दाङ, १७ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सत्ता गठबन्धनको यात्रा लक्ष्यविहीन भएको बताएका छन् । ‘गठबन्धनको ध्यान सत्ता स्वार्थमा छ’, नेकपा एमाले घोराही उपमहानगर कमिटीले शुक्रवार घोराहीमा गरेको चुनावी प्रशिक्षणमा महासचिव पोख्रेलले भने– ‘एमाले र देशको समृद्धिलाई रोक्ने स्वार्थ समूहहरुको जोड हो ।
यसको कुनै लक्ष्य भविष्य नै छैन ।’ विकास, राष्ट्रियता, स्वाधिनता र समृद्धिको रक्षाको लागि उनीहरुको गठबन्धन नभएको भन्दै जनमत प्राप्त गर्ने नैतिक अधिकारसमेत नभएको महासचिव पोख्रेलले बताए । महासचिव पोख्रेलले स्थानीय सरकारमा एमालेले धेरै नमुना काम गरेको भन्दै ती कामहरुलाई जनताको माझमा लैजान नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
‘यो निर्वाचन विकास, समृद्धि चाहने र विकासविरोधीबीचको हो । जनादेश र परमादेशबीचको हो’, उनले भने– ‘जनताले पनि त्यही अर्थमा लिएका छन् ।’ माधव नेपाललाई कांग्रेस र माओवादीले टिकट बाँडफाँडमा हैसियत देखाइदिएको समेत बताए । महासचिव पोख्रेलले शेरबहादुर देउवाको नेतृत्वमा समाजवाद भन्नु लज्जाको विषय भएको टिप्पणी गरे । प्रचण्ड र माधव कांगे्रसमा विलीन भएको समेत बताए । ‘कांग्रेसको नेतृत्वमा समाजवाद जाने कुरा कल्पनाभन्दा बाहिरको कुरा हो । उनीहरु पुँजीबादको यात्रामा हिँडिसके । अब माधव र प्रचण्डबाहेक सबैलाई एमालेमा स्वागत गर्ने काम भएको छ ।’
लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका पोख्रेलले गठबन्धनले जनताको बजेट कटौती गरेर जनताविरोधी काम गरेको बताए । कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुखका उम्मेदवार नरुलाल चौधरीले जनता गठबन्धनको पक्षमा नभएको समेत बताए । ‘यो चुनाव बामपन्थी र प्रतिक्रियावादी बीचको हो’, उम्मेदवार चौधरीले भने– ‘यसमा मतदाताले बामपन्थी शक्तिलाई नै मत दिनेछन् । चुनावको दिन कुरेर मतदाता बसेका छन् ।’
उनले विकासको नेतृत्व गर्ने पार्टी एमाले नै भएको बताए । घोराहीको पाँच वर्षे कार्यकालमा धेरै नमुना काम भएकाले अब नागरिकको आर्थिकरुपमा सशक्त बनाउने योजना लिएर मतदाताको दैलोमा आएको बताए । कार्यक्रम नेकपा एमाले घोराही उपमहानगर कमिटी अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको थियो । त्यस अवसरमा झण्डै दुई दर्जन माओवादी र कांग्रेस छोडेर एमालेमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेकालाई महासचिव पोख्रेलले स्वागत गरोक थिए ।
वडास्तरमा चुनावी भेला
नेकपा एमाले घोराही उपमहानगर कमिटीले वडास्तरका चुनावी भेलाको कार्यतालिका सावर्जनिक गरेको छ । एमाले घोराहीका अनुसार बैशाख १८ गतेदेखि वडास्तरमा चुनावी भेला गरिने छ । वैशाख १८ गते वडा न १, २ र ४ वैशाख १९ मा वडा नं. ३, १७ र १८, वैशाख २० मा वडा नं. ५, ६ र ७, वैशाख २१ मा वडा नं. ११, १२ र १३ चुनावी भेला गरिने भएको छ । त्यसैगरेर बैशाख २२ मा वडा नं. ८, ९ र १०, बैशाख २३ मा वडा नं. १४, १५ र १६ र बैशाख २४ मा वडा नं. १९ मा वडास्तरीय चुनावी भेला आयोजना गरिएको छ । चुनावी भेलालाई एमालेका घोराही उपमहानगरका प्रमुखका उम्मेदवार नरुलाल चौधरी, उपप्रमुखका उम्मेदवार हुमा डिसी र वडा अध्यक्षका उम्मेदवार र नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
फाइल फोटो