चुनौती र अवसर लिएर आएको छ–२०७९

नारायणप्रसाद श्रेष्ठ
सृष्टिको इतिहाससँगै अघि बढेको मानवीय अस्तित्वले वर्तमानमा जुन परिवेशको उद्घाटन गरेको छ, वास्तवमै त्यसले सुनौला भविष्यको आँकुरा पलाएको महसुस भएको छ । बसन्त ऋतुसँग रमाउन चाहने विचारमा नयाँपनको आभाष देखापर्दै छ । भौतिक विकासको उत्कर्षले मानवीय चेतना र चिन्तनमा नयाँ–नयाँ विचार र गुणहरु देखापर्दै छन् ।

एकपछि अर्को गर्दै नयाँ आविष्कारले मानव–मानवबीचको सम्बन्ध विश्वास र भरोसामा अड्ने सत्य उजागर हुँदै छ । आपसी सम्बन्धमा नयाँ–नयाँ विचारका चिराहरु देखापर्दै छन् । एकअर्काबीच पवित्र सम्बन्ध कायम गर्ने चुनौतीसँगै विश्वासको शृंखलाभित्र अविश्वासको बादल पनि मडारिँदै छ । यति हुँदाहुँदै पनि यो किन र कसरी भइरहेको छ ? त्यसतर्फ मानवीय चिन्तन कमजोर भएको हो वा त्यतातिर सोच्नै नचाहेको हो ? यो अवस्था देखिएको छ ।

भौतिक सत्यको यथार्थसँग रमाउन चाहने मानवीय प्रवृत्तिले आध्यात्मिक सत्यको पहिचान गुमाउने खतरा पनि त्यत्तिकै मडारिँदै अघि बढिरहेको छ । मन्दिर कुन वास्तुविदले कल्पना गरी निर्माण गरेको हो ? कुन मूर्तिकार र कालीगढले यसलाई मूर्तरुप दिएको हो ? त्यसतर्फ मानवीय धारणा कमजोर छ । मन्दिर किन र के प्रयोजनका लागि निर्माण र पुजन गरिएको हो ? त्यसतर्फ ध्यान नदिई केवल मन्दिरको पृष्ठभूमिमा होइन, मन्दिर निर्माणपछिको भौतिकवादी सत्यतर्फ मानिसको सोच बढेको छ ।

मन्दिर बनाउने कालिकढ होइन मन्दिर निर्माण सम्पन्नपछिको चित्रणलाई अहिले प्राथमिकता दिने मनस्थिति बढेको छ । समयले सुधारको संकेत दिँदादिँदै पनि राजनीतिक अवस्था छिनाझप्टीमै सीमित हुँदै गएको अवस्था छ । विचारमा स्वार्थ तथा दलगत राजनीतिले राष्ट्रिय चिन्तनतर्फ नेतृत्वको ध्यान कमजोर देखिँदै छ । अब त केही हुन्छ भन्ने आशा र विश्वासमा नेतृत्वप्रति थोरै विश्वास जाग्दै गरेको अवस्थामा नेताको स्वार्थगत आचरण र व्यवहारले राष्ट्रिय राजनीति तरलतातर्फ उन्मुख भइरहेको छ ।

राजनीतिलाई राष्ट्रिय विकासको अवधारणा र सुशासनतर्फ केन्द्रित गर्नुको बदला सत्ता हत्याउने र दलगत र व्यक्तिगत स्वार्थतर्फ नेतृत्वको ध्यान केन्द्रित हुँदा राष्ट्रको अवस्था कमजोर हुँदै गएको छ । अर्थतन्त्र परजीवीमुखी हुँदै गएको छ । नेताको सोच र चिन्तन पराया भएको छ । मुलुकको राजनीतिक अरुको इसारामा परिचालन भइरहेको देखिन्छ । जनताको अभिमतभन्दा नेतृत्वको स्वार्थले गर्दा राष्ट्रिय विकासका अवधारणाले मूर्त रुप लिन सकेको छैन । यति हुँदाहुँदै पनि मानवीय चाहना र विश्वास सुनौलो भविष्यको निर्माण कसरी हुन्छ भन्नेतर्फ केन्द्रित भएको छ ।

यसरी २०७९ सालले हामी र हाम्रो घर आँगनलाई विविधताभित्र एकता कायम गर्ने सन्देश दिई झुल्केको छ । हिजो जेजस्तो अवस्था थियो अब त्यसलाई बिर्सिएर अब आउने ०७९ साल सबैलाई सत्बुद्धि र आचरणयुक्त सोच र चिन्तन जागृत गर्न प्रेरणा देओस् । प्रत्येक कर्ममा सफल हुने आशा र भरोसा दिन सकोस् यही कामना गरौँ ।

भनाइ र गराइमा तालमेल भएन भने न त यसले सफलताको सिढी चढ्न सक्छ न त त्यसले विश्वास र भरोसा नै जगाउन सक्छ । यस्तो प्रवृत्ति भनेको गधालाई नुहाएर गाई बनाउने कल्पना गर्नु मात्र हो । त्यसैले विगतका वर्षले हामीलाई जेजति उतारचढावको स्थिति देखाए पनि यस वर्ष सबैको लागि फलदायी रहनेछ भन्ने विश्वास राख्दै राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक क्षेत्रमा सबैको चिन्तन बढ्ने विश्वास राखौँ । यो वर्तमानले खोजेको सत्य हो ।

जीवनको हरेक उकाली ओरालीमा देखिने काँडा हाम्रो परीक्षाका लागि आएका चुनौती र अवसर हुन् । यसलाई सहज स्वीकार गरी अघि बढ्यौँ भने सफलता सरल र सहज किसिमले सामुन्ने आउँछ । त्यसैले समयको सूचकलाई आत्मसात गरेर प्रत्येकले आफूले आफैलाई बुझी आफ्ना कर्म र व्यवहार गर्न यस वर्षले सबैलाई अवसर दिन खोजेको छ । ०७९ साल हाम्रो लागि आशाको दियो र उज्यालोको भविष्य निर्माण गर्न चुनौती दिँदै आएको छ । यस कुरालाई मनन् गरी यस वर्ष नयाँ विचार, सोच र चिन्तन बढाउन सफल रहने आशा र विश्वास सबैले राखौँ । समयले यही सत्य ओकल्न खोज्दै छ ।

आउँदै गरेको ०७९ सालको मुखमै राष्ट्रले हामीलाई स्थानीय तहको प्रतिनिधि छान्ने अवसर दिएको छ । यस बखत सबै नेपालीले आफ्नो भविष्य निर्धारण गर्ने बेला भएको छ । समयमा गर्नुपर्ने कार्य समयमै हुन सकेन वा बिरामीलाई समयमै औषधोपचार गर्न सकिएन भने जुन परिणाम भोग्नुपर्ने अवस्था हुन्छ त्यसरी नै आफ्ना प्रतिनिधि छान्दा बुद्धि र विवेकलाई प्रयोग गर्न जानिएन भने आफ्नो खुट्टा आफैले काटेको अवस्था आउने सत्यलाई हृदयंगम गरी प्रत्येकले आफूले आफैलाई मूल्यांकन गर्नुपर्ने बेला पनि अहिले भएको छ ।

जसरी हाँसले दूध र पानी छुट्याउने सामथ्र्य राख्दछ त्यसरी नै विवेकशील मानव आत्माले पनि ज्ञान, सीप, व्यवहार र क्षमताको मूल्यांकन गरी आउने दिन सबैको लागि साझा फूलबारी बन्ने गरी आफ्नो कौशल र विवेक प्रयोग गर्नुपरेको छ । सूनको महत्व उसको रुप र निखारमा हुन्छ भनेझैँ मानव अन्तरनिहित सोच र चिन्तनमा रहेको प्रेमको सागर स्वरुप मानिसको गुणात्मक सोच र चिन्तनलाई उजागर गरी अहिले हाम्रो सामू हामीले चुन्नुपर्ने व्यक्तिको छनोट हामीले गर्नुपरेको छ । सक्षम र कुशल नेतृत्वमा नै नागरिकको आवश्यकता पहिचान गर्ने शक्ति हुन्छ ।

त्यसैले आफ्नो बुद्धि र विवेक प्रयोग गर्दा स्थानीय निकाय हाम्रो आवश्यकता पूरा गर्ने महत्वपूर्ण निकाय हो । यसमा निर्वाचित हुने व्यक्ति योग्य र सक्षम हुनुपर्छ भन्ने बोध गरी आफ्नो मताधिकार प्रयोग गर्न समयले हामीलाई सचेत र सतर्क बनाएको छ । समय घर्किसकेपछि पछुताउनु भन्दा समय छँदै सोच र चिन्तन गर्नु जरुरी भएकाले कसैको लहलहैमा लागेर होइन नातावाद, कृपावाद, धनवाद, स्वार्थवाद तथा हाम्रोवाद होइन राम्रो र योग्य व्यक्ति छानौँ । यो अहिलेको चुनौती र जिम्मेवारी पनि हो ।

यति मात्र होइन, ०७९ को सुरुसँगै हुन लागेको स्थानीय तहको निर्वाचन तथा आगामी ५ वर्षका लागि प्रदेश र केन्द्रीय शासन प्रणालीका लागि पनि योग्य र सक्षम व्यक्ति छान्नुपर्ने स्थिति ०७९ सालले हामीलाई सुम्पिन खोजेको छ । त्यसैले ०७९ सालले चुनौती र अवसर दुवै लिएर आएको सत्यलाई बुझी अहिलेदेखि नै आफूले आफैलाई सक्षम र विवेकशील बनाउनुपर्ने अवस्था आएको छ । यस बखत हामीले आफूलाई विगत र वर्तमानमा आफैले गरेको विश्वास र भरोसाले चुनौती दिन खोजिरहेको छ । आउने भविष्यमा हामी कुन किसिमले गतिशील हुने हो त्यसको संकेत वर्तमानले दिन खोजिरहेको छ ।

तसर्थ, विगत जसरी हाम्रो लागि चुनौती बनेर आयो हाम्रो मानसिकतामा हलचल पैदा ग¥यो त्यसरी नै ०७९ सालमा पनि विश्वास र अविश्वासको वातावरण मडारिने संकेत देखिएको छ । अहिले जेजति उतारचढाव भए ती सबैको कारण हामी स्वयम् भएको र हामीले नै गरेको कर्मले भएको मान्नुपर्ने अवस्था छ । वर्तमानमा देखिएको उतारचढाव विगतमा हामीले निर्माण गरेको चरित्रको कारण हो ।

त्यसैले कुनै पनि कुरामा यदि विश्वास भएन, आफैमा मनमुटाव भयो र दूरगामी चिन्तन पनि हुन सकेन भने यसको फल निश्चय पनि तीतो हुन्छ भन्ने बुझी समयको गतिसँगै आफूलाई भरोसा र चिन्तनशीलतर्फ ध्यान केन्द्रित गरौँ । समय निरन्तर बगिरहने सत्य हो । यसले हामीलाई पर्खँदैन । तसर्थ, यसले हामीलाई दिन खोजेको चुनौतीलाई यो हाम्रो जिम्मेवारी हो भनी अवसरको रुपमा प्रयोग गरौँ । आफ्नो आचरण र विश्वासलाई भरोसायोग्य बनाऔँ ।

आफूले आफैलाई सक्षम बनाइ वातावरण शुद्ध, सफा र चैतन्यशील बनाउँदै समयले दिएको चुनौतीलाई अवसरको रुपमा प्रयोग गरौँ । अरुको देखासिकीमा होइन, आफ्नै माटो सुहाउँदो व्यवहार र चिन्तन गरी राष्ट्रलाई समृद्धिको दिशातिर अग्रसर गराउने संकल्प गरौँ । समयले यही सन्देश हामीलाई दिएको छ ।