बत्तीको पैसा समयमै नबुझाएपछि काटियो तुलसीपुर उपमहानगरको लाइन

दाङ,१३ बैशाख । तुलसीपुर उपमहानगरपालिकाको विद्युत लाइन काटिएको छ। बुझाउनुपर्ने बक्यौता समयमै नबुझाएका कारण मंगलबार बिहानैदेखि विद्युत लाइन काटिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले उपमहानगरको विद्युत लाइन काटिदिएको हो।

उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले आफूहरू कार्यालय आउनुभन्दा पहिले नै विद्युत काटिएको र बेलुका चार बजेसम्म पनि काटिएको विद्युत लाइन जडान हुन नसकेको जानकारी दिए। ‘प्राधिकरणले सूचना नै नदिएर दादागिरी शैलीमा विद्युत लाइन काटेको छ,’ उनले भने, ‘यदि समयमै जोडिएन भने हामी पनि अब आफ्नै तरिकाले अगाडि बढ्ने छौं।’

तर, सूचना अधिकारी न्यौपानेले केही दिन पहिलेमात्रै प्राधिकरणका पदाधिकारीसँग विद्युत बक्यौता तिर्नेबारे छलफल भएको बताएका थिए। नेपाल विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालले चार महिनाको विद्युत महसुल झन्डै डेढ लाख बुझाउन पटक पटक ताकेता गर्दा पनि बेवास्ता गरेका कारण बाध्य भएर विद्युत लाइन काट्नु परेको जानकारी दिए।

‘हामीले वैशाख ६ गते पनि विद्युत महसुल तिर्नबारे उपमहानगरलाई पत्राचार गरेका थियौं, तर त्यसको पनि कुनै वास्ता नै भएन,’ फर्सालले भने, ‘सर्वसाधारण नागरिकको एक हजार रुपैयाँ पुग्नासाथ घरको विद्युत काटिने र स्थानीय सरकारको लाखौं बक्यौता रहँदा पनि किन नकाट्ने ?’ विद्युतको नियम त सबैका लागि बराबर र समान हुने उनले बताए।

उपमहानगरपालिकाले सडक बत्ती बापतको ८० लाख र जरिवाना समेत गरी ९० लाख जति महसुल पनि नबुझाएको उनले जानकारी दिए। ‘बिहान ११ बजेतिर प्रमुख प्रशासकीय अधिकृतले अन्याय भयो भनेर मलाई फोन गर्नु भएको थियो,’ फर्सालले भने, ‘उहाँलाई मैले भनिदिए हामीले पटक पटक आग्रह गर्दा अटेरी गर्ने तपाईंले पो अन्याय गर्नु भएको छ।’

त्यस्तै प्रशासकीय अधिकृतले तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई फोन गर्न आग्रह गरे पनि आफू नेपालगञ्ज मिटिङमा रहेको कारण फोन गर्न नपाएको बताए। उपमहानगरपालिकाका सूचना अधिकारी न्यौपानेले भने सडक बत्तीको महसुल संघीय सरकार वा प्रदेश सरकारले हेर्ने भन्ने रहेकाले नबुझाइएको जानकारी दिएका छन् ।