साहित्य र राजनीतिका कुरा

विनोद पोख्रेल
२०७७ फागुन १० गते
मानिसको सबै कुरा राम्रो हुन्छ । त्यसैले हो कि राम्रा, छानिएका मिलाएर राखिएका शब्दहरुकै निर्मित अभिव्यक्ति र सायद यसैलाई साहित्य भन्छि । शैलीलाई राम्रो मान्छ । मैले यसबारे पूरै दाबी गर्न त सक्दैन । मेरो आशय साहित्यलाई सबैले मन पराउँछन् भन्ने हो तर मैले दाबी गरेजस्तो नहुन पनि सक्छ । साहित्य निर्माण शैली धेरै प्रकारका छन् ।

म यसको व्याकरणतर्फ जान्न । सायद मेरो त्यति पहुँच पनि छैन तर मैले जानेको कुरा के हो भने साहित्यलाई व्याकरण अथवा अन्य कुनै पण्डित्याइले नियन्त्रण गर्न सक्दैन । साहित्य त त्यसबेला पनि थियो जसबेला भाषाले आफ्नो रुप लिइसकेको थिएन । अर्को कुरा राम्रो कुरा अभिव्यक्ति गर्न साहित्य पनि राम्रो नै हुन्छ भने नराम्रो वा दुःखद् कुरोको अभिव्यक्ति दिने साहित्य पनि राम्रो नै हुन्छ । विषय जे होस्, जस्तो होस् अभिव्यक्ति शैली राम्रो भयो भने त्यो साहित्य नै हुन्छ र राम्रो साहित्य हुन्छ ।

समालोचकहरुले बेश्यावृत्तिमा पनि राम्रो साहित्य निर्माण हुन सक्छ भनेको पढेको छु । अहिले साहित्इबारे मेरो भोगाइको भरमा भन्ने हो भने राम्रो वा नराम्रो प्रभाव पार्न सक्ने वा नसक्ने, सहमत हुन सक्ने वा नसक्ने अलग पक्ष होला तर साहित्य जेमा पनि निर्माण गर्न सकिन्छ । घरपरिवारका पीडा एक्लै वनमा गाएको साहित्य जति मौलिक र वास्तविक हुन्छ, त्यति उच्च स्तरीय भाषा, क्लिष्ट व्याकरणको नियममा बाँधिएर निर्माण गरेको साहित्यमा नहुन पनि सक्छ ।

साहित्यलाई भाषले त कुनै प्रभाव पार्न सकेन भने भाषाभन्दा धेरै पछि जन्मेको व्याकरण के–कति रोक्न वा अप्ठेरो पार्न सक्ला ? चाहे यो गद्य होस् वा पद्य, चाहे त्यो कल्पना हुन वा भोगाइ, दुःख होस् वा आनन्द, पूर्ण वर्णन होस् वा छायावादी शैली साहित्यको आफ्नो सवल पक्ष यथावत रहन्छ । यो कहिलेबाट सुरु भयो त्यो कसैलाई थाहा छैन । कुन भाषाबाट सुरु भयो त्यो पनि थाहा छैन । कुन विषयलाई आधार बनाएर यसको सुरुवात गरियो त्यो पनि थाहा छैन । यो सर्वभौम सत्यको रुपमा स्थापित भएको विषय बनिसकेको छ ।

साहित्य नभएको ठाउँ पनि छैन । सायद सबैभन्दा पहिले साहित्य नै पुग्छ । यसरी भन्दा म आफै पनि बढी भावनामा बगेँ कि जस्तो पनि लाग्छ । तर यदि मैले मेरो विचार, मेरो शैली मेरा भावना, मेरो आस्था, मेरा भाषमा सीमित गर्न पट्टि नलागेर साहित्यको अस्तित्वलाई स्वीकार गर्ने हो भने मात्रै साहित्यको वृहत र विस्तृत रुप देख्छु ।

एउटा पक्षमा प्रकाण्डता हासिल गरेर साहित्यबारे चर्चा गर्दा कतै आँखा नदेख्नेहरुले हात्ती छामेर त्यसको रुपको वयान गरेको जस्तो हुन्छ कि भन्ने चिन्ता लाग्छ । धेरै विषय यो २१औँ शताब्दीमा पनि पूर्ण परिभाषित हुन सकिरहेका छैनन् । हुन त परिभाषा आफैमा पूर्ण हुने कुरा होइन । यो परिभाषा दिनेको धारणा बौद्धिक क्षमतामा भर पर्ने कुरा हो तर पनि धेरै कुरालाई धेरै तरिकाले परिभाषित गरेर प्रष्ट पार्ने प्रयास गरिन्छ । तर साहित्य यिनीमध्ये पनि अलि गम्भीर र अलि क्लिष्ट विषय हो सायद । किनभने यसको क्षेत्र अरुभन्दा धेरै बढी छ ।

२०७७ फागुन ११ गते

म पनि अनावश्यक तनाव लिएर बस्ने मानिसमध्येकै हुँ, सायद । आज ११ गते । आज सर्वोच्चको इजलासले बहसलगायत संसद विघटनसम्बन्धी सबै कुरा वा आवश्यक प्रतिहरु मागेको छ । समाचारअनुसार अब केही दिनमा यसको निर्णय हुन्छ । यो हुनुपर्ने कुरो हो । यही नभएर ढिला भएकोले धेरै कुरा अलमलमा थिए । धेरैले खेल्न पाएका थिए । निर्वाचन आयोग समेतले अलमल गर्दै थियो । संसदको बैठकको बीचको अवधि नाघिसकेको स्थिति छ ।

राष्ट्रियसभाको बैठक बसालेर संविधानको मान राखेको मात्रै हो । कति अप्रचलित र असंवैधानिक काम भइराखेका छन् । यस्तोमा यो निर्णय सकेसम्म चाँडो हुनुपर्ने हो तर यहाँ फैसला आयो भने फेरि नारा, जुलुस, विरोध, समर्थन आदि अनावश्यक कोलाहलको डरले अत्तालिएको छ । सबै कुरा स्वाभाविक हुन, स्वाभाविक रुपमा लिनु पर्छ । फेरि त्यो कोलाहलले मलाई केही प्रभाव पार्ने होइन । यस्तोमा म सामान्य नै हुन्छु । तै पनि केको हो थाहा छैन तर डर छ । फैसला सकेसम्म चाँडो आओस् भन्ने यच्छा पनि छ ।

होहल्लाको डर पनि छ । हुन्छन्, यिनी सबै । हुनु स्वभाविक हो भन्ने पनि थाहा छ । अनि केको तनाव ? यो तनावभन्दा पनि व्यक्तिगत कमजोरी हो जस्तो लाग्छ । तर एउटा कुरा फैसलाको पूर्वसन्ध्यामा सेना प्रमुखसँग सर्वोच्च अदालतको प्रधान न्यायाधीशले किन भेटे ? परिणाम जेजस्तो आउला सहन पर्ने नै छ । तर यस्ता घटनाले शंकालाई अलि बढी मलजल गर्छ भन्ने कुरामा म विश्वस्त छु । केपी ओलीले उपराष्ट्रपतिसँग गरेको व्यवहारले म कुनै अलमलमा छैन । किनभने पदीय गरिमा राख्न नसक्ने आफ्ना मान्छ छानेर यस्ता पदमा राख्दा यस्तो हुनु स्वभाविकै हो ।

उपराष्ट्रपतिको व्यवहारले प्रधानमन्त्रीको चित्त बुझेन तर राष्ट्रपतिको व्यवहारले पूरै देशकै चित्त नबुझेको अवस्था छ भन्ने कुरा प्रधानमन्त्रीलाई समेत हेक्का हुनै पर्ने हो । उनले सभामु झगडिया हुनु उचित होइन भन्न भ्याए । प्रधानमन्त्री झगडिया हुनु उचित होला र ? आफ्नो सोच अनुसारको काम गर्नेहरु ठिक बाँकी सब गलत देख्ने चरित्र आफैमा गलत हो । यही चरित्रले हो द्वन्द्व निर्माण गर्ने ।

राष्ट्रको नतृत्व लिएको व्यक्ति पनि सम्यमित हुन नसक्ने भनेको नै आफैमा कमजोरी हो । त्यसमा वर्तमान प्रधानमन्त्री अलि विशेष भएका छन् । डायलासिस गर्न अस्पताल लैजान समेत गाह्रो हुन्छ भनेर बालुवाटारको निवासमै व्यवस्था गरिएका प्रधानमन्त्री अहिले मेचीमहाकाली पुगेका छन् । अब सोच्नुहोस् त्यो स्थितिलाई अतिरञ्जित गरेर बढी सहानुभूति बटुल्ने प्रयास गरिएको हो वा उनी आफ्नो पार्टी, वर्तमान परिवेशमा उनको गुटको लागि र आफ्नो अडानका लागि आफ्नो स्वास्थ्यसँग खेलवाड गरिरहेका छन् ? गुट टिकाउन सरकारी साधनको प्रयोग गर्ने अनि आफ्नो स्वास्थ्यकोभन्दा देशको बढी ध्यान राखेँ भनेर गफ लगाउन पनि के बेर ?