मधुसूदन सुवेदी
आजसम्मको नेपालको राजनीतिक इतिहास हेर्ने हो भने नेपालका कम्युनिष्ट र गैरकम्युनिष्टमा फरक के छ ? वास्तविकरुपमा भन्नुपर्दा शाब्दिकरुपमा र परिभाषितरुपमा जे–जे भने पनि जे–जे उपाधि दिए तापनि तात्विकरुपमा भने केही पनि फरक छैन । कम्युनिष्टको वाद के हो ? कम्युनिष्टले ढिलो भए पनि चाँडो भए पनि चाहेको साम्यवाद र समाजवाद होइन ।
कम्युनिष्टको साम्यवाद र समाजवाद यतिबेला कहाँ पुग्यो र कहाँ छ ? कम्युनिष्टकै भाषा प्रयोग गर्ने हो भने कम्युनिष्ट पार्टी गरिबको पार्टी होइन र ? कम्युनिष्ट भनेको गरिब जनताको पार्टी होइन र ? कम्युनिष्ट भनेको समाजमा पिछडिएको वर्गको पार्टी होइन र ? कम्युनिष्ट भनेको घरमा साँझ र बिहान चुलो नबल्नेको पार्टी होइन र ? कम्युनिष्ट भनेको रोगको बेलामा ओखती खान नसक्ने र भोकको बेला अन्न खान नसक्नेको पार्टी होइन र ? कम्युनिष्ट भनेको पीडा र दर्दमा बाँचेकाहरुका लागि मलम–पट्टी लगाउने पार्टी होइन र ?
कम्युनिष्ट भनेको आवाजविहीनहरुको आवाज निकाल्ने पार्टी होइन र ? कम्युनिष्ट भनेको सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने पार्टी होइन र ? कम्युनिष्ट भनेको गास, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्ने पार्टी होइन र ? आज कम्युनिष्टको कर्म, मर्म, धर्मअनुसारको नेपालमा कहाँ छ कम्युनिष्ट ? के गर्दैछ कम्युनिष्ट ? के बन्दैछ कम्युनिष्ट ? कम्युनिष्टको समाजवाद कहाँ पुग्यो ? नेपालभन्दा बाहिरका कम्युनिष्ट देशमा हे¥यो भने उसको विकासको गति र जनताको हैसियत कस्तो छ ?
हामी किन टाढा जानुप¥यो, हाम्रै उत्तरी खण्डको सीमानामा फैलिएको कम्युनिष्टको देश चीन आज कहाँ छ ? कस्तो छ ? विश्वका नगर विश्वका आँखा र विश्वका ध्यान खिचिरहेको छ, तानिरहेको छ र आकर्षण गरिरहेको छ, चीन भन्ने देशले । आज त्यही देशको नेता त्यही देशको पार्टी र शक्तिलाई आफ्नो नाम रुपान्तर गरेर नेपालमा सञ्चालित कम्युनिष्ट पार्टीको अवस्था किन यस्तो ? जनताभन्दा नेता धनी नेपालमा किन भए ? नेपालमा जनताभन्दा नेता सुविधाभोगी किन बने ? नेपालमा जनताभन्दा नेता राजा किन बने ? नेपालमा जनताभन्दा नेता पूजनीय किन बने ?
नेपालका कम्युनिष्टले जनताबाट धूप, दीप, आबीर, फूलमाला, दोसल्ला र राजकीय सम्मान खोज्नु कहाँसम्म लाज, घीन, सरम र आश्चर्य हो ? यस्तो पनि हुने हो कम्युनिष्ट भन्ने कम्युनिष्टकै चरित्र नै बेचेर खाने ? कम्युनिष्टको असली रुप र स्वरुप के हो ? अब त भन्नुप¥यो नि ? नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको कति भयो ? यो अवधिमा कम्युनिष्टले कम्युनिष्टकै आदर्श, सिद्धान्तअनुसार देशको लाज छोप्न सक्यो कि सकेन ? जनताको जीवनस्तर माथि उठ्यो कि उठेन ?
नेपालजस्तो धनी देशको गरिब जनताको लागि नेपालमा फैलिएको कम्युनिष्टले के ग¥यो ? कम्युनिष्टको आचरणमा नेपालमा मात्र किन यसरी पतन हुँदैन ? कम्युनिष्टको विचारमा परिवर्तन खै ? के कम्युनिष्टले यसरी नै दिन बिताउने हुन् ? नेपालमा यदि अरु पार्टी ठीक थिएनन् भने कम्युनिष्ट किन ठीक हुन सकेन ? नेपालमा कम्युनिष्टको विचार किन स्खलन बन्न पुग्यो ? यदि साँच्चिकै नेपालका कम्युनिष्ट चीनको आदर्श र मान्यताबाट प्रेरित हुन्थे भने अन्य गैरकम्युनिष्टको वर्चस्व नेपालमा स्थापित हुने थियो ? कदापि हुने थिएन ।
जब नेपालका कम्युनिष्ट पार्टी गैरकम्युनिष्टभन्दा कत्ति पनि फरक, पृथक, भिन्न र अलग हुन सकेनन् तबमात्र नेपालमा अन्य राजनीतिक शक्तिको उदय भयो । अहिले विश्वको राजनीति हेर्ने हो भने चीनमा कम्युनिष्टको विकल्प खोजिन्छ ? कदापि खोजिन्न र यसको सामान्य अनुमानसमेत गर्न, साट्न र कल्पना गर्न सकिन्न भने नेपालमा आज यति सानो समयको घेराभित्र पनि सबै राजनीतिक शक्तिको विकल्प खोजिँदैछ ? यो एउटा देश र जनताका लागि दुःखद् पक्ष हो कि होइन ?
नेपालमा राजनीतिक विकल्प पटक–पटक किन ? यदि यो देशको कम्युनिष्ट तथा गैरकम्युनिष्टको चरित्र सफा, स्वच्छ, निष्कलंक, पारदर्शी, दूरदर्शी हुन्थ्यो भने किन आज पटक–पटक विकल्प खोज्नुपथ्र्यो । नेपालमा जहिले पनि शासक ठूलो बन्ने र शासित जनतालाई सामान्य र तुच्छ ठान्ने यो खेल कहिलेसम्म चल्छ ? विचार, विवेक, उदेद्दश्य, लक्ष्य र आस्थाको राजनीति गर्ने र गराउने कहिले हो ? सबैभन्दा नेपालको दुःखद् पक्ष के हो भने नेपाली जनता जहिले पनि आफ्नो सेरोफेरोभित्रका भए ।
उनलाई सबैभन्दा पद, कुर्र्सी, सेवा, सुविधा प्यारो लाग्यो उनले आफ्नो व्यत्तिःगत जीवन विलासिताको कुरामात्र गरे । यो स्थिति कहिलेसम्म चलिरहने हो ? देशको कम्युनिष्ट व्यवस्था, अवस्था, चरित्र, नैतिकता केमा परिवर्तन होला ? नेपालमा कम्युनिष्टको नाम बदनाम त हुने होइन ? आज पछिल्लो समयसम्मको अवस्था हेर्ने हो भने कम्युनिष्टले आफ्नो आचरण सुधार्ने अवस्था छैन । यो बेला, यो समय, यो अवस्थामा कम्युनिष्टले आफूलाई हेर्नु र नहेर्ने हो भने कम्युनिष्ट बदनाम हुनेछ ।