प्रस्तुती : खेमराज रिजाल
उनको दैनिकी तुलसीपर क्षेत्रमै बित्छ, रक्त सञ्चारका सन्दर्भमा । सरकारले स्वामित्व लिन नसकेको, दाताले हात झिक्न नसकेको अनि निजी अस्पतालले समेत व्यवस्थापन गर्न नसकेको ब्लड बैंकलाई जसोतसो चलाउन उनकै योगदान छ । उनी हुन नेपाल रेडक्रश सोसाइटी दाङका अध्यक्ष एवं खासमा स्वास्थ्य अभियन्ता, नारायण आचार्य ।
गोरक्षको खुसी स्तम्भमा उनी जबर्जस्त रूपमा आए । किनकि ब्लड बैंक सञ्चालनका लागि सरकार, सञ्चार गजत र अन्य निकाय पनि त्यति गम्भीर छैनन् तर पनि उनले नेपाल रेडक्रस सोसाइटी दाङको नेतृत्व सम्हाल्दै गर्दा रक्त सञ्चार केन्द्रको स्तर वृद्धिमा पनि उत्तिकै पहल गरे । उनकै पहलमा तुलसीपुरको प्रादेशिक अस्पतालमा रक्त सञ्चार केन्द्र बन्यो । घोराहीमा त यस अघि नै रक्त सञ्चार केन्द्र थियो । लमहीमा पनि उनै अध्यक्ष नाराण आचार्यले रक्त सञ्चार केन्द्र सञ्चालनका लागि अहम भूमिका निर्वाह गरे । घोराहीमा रगतका विभिन्न फ्याक्टरहरू समेत उपलब्ध गराउने प्रयत्न उनै नारायणले गरे ।
सरल र सहज रूपमा प्रस्तुत हुने नेपाल रेडक्रस सोकाइटी दाङका अध्यक्ष नारायण आचार्यले आफ्नो जीवनको सबैभन्दा ठूलो खुसीको रूपमा आवश्यक परेकालाई रगत उपलब्ध गराउने संस्थाको रूपमा प्रस्तुत भए । ‘रक्त सञ्चार केन्द्र अर्थात् दाङका तीन स्थानमा ब्लड बैंक सञ्चालनमा आउनु’, उनको खुसी यही थियो । अर्थात्, ज्यान बचाउनका लागि अहरिहार्य भनेको रक्तदान नै हो । यसको चाँजोपाँजो रेडक्रस सोसाइटीले गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कमिटी भङ्ग गर्ने प्रयास पनि भएको हो तर दाङ जिल्लामा नारायणको योगदानका पछडि कुनै समस्या भएन । जहाँ आयोजना भएका अधिवेशनमा पनि नारायण रक्त सञ्चार केन्द्र सञ्चालनका हिरोका रूपमा रही आए ।
‘मैले पैसा कमाउन वा विदेश शयर गर्नका लागि रेडक्रशमा लागेको होइन, नागरिक स्वास्थ्यको सम्बोधन गर्न गहकिलो भूमिकाका लागि यो क्षेत्र रोजेको हुँ’, नारायणले भने । लेखिदिनुहोला ‘मेरो खुसी रक्त सञ्चार केन्द्र ।’ त्यसो त उनले मध्यरातको १२ बजे पनि रगतको समस्या देखाउनेहरूलाई सम्बोधन गर्दै आएका छन् । त्यही कारण रगतको अभावका कारण दाङ जिल्लाका कुनै पनि अस्पतालमा बिरामीको निधन भएको छैन ।
त्यसो त रगतका विभिन्न फ्याक्टर बनाएर दिन सक्दाको क्षणलाई पनि नारायणले खुसीका रूपमा लिएका छन् । टिचिङ अस्पताल महाराजगञ्जले गर्न नसकेको सेवा नेपाल रेडक्रश सोसाइटी दाङले सुरुआत गरेको छ । आवश्यकताअनुसार प्लेटलेट होस् वा प्लाज्मा, दाङ रेडक्रसद्वारा सञ्चालित ब्लड बैंक घोराहीले सुरु गरिसकेको छ । त्यसो त यसलाई अझै थप स्तरोन्नति गर्नेमा नारायणको ध्यान छ तर आर्थिक समस्या भने ज्यूँका त्यूँ । किनकि यो सन्दर्भमा नेपाल सरकार गम्भीर भएको देखिँदैन ।
तुलसीपुर उपमहानगरपालिका नामी चारमा जन्मिएका नारायण आचार्यको दैनिकी पनि प्रायः तुलसीपुरमै केन्द्रित रह्यो । रगतको सहज आपूर्तिका लागि लड्ने एक मात्रै अभियन्ता हुन नारायण आचार्य । त्यसो त उनलाई घोराहीमा रक्तसञ्चार सेवा पु¥याउन निकै हम्मे–हम्मे परेको थियो । त्यसबेला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति संगीता भण्डारीलाई कुन्नि क–कसले प्रभाव पारेर रक्त सञ्चार केन्द्र नै हटाउने प्रयास गरेका थिए तर सामाजिक सेवाभावको रक्त सञ्चार केन्द्र घोराहीबाट हठ्नु परेको छैन । आम दाङबासी मात्र नभएर राप्ती भरिका बिरामीले यो सुविधा लिइरहेका छन् ।
तुलसीपुरमा विसं २००० असार २७ मा जन्मिएका आचार्यको प्राथमिक शिक्षा बिजौरीको जनता विद्यपीठमा भयो । हाई स्कूल पनि त्यहीँबाट उत्तीर्ण गरे । आइए युपि बोर्ड बनारसबाट गरे भने बिए गोरखपुरबाट उत्तीर्ण गरे । राजनीतिक रूपमा उनी त्यति सक्रिय भएनन् तर पनि नेकपा एमालेका नेतासँग उनको सामिप्यता रहेको थियो । केपी ओलीको हैकमवाद भने उनलाई मन परेन । त्यसैले नेकपा एकीकृत समाजवादीको सल्लाहकारका रूपमा उनी रहेका छन् ।
रेडक्रसमा रहँदा बंगलादेशको मात्रै वैदेशिक अध्ययन भ्रमण गरेका आचार्य दाङ जिल्लामा भएका जुनसुकै विपतका पनि साक्षी र सहयोगी छन् । देउखुरीमा डुबान भइरहँदा लाइफ ज्याकेट लगेर पुगेका थिए, नारायण । राजपुरको आगलागीका घटनामा पनि उनी त्यहीँ देखिएका थिए । तुलसीपुरको उरहरीमा आएको बाढी विनाशका बेला पनि त्यहीँ देखिएका थिए, नाराण । खासमा नारायण नागरिक मात्र होइनन्, सामाजिक अभियन्ता पनि हुन् । अर्थात विपतको साथी नारायण ।
पछिल्लो समयमा राजनीतिलाई पनि उनले राम्ररी नियालिरहेका छन् । लोकतन्त्र र आप्mनै पार्टीको विधान पनि एमाले नेता केपी ओलीले नमानेपछि उनी फेरि लोकतान्त्रिक धार पकड्दै एकीकृत समाजवादीमा जोडिएका छन् । भन्छन्, ‘लोकतन्त्र नगुमेको अवस्थामा मात्रै हामीले सबै लोकतान्त्रिक चरित्र निर्वाह गर्न सक्ने छौँ ।
त्यसो त उनको अविष्मरणीय क्षण पनि छ । ‘विसं २०६० सालमा म मोटरसाइकल यात्रामा थिएँ, मसोटको उकालोको घुम्ती पार गर्ने बेला एउटा मालवाहक ट्रकसँग ठोक्किएको थिएँ ।’ उनलाई लखनौ गएर त्यसको उपचार गराउनु परेको थियो । यद्यपि, उनको अहिले कुनै शारीरिक समस्या देखिएको छैन ।
तुलसीपुरमा सञ्चालनमा आएको रक्त सञ्चार केन्द्र पनि मेरो खुसी हो भन्ने लेखिदिन उनले आग्रह गरे । तुलसीपुरको साविकको अञ्चल अस्पतालमा रक्त सञ्चार केन्द्र सञ्चालनका सन्दर्भमा सानोतिनो विवाद पनि भएको थियो । यद्यपि संवाद समूह तुलसीपुरका सहजकर्ता सुशील बस्नेतले त्यसलाई सहजीकरण गरिदिएकोमा पनि नारायणको खुसीको क्षण थियो । खुसी अध्यात्म हो, अर्थात भावना हो, मनले अनुभूति गर्ने क्षण खुसी हो ।