मुहान क्षेत्रमा चुनढुङ्गा उत्खनन् हुन दिने छैनौं : अध्यक्ष भण्डारी

जिल्लामा खानेपानीको समस्या दिन प्रतिदिन बढ्दै गएको अवस्था छ । जलवायु परिवर्तन र उत्खनन्का कारण पानीका मुहानहरू सुक्दै गएका छन् भने उपभोक्ताका मागहरू बढ्दो अवस्थामा छ । जनसंख्या वृद्धि र खानेपानीको मागलाई धान्न अहिले खानेपानी संस्थाहरूलाई हम्मे–हम्मे छ । तुलसीपुर क्षेत्रमा खानेपानीको माग बढिरहेको छ भने त्यसमा समस्या र चुनौती पनि त्यत्तिकै छ ।

खानेपानीका मुहानहरूबाट ल्याइएको पानी तुलसीपुर बजार क्षेत्रमा अपुग भएसँगै विभिन्न स्थानमा डिपबोरिङहरू खन्ने कामहरू पनि भैरहेका छन् । सरकारले एक घर एक धाराको नीति ल्याए तापनि त्यसले सार्थकता पाउन सकेको छैन । स्थानीय सरकारहरु खानेपानीको समस्याबारे बेखबर नै छन् । कोही कसैले पनि दीर्घकालीन योजना र खानेपानी समस्या समाधानका लागि चासो देखाएका छैनन् ।

चुनावमा भोट तान्न र आफूले चुनाव जित्न दलहरूले खानेपानीलाई मुख्य एजेण्डा बनाएर मैदानमा उत्रिए पनि खानेपानी उपभोक्तासम्म पुग्न चुनौती ज्यूँका त्यूँ नै छ । तुलसीपर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा पनि पानीका धाराको माग संख्या अत्यधिक छ । तुलसीपुर खानेपानीले खानेपानीको आपूर्तिलाई सहज बनाउन अहिले नेपाल सरकार खानेपानी विभागसँग सहलगानी आयोजना सुरु गरेर खानेपानी आपूर्तिका लागि काम सुरु गरेको छ । यही विषयमा केन्द्रितरहेर तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीसँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सार संक्षेप ।

 स्वागत छ यहाँलाई, सातावार्तामा ?

 धनयवाद तपाईँ अनि तपाईँको पत्रिकालाई, खानेपानीका बारेमा केही कुराहरू राख्न अवसर दिनुभएकोमा ।

 के छ तुलसीपुरमा खानेपानीको अवस्था ?

 तुलसीपुरमा खानेपानीको अवस्था ठिकै छ । हामी निर्वाचित भएर आएदेखि खानेपानीको सहज आपूर्तिका लागि विभिन्न कार्यहरू गरिरहेका छौँ । मुहान संरक्षणदेखि पाइप लाइन विस्तार, विभिन्न कारणले रोकिएका धारा जडानका कामदेखि खानेपानी आपूर्तिमा देखिएका सानातिना समस्या तत्काल गर्न सकिने समाधानका कामहरू आन्तरिक रूपमै गरिरहेका छौँ । त्यस्तै पानीको शुद्धिकरणदेखि सबै प्रशासनिक सुधार तथा सबै क्षेत्रमा क्षमताले भ्याएजति तल्लिन भएर काम गरिरहेका छौँ ।

 सहज रूपमा खानेपानी आपूर्ति नभएको, भए पनि धमिलो आएको अनि सहज रूपमा खानेपानीको व्यवस्थापन हुन नसकेको गुनासो उपभोक्ताबाट आइरहेको छ नि ?

 हो कहिलेकाहीँ कुनै स्थानमा समस्या आउन सक्छ । केही कारणले पानी धमिलो पनि हुन सक्छ । हामीले सबै कुरा पूरा गरेका छौँ भन्ने त होइन तर खानेपानी स्वस्थ र सहज रूपले आपूर्ति गर्नका लागि हामी लागिपरेका छौँ । पानी नपाएको स्थानमा ट्याङ्करबाट पनि खानेपानीको आपूर्ति मिलाएका छौँ ।

सबै सुधार एकै पटक हुने पनि त होइन नि । हामीले क्रमशः स्वच्छ, सफा खानेपानी आपूर्तिका लागि काम गरिरहेकै छौँ । कुनै स्थानमा पाइप लाइन जडान भइसकेका छन् कतै पाइप जडानका काम भइरहेका छन् भने कुनै स्थानमा पाइप लाइन जडानका कामको सुरुवात गरेका छौँ । तर तपाईँले भनेजस्तै खानेपानी आपूर्तिमा असहज भएको छ जस्तो चाहिँ मलाई लाग्दैन । यदि साच्चिकै त्यसो हो भने हामीले संस्थाको तर्फबाट लागेपुगेसम्म खानेपानी सहज आपूर्तिका लागि काम गर्ने छौँ ।

 तुलसीपुर क्षेत्रमा खानेपानीको सहज आपूर्तिका लागि मुख्य चुनौतीबारे पनि बताइदिनुस न ?

 सबैभन्दा पहिले त चुनौती गर्मी मौसम हो । अन्य मौसममा भन्दा गर्मी मौसम सुख्खा मौसम हो । त्यसैमाथि खानेपानीका मुहानहरू सुक्दै जानु र जमिनभित्रका पानीको सतह नभेटिएर खनिएका डिपबोरिङहरू सफल नहुनु नै हो । खनेका बोरिङहरूमा पनि सोचेजस्तो पानी नआउनु जस्ता समस्याका कुरा के गर्नु ।

मैले पहिले पनि भने तुलसीपुर क्षेत्रमा खानेपानीको माग बढी छ तर मुहानहरू कम छन् । त्यसैमाथि उपलब्ध मुहानहरू पनि सुक्दै गएको अवस्था छ । हिजोको जनसंख्यालाई हेरेर बनाएका संरचनाहरूले पनि त्यसलाई धान्न मुस्किल छ । दिन प्रतिदिन धारा माग संख्या बढेको बढ्यै छ । साधन स्रोत उही पुरानै हो अनि कसरी खानेपानी आपूर्तिमा सहज व्यवस्थापन हुन सक्छ ?

छोटकरीमा भन्ने हो भने तुलसीपुर क्षेत्रमा खानेपानीमा सहज आपूर्तिका चुनौती भनेको उपलब्ध मुहानमा पानी कम हुँदै जानु नै हो । तर पनि यी चुनौतीलाई चिर्न हामीले बबईबाट लिफ्टिङ गरेर तुलसीपुरमा पानी ल्याउनका लागि नेपाल सरकारको सहयोगमा सहलगानी आयोजना सुरु गरेका छौँ । त्यसमा काम पनि भइरहेको छ । अबको केही वर्ष भित्रै खानेपानीको समस्या सामाधान हुने छ ।

 तुलसीपुर खानेपानी संस्थाले कति धारा वितरण गरेको छ र कति माग छ ?

 हाल करिब व्यक्तिगत तथा सर्वजनिक गरी करिव ८ हजार १ सय ४४ वटा धाराहरू वितरण भएका छन् भने ४ हजार बढी धाराको माग छ । हामीले माग गरेको पैसा बुझाएका उपभोक्ताहरूको आवश्यकता हेरेर धारा जडान कार्य पनि सुरु गरिसकेका छौँ ।

निर्वाचित भएर आएपछि विविध कारणले खाइपाइ आएका तर बीचैमा काटिएका धाराहरूको हामीले अध्ययन पनि गरेका छाँै । ती धाराको अवस्था हेरेर री–कनेक्सनको व्यवस्था, सरकारी कार्यालय, सुरक्षा निकाय, अस्पताल, विद्यालय तथा मठमन्दिरहरूलाई तत्कालै धारा स्वीकृत गरिदिने व्यवस्था पनि मिलाएका छौँ । सबै माग वमोजिम अहिले धाराहरू वितरण गर्न सक्ने अवस्था त छैन तर अब सहलगानी अन्तर्गतका योजना सम्पन्न भयो भने सबैलाई खानेपानी वितरण गर्नसक्ने क्षमता खानेपानी संस्थासँग हुने छ । अनि अर्को कुरा पनि यहाँनेर जोड्न छाहेँ कि पूर्णअपाङ्ग भएकाहरूलाई पानी महशुलमा २५ प्रतिशत छुटको व्यवस्था समेत हामीले गरेका छौँ ।

 सरकारले एक घर एक धारा भन्ने नीति ल्याएको छ । यसलाई पूरा गर्न सक्ने अवस्था के छ ? अनि सरकारको तर्फबाट भएका सहयोगको बारेमा बताइदिनुस् न ?

 सरकारले नीति त ल्याएको छ तर त्यसलाई कसरी पूरा गर्ने भन्ने विषयमा छलफल र सहयोग केही पनि छैन । हामीले केन्द्रीय सरकारबाट केही रकम पाएको अवस्था भने हो तर प्रदेश सरकारबाट कुनै सहयोग आएको छैन ।

स्थानीय निकायका कुरा गर्ने हो भने पनि अवस्था त्यस्तै छ । खानेपानीका स्रोत छैन अनि एक घर एक धाराको अवधारणा लिएर धार मात्र घरघरमा जडान गरेर के गर्नु ? यसलाई पूरा गर्न संरचना अनि मुहानको खोजी र पर्याप्त बजेट पनि त आवश्यक पर्छ । सरकारको नीतिअनुरूप अहिले नै एक घर एक धारा जडान गर्ने क्षमता हामीसँग छैन ।

तर हामी सहलगानी आयोजना सम्पन्न गरेपछि माग वमोजिम धाराहरू वितरण गर्न सक्ने छौँ भन्ने विश्वास भने छ । जनतालाई खानेपानी पु¥याउने दायित्व सरकारको हो, त्यो पु¥याउनु पनि पर्छ । यसमा हामीले सहजीकरण गर्ने हो ।

 सहलगानी आयोजना के हो, कहिलेबाट सुरु हुन्छ?

 सहलगानी आयोजना खानेपानी विभागअन्तर्गत् नेपाल सरकारको आयोजना हो । हाम्रो ३० प्रतिशत र विभागको ७० प्रतिशत लगानी रहने गरी योजना सञ्चालनका लागि सम्झौता भइ काम सुरु भएको छ । भर्खरै यसको टेण्डर परिसकेको छ । यो वहुवर्षीय योजना हो ।

बबईको पानी लिप्mिटङ गरेर तुलसीपुरमा ल्याएर पानी वितरण गर्ने हो । यसका लागि हाल करिब ४३ करोड रकम आएको छ । अब त्यसबाट टेण्डर प्रक्रियाबाट संरचना निर्माणदेखि डिपबोरिङ खन्ने, रिजर्भ ट्याङ्की निर्माणदेखि पाइप लाइन विस्तार गर्ने हो । यो योजना सम्पन्न भयो भने हामीले करिब ७ हजार धाराहरू वितरण गर्न सक्छौँ । ७ हजार धारा वितरण गर्न सक्नु भनेको माग धारासंख्याको झण्डै दोब्बर हो ।

अबको केही वर्षमा हामीलाई यो योजनाले खानेपानीको सहज आपूर्ति व्यवस्थापनमा पक्कै पनि सजिलो हुने छ भने उपभोक्तालाई खानेपानी ।

 खानेपानीको मुहान क्षेत्रमा चुनढुङ्गा उत्खनन्का लागि केही कम्पनीले लाइसेन्स प्राप्त गरेका छन्, यसले खानेपानीको मुहान क्षेत्रमा थप समस्या हुने भन्ने कुरा बाहिर आइरहँदा तपाईहरूको खबरदारी के छ ?

 हो, यो विषयमा व्यापक रूपमा कुरा उठेको थियो । तर हामीले यस विषयमा सर्वदलीय सर्वपक्षीय बैठक बसेर निर्णय सहित खानी तथा भूगर्व विभाग, वन विभाग, वन मन्त्रालय, खानेपानी विभागलगायतका कार्यालयमा डेलिगेशन समेत गएका थियौँ । उहाँहरूले पनि यसलाई सकारात्म नजरले लिनु भएको छ । कहीँ कतै त्यस्तो लाइसेन्स लिएको भन्ने आधिकारिकता भने भेटिएको छैन । यदि त्यस्तो समस्या आइलागेमा त्यसलाई रोक्ने भन्ने आश्वासन समेत पाएका छौँ । भरसक मुहान क्षेत्रमै गएर चुनढुङ्गा उत्खनन् गर्ने लाइसेन्स दिने वा लिने अवस्था आउने छैन र नओस् पनि ।

 तुलसीपुर खानेपानीले पातुखोला हाइड्याम प्रयोजना सुरु गरेको थियो, त्यो कहाँसम्म पुग्यो ?

 हो, यो प्रयोजनाका लागि अध्ययनहरू भएका छन् । निजी कन्सलटेन्सीहरूले यसको काममा खटिरहनु भएकै छ । यसको काम पनि धेरै अगाडि बढेको अवस्था त छ तर सरकारको तर्फबाट तयारी केही नभएको जस्तो लागेको छ । तै पनि प्रयोजनाको अध्ययन, अनुसन्धान तथा योजना कस्तो हो, यो पुरा हुन्छ या हुन सक्दैन भने विषयमा छलफल चलि रहेको छ र चलि पनि रहने छ । सम्भव हुने भयो भने प्रयोजनालाई पनि अगाडि बढाउन सकिने छ ।

 खानेपानीको आय स्रोत के छ, प्रशासनिक सुधारका लागि के गरिरहनु भएको छ ?

 हाम्रो आय स्रोत भनेको सटर भाडा, उपभोक्ताहरूबाट निवेदन शुल्क र जडान शुल्क मात्र हो । यो बाहेक आय स्रोत अरु केही छैन । हामीले विभिन्न नियमावली, निर्माणदेखि सबै कामहरूलाई सिस्टमेटिक बनाउनतर्फ लागेका छौँ । त्यस्तै संस्थामा एक जना इन्जिनियर आवश्यक छ र त्यसको व्यवस्था गरी संस्थाको प्रगति र उन्नतिका लागि के–कसरी अगाडि बढ्न सकिन्छ भन्ने योजना छ ।

 अन्त्यमा केही भनु छ ? –

 म सबैलाई धन्यवाद दिन चाहन्छु । हाम्रो कार्यसमितिका साथीहरू, कर्मचारीहरू कसरी खानेपानी संस्थालाई राम्रो बनाउन सकिन्छ ? जनतालाई सहज खानेपानी आपूर्ति कसरी गर्न सकिन्छ भन्नेतर्फ लागि परेका छौँ । यसमा सबैको साथ र सहयोग पाएका पनि छौँ ।

हामीले राजनीतिक दल, सरोकारवालाहरूसँग खानेपानीको सहज आपूर्तिका विषयमा छलफल पनि गरिरहेको जानकारी गराउँछु । काम गर्दा केही कमीकमजोरी हुन्छ नै । यदि त्यस्तो समस्या कतै देखियो भने तपाईँ मिडिया तथा उपभोक्ताहरूबाट सल्लाह सुझावको अपेक्षा पनि गर्छु । अन्त्यमा अहिले नै सबै काम पूरा गरेर खानेपानीको सहज आपूर्ति भोलिदेखि नै गर्छौँ भन्ने सामथ्र्य हामीमा अहिले छैन ।

आम उपभोक्तमा केही समय धैर्य गर्न आग्रह गर्न चाहन्छु । विस्तारै सुधार हुन्छ र तुलसीपुर क्षेत्रमा खानेपानीको सहज आपूर्तिका लागि सके जति काम पनि भइरहेको जानकारी गराउन चाहन्छु । खानेपानीको बारेमा केही कुरा राख्न दिनुभएकोमा तपाईँ अनि तपाईँको लोकप्रिय पत्रिका गोरक्ष दैनिकलाई धेरै धेरै धन्यवाद ।