आस्थाको रिफ्ल्याक्सन मिडियामा !

खेमराज रिजाल
तुलसीपुर, १७ बैशाख । ‘मनको आस्था मिडियामा देखिने गरेको छ, यसलाई सम्हाल्न सके हामी स्वतन्त्र पत्रकार बन्न सक्थ्यौं कि’, तुलसीपुरमा आयोजित एउटा कार्यक्रममा पत्रकार अन्जना चौधरीले यस्तो अभिव्यक्ति दिइरहँदा मनको अस्था मिडियामा एक्सपोज नगर्न प्रतिवद्धता व्यक्त भएको छ । संवाद समूह दाङले आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यान्वयन सम्वाद कार्यक्रममा यस्तो प्रतिबद्धता जनाइयो ।

प्रेस काउन्सिलका केन्द्रीय सदस्य शरद अधिकारी, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी र उपाध्यक्ष सन्तोष सुवेदी, प्रेस युनियनका कार्यवाहक अध्यक्षलगायत दाङ जिल्लाका प्रतिनिधिमूलक सञ्चार संस्थाका सञ्चारकर्मीबीचको उपस्थितिमा सम्पन्न कार्यक्रममा आचारसंहिता कार्यान्वयनका सवालमा जोड दिइएको थियो । आचारसंहिता स्वनिर्णयको पाटो भएकाले यसमा आफै गम्भीर रहन पनि पत्रकारहरुलाई आग्रह गरिएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले स्वअनुशासनको नैतिक बन्धनमा बाँधिन पत्रकारहरुलाई आग्रह गरे । साथै स्वअनुशासनमा अटेर गर्नेहरुको पर्दाफास गर्न पनि उनको आग्रह थियो । साथै आचारसंहिताको बढी उल्लंघन गरे पत्रकार महासंघ दाङ हस्तक्षेपको भूमिकामा आउन बाध्य हुने पनि बताए । साथै उनले दाङ जिल्लाकै व्यक्तित्व पत्रकार महासंघ तथा प्रेस काउन्सिलमा समेत आवद्ध भएको अवस्थामा यहाँको पत्रकारिताको गरिमामा धक्का लाग्ने गरी नलाग्न पत्रकारलाई आग्रह समेत गरे ।

सम्वाद कार्यक्रममा प्रेस काउन्सिलका केन्द्रीय सदस्य शरद अधिकारीले प्रेस काउन्सिलले आचारसंहिता जारी गर्नेमात्र नभएर अनुगमन र कारबाहीको दायरामा पनि ल्याउने बताउँदै आचारसंहिताका विषयमा गम्भीर हुन सञ्चारकर्मीलाई आग्रह गरे । ‘आचारसंहिता मतदातादेखि निर्वाचन अधिकृतसम्म लागू हुने कुरा हो, यसमा सञ्चारकर्मीले त पालना गर्ने मात्रै नभएर गराउनेतर्फ पनि ध्यान केन्द्रित गर्न आवश्यक छ’, अधिकारीले भने । उनले निर्वाचनका बेला मात्र नभएर प्रेस काउन्सिलले सधै पत्रकार आचारसंहिताको निरन्तर मूल्यांकन र अनुगमनसमेत गरिरहेको बताए ।

त्यसै अवसरमा उनले सामाजिक सञ्जालहरुलाई पनि आचारसंहिता लाग्ने अभिव्यक्ति दिएका थिए । ‘सामाजिक सञ्जालमा लाग्नेहरु पनि हाम्रो निगरानीमा छन्, १ सय ५ जनालाई प्रेस काउन्सिलले सचेत समेत बनाइसकेको छ’, केन्द्रीय सदस्य अधिकारीले भने । स्थानीय तह निर्वाचन : सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण बिषयक संबादमा प्रेस काउन्सिलका प्रतिनिधि, नेपाल पत्रकार महासंघ दाङ, बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता थियो ।

निष्पक्ष, धाँधलीरहित, बिश्वसनीय, मर्यादित र शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गर्न र गराउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने सहभागीहरुले बताएका थिए । नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुबेदीले सञ्चार माध्यमले समाचार बनाउँदा वा प्रशारण सामग्रीलाई निर्वाचनमा पक्ष बिपक्षमा बनाएको वा बनाइएको छ कि छैन भन्ने बारेमा अध्ययन बिश्लेषण गर्नुपर्र्ने आवश्यकता औँल्याएका थिए ।

पत्रकार दलीय प्रभावमा रहेको उल्लेख गर्दै उनले यसबाट आम सञ्चारक्षेत्र मुक्त हुनुपर्ने उनको आग्रह थियो । त्यसअबसरमा बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरु नारायण खड्का, खेमराज रिजाल, सुनिल पोख्रेल, दीपक बोहरा, अन्जना चौधरी, शरद रेग्मी, भीमलाल मरासिनी, निराजन डाँगी, रामप्रसाद सुबेदीले आचारसंहिता कार्यान्वयनमा प्रतिबद्ध रहँदै निर्वाचनका क्रममा हुने आचारसंहिता उल्लंघनका समाचारलाई प्रकाशन तथा प्रशारण गर्ने बताएका थिए ।

संबाद समूहका बरिष्ठ सहजकर्ता एवं पत्रकार सुशील बस्नेतले निर्वाचनका क्रममा संबादको आवश्यकता किन ? भन्ने सवालमा स्पष्ट पारेका थिए । निर्वाचन आयोगले तयार गरेको पत्रकारहरुले पालना गर्नुपर्ने आचारसंहिताका बारेमा संवाद समूहका सदस्य एव अधिबक्ता बिष्णुमणि धितालले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण सहजकर्ता निर्मल नेपालीले गरेका थिए ।

धन्यबाद ज्ञापन संबाद समूहका सदस्य एवं पत्रकार गोपाल शर्मा भट्टराईले गरेका थिए । यसअघि राजनीतिक दल, निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधि, बिभिन्न राजनीतिक दलका युवाहरु, नागरिक समाज र बिभिन्न संघ संस्थासँग आचारसंहिता कार्यान्वयनका सवालमा संवाद गरिएको थियो ।