‘हाम्रो बस्तीमा विकास कहिले हुन्छ’

दाङ, २१ बैशाख । घोराही उपमहानगरपालिका वडा नं. १३ दुर्गा भवानी टोलमा पुगेका उम्मेदवारलाई आफ्नो क्षेत्रको विकासमा माग गरेका छन् । स्थानीय तहमा जनप्रतिनिधिहरु आए पनि आफ्नो बस्तीमा विकास हुन नसकेको बताएका थिए । बजार क्षेत्रमा भए पनि विकासमा उपेक्षा भएको उनीहरुले गुनासो गरेका थिए ।

पटक–पटक विकासको माग गरिए पनि माग पूरा नभएको रञ्जिता बादीले बताइन् । आफूहरुको वस्तीमा सडकसमेत निर्माण हुन नसकेको उनले बताइन् । खोलाको छेउमा वस्ती भए पनि खोलामा आरसीसी हुन नसकेको उनले बताइन् । जसले गर्दा वस्ती जोखिममा रहेको उनको भनाइ रहेको छ । ‘शहरभित्रै भए पनि हामी विकासमा उपेक्षित भएका छौँ’, उनले भनिन् ।

आफूहरुलाई भोट हाल्ने समयमा आश्वासन दिने गरेको स्थानीयहरुको भनाइ रहेको थियो । उनीहरुले आफ्नो समस्या समाधान गरी दिनेलाई बोट दिने समेत बताएका थिए । गठबन्धनका उम्मेदवारहरुले आफूहरु कुरा नभई काम गर्ने बताएका थिए । नागरिकहरुलाई झुट्टा आश्वासन नभई काम गरेर देखाउने उनीहरुको भनाइ रहेको थियो ।

गठबन्धनबाट घोराही उपमहानगरपालिकाको नगर प्रमुखका उम्मेदवार हेमराज शर्माले नागरिकहरुको समयस्या समाधानका लागि आफूहरु लागिपर्ने बताए । ‘नागरिकहरुको समस्याका बारेमा जानकारी लिएर समाधान गर्नेछौँ’, उनले भने । गठबन्धनबाट घोराही उपमहानगरपालिकाको नगर उपप्रमुखका उम्मेदवार भूपबहादुर डाँगीले पछाडि परेको समुदायलाई अगाडि बढाउन आवश्यक रहेको बताए ।

‘पछाडि परेको समुदायको उत्थानको लागि हामी काम गर्नेछौँ’, डाँगीले भने । नागरिकहरुलाई आयआर्जनका जोड्न सकेमा मात्र उनीहरुको उत्थान हुनसक्ने उनको भनाइ रहेको थियो । वडा नं. १५ का वडा अध्यक्षका उम्मेदवार रमेशकुमार पाण्डेले आफू जनप्रतिनिधि हुँदा नागरिकको आवश्यकताअनुसार काम गरेको बताए । संयुक्त गठबन्धन चुनाव प्रचार–प्रसार समितिले घोराही १४ मा रहेको झिगौरामा गरेको कार्यक्रममा सम्बोधन गर्दै पूर्व सभामुख ओनसरी घर्तीले संविधानको रक्षाका लागि गठबन्धन भएको बताइन् ।

संविधानमा सबैका अधिकार समेटिएकाले संविधानको रक्षा गर्न आवश्यक रहेको उनको भनाइ रहेको थियो । नागरिकहरु सचेत भएर गठबन्धनलाई मत दिएर विजयी बनाउन आग्रह गरिन् । कार्यक्रममा प्रमुख पदको उम्मेदवार हेमराज शर्मा, उमप्रमुख पदका उम्मेदवार भूपबहादुर डाँगीले घोराहीको समेद्धिका लागि आफूहरु लागिपर्ने बताएका थिए ।

घोराही उपमहानगरपालिका ७ कनरियामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभाका मुख्य सचेतक अनिता देवकोटाले लोकतन्त्र र संविधानको लागि गठबन्धन गरिएको बताएकी थिइन् । केपी शर्मा ओलीले पटक–पटक संसद विघटन गरेर देशलाई प्रतिगमनतिर लैजान खोजेकाले देशलाई यसबाट बचाउनका लागि गठबन्धन गरेर अगाडि बढिएको उनको भनाइ थियो । गठबन्धनका साझा उम्मेदवारलाई विजयी बनाउन लाग्नसमेत उनले आग्रह गरिन् । सो अवसरमा नगर प्रमुख पदका उम्मेदवार हेमराज शर्मा, उमप्रमुख पदका उम्मेदवार भूपबहादुर डाँगीलगायतले सम्बोधन गरेका थिए ।