सरल, मिलनसार र सहयोगी व्यवहारका धनी उनी सधैँ व्यावसायिक हकहित र अधिकारका लागि बोल्छन् । सुरक्षित व्यवसायका लागि व्यवसायीलाई राज्यको कानुनी दायरामा ल्याउने र उपभोक्तालाई स्वच्छ, सफा र गुणस्तरीय उपभोग्य वस्तु पु¥याउनका लागि निरन्तर रूपमा लाग्ने व्यवसायी हुन् घोराही उपमहानगरपालिका–१५ निवासी रामप्रसाद पोख्रेल ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष समेत रहेका पोख्रेलको चारदशक लामो जीवनी सुख र दुःखका अनेकौँ क्षणहरू छन् । चारदशक लामो जीवनमा खुसीका क्षणहरू खोज्ने प्रयास गरका छौँ । २० वर्षदेखि व्यवसाय क्षेत्रमा लागेका सफल र संघर्षशील व्यवसायी पोख्रेललाई आफ्नो जीवनका खुसीका क्षणहरू सुनाउन आग्रह गर्दा एकछिन् रोकिएर हाँस्दै भने मेरो जीवनको पहिलो खुसी भनेको आफ्नै कमाइले घोराहीमा घडेरी किन्दाको बताए । पोख्रेलले व्यवसाय सुरु गरेको एक वर्षपछि २०६१ सालमा घोराहीमा घडेरी किनेका थिए ।
‘आफूसँग भएको नगद १२ हजार र बाँकी पैसा ऋण खोजेर घोराहीको त्रिभुवन पार्क नजिकै किराना पसल गरेर व्यवसाय गर्न सुरु गरेको थिएँ । पसल राम्रै चल्न थालेपछि दैनिक बचत गरेको एक वर्षमा एक लाख बढी जम्मा भएको रहेछ’, उनले भने, ‘पछि त्यही जम्मा गरेको पैसामा केही रकम थप गरेर आफ्नै कमाइबाट घडेरी किनेको थिएँ । त्यो क्षण मेरो जीवनको पहिलो खुसीको क्षण हो ।’ पोख्रेलले पछि त्यही घडेरीमा घर बनाएर बस्दै आएका छन् ।
मध्यमवर्गीय परिवारका कारण घरको अवस्था सामान्य थियो । त्यसैमा घरको जेठो छोरो भएका कारण एलएलसीभन्दा माथिको पढाइलाई अघि बढाउन सकेनन् । पढाइलाई छोडेर केही वर्ष रोजगारीका क्रममा छिमेकी देश भारतमा बस्नु प¥यो तर बाहिर धेरै समय बस्न सकिनँ । स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचले दुई वर्ष भारतमा बसेर आफ्नै ठाउँ फर्किएपछि घोराहीको दाङ जिल्ला उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालको सहयोगमा व्यवसाय गर्न सुरु गरेको थिएँ ।
प्यूठानमा जन्मिएका पोख्रेलको परिवार बसाइसराई गरेर दाङको लक्ष्मीपुरमा झरेको थियो । त्यसैले पोख्रेलले बाल्यकाल घोराही उपमहानगरपालिका–४ स्यालापानीमा बिताए । स्यालापानी बसाइका क्रममा पोख्रेल करिब दुई किलोमिटर दूरीमा रहेको चौघेरामा पढाइका लागि आउनु पर्दथ्यो । तर पढ्नलाई मात्र होइन, उनी स्कूल पढ्न आउँदा हातमा बेच्नलाई दूध पनि सधैँ चौघेरासम्म ल्याउनु पुथ्र्याे । त्यो दूध ल्याएवाफत उनलाई घरपरिवारबाट नास्ता खानलाई दुई रूपैयाँ समेत मिल्ने गर्दथ्यो ।
चौघेरा पढ्न आउने पोख्रेल कहिलेकाहीँ घोराही बजारसम्म आउने गर्थे । त्यो समय अहिलेको जस्तो गाडी मोटर चल्दैन थिए तर फाटफुट रूपमा चल्ने गर्दथे । त्यो समयको भरपर्दाे यातायातको साधन भनेकै साइकल थियो । त्यसैले पोख्रेललाई पनि साइकल चलाउन मन लाग्थ्यो तर चलाउनलाई न आपूmसँग साइकल थियो न तँ चलाउन नै जान्दथे । सिक्नलाई कसैले सित्तैमा साइकल दिँदैन थिए । तर घोराहीमा रहेको कालिका साइकल स्टोरमा एक घण्टा सिकेको दुई रूपैयाँ लिन्थ्यो । साइकल सिक्ने रहर लागेपछि घरमा बुबाले खाजा खानलाई दिएको पैसा बचाएर साइकल चलाउन सिकेका थिए । जुन क्षण अहिले सम्झदा खुसी लाग्ने गरेको उनले बताए ।
‘अहिले आफैसँग गाडी छ तर यो क्षणभन्दा बाल्यकालको क्षणको बढी याद आउँछ’, उनले भने, ‘साइकल चलाउन सिक्नकै लागि मैले १५÷२० रूपैयाँ खर्च गरेँ । त्यो बेला एक घण्टा साइकल सिकेको २ रूपैयाँ तिर्नु पर्दथ्र्यो ।’ मिहिनेत गर्ने तर ढाँट, छल नगर्ने स्वभावका व्यवसायी पोख्रेलको खेलप्रति पनि रुचि थियो । त्यसैले उनी विद्यालय अध्ययनका क्रममा फुटबल खेल्ने गर्दथे । विद्यालयको टिम बनाएर जिल्लाभित्रका विभिन्न ठाउँमा पुग्थे । खेलमा कहिले हार कहिले जित हुन्थ्यो । त्यो मध्येको उनलाई घोराहीको अहिले सडक डिभिजन अगाडि भएको विद्यालय स्तरीय खेलको याद आउँछ । जुन खेलमा उनले अध्ययन गर्ने विद्यालयको टिम दोस्रो भएको थियो ।
‘त्यो समय अहिले जस्तो फुटबल सहजै हेर्न पाइँदैन थियो । किताबमा खेलसम्बन्धी पढेर बुझ्ने, फिल्न हेर्दा हेर्ने गरिन्थ्यो । कि त रेडियो नेपालको समाचार सुनेर थाहा पाउने समय थियो’, उनले भने, ‘त्यो समयमा पनि हामी फुटबल खेल्ने गर्दथ्यौँ । जुन क्षण अहिले सम्झँदा खुब याद आउने गर्दछ । घोराहीमा भएको खेलमा गोरक्ष रत्ननाथ विद्यालयको तर्फबाट हाम्रो टिम दोस्रो भएका थियो । त्यो क्षण मेरो अर्काे खुसीको क्षण हो ।’
पोख्रेल २०३८ साल चैत १५ गते बुबा बेदुलाल पोख्रेल र आमा रमा पोख्रेलको कोखबाट ज्येष्ठ छोराका रूपमा प्यूठानको मल्लारानी गाउँपालिका–३ चौरपानीमा जन्म लिएका थिए । उनका दुई भाइ रहेका छन् । २०५८ सालमा मंसिर २० गते पार्वता पोख्रेलसँग विवाह बन्धनमा बाँधिएका पोख्रेलका इन्दिरा पोख्रेल र रोशन पोख्रेल गरी दुई सन्तान रहेका छन् । २०४६ सालमा घोराही उपमहानगरपालिका–१७ चौघेरा स्थित गोरक्ष रत्ननाथ माध्यमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेका पोख्रेलले २०५७ सालमा घोराहीको भरतपुर स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयबाट एलएलसी पास गरेका थिए ।
पोख्रेल दाङ जिल्ला उद्योग जाणिज्य संघका वाणिज्य उपाध्यक्ष, नेकपा एमाले दाङका जिल्ला सदस्य, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय सदस्य, नेपाल राष्ट्रिय वाणिज्य संघका जिल्ला कोषाध्यक्षलगायतका विभिन्न संघसंस्थामा आबद्ध रहेका छन् ।