०४८ सालमा युवा संघ दाङको अध्यक्ष बने भने २०५२ मा युवासंघको केन्द्रीय सदस्य । राना युवामा उर्जा भर्ने एउटा तागत थिए ।

त्यसपछि राना नेकपा एमालेको भ्रातृ संगठन युथ–फोर्सको मध्यपश्चिम संयोजक बने । त्यतिखेर रानाले राजनीतिलाई तिखार्दै र निखार्दै लगे । एक पटक उनले सरकारी लाभको पदमा पनि पुगे । जिल्ला विकास समितिको सदस्य भए । त्यस्तै जिल्ला खेलकुद विकास समिति र मध्यपश्चिम खेलकुद विकास समितिको संयोजक पनि बने । तथापि उनको पछिल्लो गन्तव्य राजनीति नै बन्यो ।

जिल्ला खेलकुद विकास समितिमा बक्सिङ प्रशिक्षकको जागिर छाडेर उनी एकाएक राजनीतिमा जोडिए । किनकि उनको तन, मन र नसा राजनीतिमै थियो । राजनीतिक यात्राकै क्रममा उपप्रमुखका उम्मेदवार राना नेकपा एमाले दाङको कार्यवाहक अध्यक्ष, जिल्ला कमिटी उपाध्यक्ष, जिल्ला सचिवलगायतका भूमिका निर्वाह गरिसकेका एक अनुभवि नेता हुन् ।

पार्टी विभाजनका बेला उनले केपी शर्मा ओलीको हैकमवादलाई स्वीकार्न नसकेको बताउँछन् । अहिले उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य र दाङ जिल्ला इञ्चार्जको जिम्मेवारीमा छन् । ‘मेरो माउ पार्टी एमाले न त आफ्नै पार्टीको विधान मान्न तयार थियो, न त मुलुकको संविधान मान्न नै’, एमाले छोड्नुको कारण खुलाउँदै उनले भने, ‘त्यसैले लोकतन्त्र र संघीयता एवं संविधानको रक्षाका लागि एकीकृत समाजवादी रोजेको हुँ ।’

रानाले खेल क्षेत्रमा थुप्रै पसिना बगाएका छन् । पूर्व खेलाडी हुनुको नाताले उनी आफूमा राष्ट्रियता छातिमा बोक्ने गरेको बताउँछन् । ‘अनुशासन मेरो गहना हो’, रानाले थपे, ‘त्यही भएर लोकतन्त्र र संविधान मास्न खोज्नेहरूलाई मैले आत्मसात गर्न सकिन ।’ सरल र सादगी स्वभावका नेता जोगबहादुर रानाको बोली र व्यवहार सिधा, स्टेट फवार्ड जस्तै रहेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । ‘जोगबहादुरजी जे सही ठान्नु हुन्छ त्यही गर्नु हुन्छ’, एक एमाले नेताले भने, ‘उहाँ लुक्न र झुक्न जान्ने नेता होइन ।’

एमालेका ती नेताकाअनुसार ठूला सपना देखाउने र काम नगर्नेहरू भन्दा हक्की स्वभावका तथा सरल स्वभावका रानाले जित्ने सम्भावना प्रबल रहेको उनले बताए । उनी गठबन्धनको उम्मेदवार हुनु, राजनीतिमा उनको वर्षौंको लगानी हुनु, पार्टी भित्रैका गलत कुराहरूको भण्डाफोर गर्ने चरित्रका कारण राना पार्टी पंक्तिमा लोकप्रिय छन् । पाँच दलीय गठबन्धन बीचको बलियो एकता नै आँफूहरूको जितको प्रमुख आधार मान्न सकिने राना बताउँछन् ।