स्थानीय तहको निर्वाचन : दश पालिकामा उम्मेदवार मनोनयन

इन्द्र डि.सी.÷लिलाधर वली
दाङ, १३ बैशाख । स्थानीय तह निर्वाचनका लागि जिल्लाका दशवटै पालिकामा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । जिल्लामा सोमवार ठूला दलहरूले तामझामका साथ उम्मेदवारी दर्ता गरेका हुन् । पाँच दलीय गठबन्धन, नेकपा एमाले, राप्रपा, नेकपा एकिकृत समाजवादी पार्टीका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।

जिल्लाका जुम्ल्याहा उपमहानगरपालिका घोराही र तुलसीपुर र बंगलाचुली गाउँपालिकामा मात्रै गठबन्धनका साझा उम्मेदवार छन् भने अन्य पालिकामा गठबन्धनमा सहमति हुन नसकेपछि आ–आप्mना उम्मेदवार खडा गरेका छन् ।

घोराही उपमहानगरपालिकामा गठबन्धनकाबाट प्रमुखमा हेमराज शर्मा र उपप्रमुखमा भूपबहादुर डाँगीले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख पदमा उम्मेदवार दिएका शर्मा माओवादीका हुन् भने डाँगी कांग्रेसका हुन् । नेकपा एमालेबाट प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमाकुमारी डिसीले मनोनयन दर्ता गराएका छन् ।

प्रमुखमा एमालेबाट उम्मेदवार दिएका चौधरी नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा दाङ इञ्चार्ज समेत हुन् । डिसी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य र अनेम संघ दाङका अध्यक्ष समेत हुन् । यसैगरेर राप्रपाबाट नगर प्रमुखमा सरिता देवकोटा, मालेबाट नेत्रप्रकाश पाण्डे, स्वतन्त्रबाट श्रीमनकुमार शर्मा न्यौपानेले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका लागि घोराही स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट शर्मा र डाँगी बाजागाजासहितको ¥यालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । एमालेले पनि बाजागाजाको ¥याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट गेहेन्द्र गिरी र उपप्रमुखमा जोगबहादुर रानाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरीले गठबन्धनका तर्फबाट तुलसीपुरको प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गिरी २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित भएका थिए । यसैगर उपप्रमुखमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रानाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमालेको तर्फबाट तुलसीपुरको प्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजा र ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर खड्का र चौधरीले उम्मेदवारी दर्ता गराएका थिए । खड्का नेकपा एमाले दाङका पूर्व अध्यक्ष तथा चौधरी सामाजिक अभियान्ता हुन् ।

लमही नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट जोगराज चौधरी र उपप्रमुखमा लक्ष्मी योगीले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनमा सहमति नभएपछि गठबन्धनका दलहरूले यो नगरपालिकामा एक्लाएक्लै दर्ता गराएका हुन् । लमहीमा नेकपा एमालेबाट नगर प्रमुखमा डण्डिराम चौधरी र उपप्रमुखमा सुशीला शर्माले उम्मेदवारी दर्ता गराएका छन् । लमहीमा माओवादीको तर्फबाट बसन्त शर्माले र उपप्रमुख गंगा पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

बबई गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खड्का, दंगीशरण गाउँपालिकामा अध्यक्षमा शम्भु गिरी र उपाध्यक्षमा पिमाकुमारी खड्का, राप्तीको अध्यक्षमा जगदम्बाकुमारी चौधरी र उपाध्यक्षमा हरि भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।

गढवामा अध्यक्षमा सर्वजित डाँगी र उपाध्यक्षमा शारदा चौधरी, राजपुरमा अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपति यादवले उम्मेदवारी दर्ता गराएका छन् । शान्तिनगरमा नेपाली कांग्रेसबाट अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा केसीले उम्मेदवारी दर्ता गराएका छन भने बंगलाचुली गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्रबाट सुवास पुन र उपाध्यक्षमा नेपाली कांग्रेसबाट भक्तबहादुर जिसीले मनोनयन दर्ता गराएका छन् ।

नेकपा एमालेको तर्फबाट बबई गाउँपालिकाको अध्यक्षमा भूवनेश्वर पौडेल र उपाध्यक्षमा सावित्रा विश्वकर्माले मनोनयन दर्ता गराएका छन् । पौडेल र विश्वकर्मा २०७४ स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए । शान्तिनगर गाउँपालिकामा एमालेबाट विष्णु केसी र उपाध्यक्षमा कमला भण्डारी, दंगीशरण गाउँपालिका अध्यक्षमा एमएन शाह र उपाध्यक्षमा बुधनी चौधरी, राप्ती गाउँपालिका अध्यक्षमा अध्यक्ष जगत पोख्रेल र उपाध्यक्ष कमलापति चौधरी, गढवा गाउँपालिकामा अध्यक्ष सहजराम अहिर र उपाध्यक्षमा सीता चौधरी, राजपुर गाउँपालिकामा अध्यक्ष कुलराज गिरी र उपाध्यक्षमा सीता यादव र बंगलाचुली गाउँपालिकाको अध्यक्षमा भेषराज खत्री र उपाध्यक्षमा सरस्वता घर्ती मगरले मनोनयन दर्ता गराएका छन् ।

गढवामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा यमनारायण शर्मा पोख्रेल र उपाध्यक्षमा एकीकृत समाजवादीका शान्ति चौधरीले मनोनयन दर्ता गराएका छन् । यसैगरी राप्ती गाउँपालिकामा माओवादीबाट प्रकाश विष्ट र जनमोर्चाबाट उपाध्यक्षमा केशव खनालले उम्मेदवारी दर्ता गराएका छन् । राजपुरमा माओवादीबाट अध्यक्षमा चक्रबहादुर खडका र उपाध्यक्षमा पुष्पा यादव, बबईको अध्यक्षमा भीमबहादुर वली र उपाध्यक्षमा अञ्जु घर्तीले मनोनयन दर्ता गराएका छन् ।

दंगीशरणमा अध्यक्षमा मणिराम चौधरी र उपाध्यक्षमा विनिता चौधरी, शान्तिनगरको अध्यक्षमा मोहन वली र उपाध्यक्षमा राधिका परियारले मनोनयन दर्ता गराएका छन् । यसैबीच दाङ जिल्लामा सत्ता गठबन्धनमा सिट बाँडफाँडमा कुरा नमिलेपछि एकीकृत समाजवादी केही पालिकामा एकल उम्मेदवारी दर्ता गराएको छ । एकीकृत समाजवादीको तर्फबाट घोराही उपमहानगरपालिकाको प्रमुखमा रामप्रसाद चौधरी र उपप्रमुखमा शोभा शाहले उम्मेदवारी दिएका छन् ।

गठबन्धनको धेरै पालिकामा एक्ला–एक्लै
जिल्लाका दश पालिकामध्ये अधिकांश पालिकामा गठबन्धनले एक्लाएक्लै उम्मेदवारी दर्ता गराएका छन् । घोराही उपमहनगरपालिकामा समेत गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । यसैगरेर गढवामा समेत माओवादीसँग मिलेर समाजवादीले उम्मेदवार दिएको छ ।

शान्तिनगर, बबई, दंगीशरण, राजपुर गाउँपालिकामा गठबन्धनका दलहरूले आ–आफ्नै उम्मेदवारी दर्ता गरेका छन् । बंगलाचुली गाउँपालिकामा भने गठबन्धनमा आवब दलहरूले साझा उम्मेदवार दर्ता गराएका छन् । राप्ती गाउँपालिकामा माओवादी र जनमोर्चा मिलेर उम्मेदवार दर्ता गराएका छन् भने कांग्रेसले आप्mनै उम्मेदवार दर्ता गराएको छ । लमही नगरपालिकामा पनि गठबन्धनका दलहरूले आ–आफना उम्मेदवार दिएका छन् । तुलसीपुर उपमहानगरपालिकामा भने गठबन्धनले साझा उम्मेदवार दिएका छन् ।

प्रमुख पदमा महिला उम्मेदवार न्यून  
जिल्लाका दश पालिका प्रमुख पदमा महिलाको उम्मेदवारी न्यून मात्रामा परेको छ । राप्ती गाउँपालिकामा नेपाली कांगे्रेसले पालिका प्रमुखमा महिला उम्मेदवार बनाएको छ । पालिका प्रमुखमा जगदम्बा चौधरीलाई उम्मेद्वार बनाएको छ ।

चौधरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । यसैगरेर घोराही उपमहानगरपालिकामा राप्रपाले सरिता देवकोटालाई प्रमुख पदमा उम्मेदवार बनाएको छ । मंगोल नेशनल अर्गनाइजेशनबाट कल्पना चौधरीले पनि घोराही उपमहानगरको प्रमुख पदमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अधिकासमा नयाँ र केहीमा पुरानाः

जिल्लाका दशपालिकामध्ये धेरै पालिका प्रमुख र उपप्रमुखमा नयाँ अनुहारले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसले तुलसीपुरको प्रमुख, लमहीको प्रमुखमा पुरानै व्यक्तिलाई दोह¥याएको छ ।

राप्ती गाउँपालिकाको प्रमुखमा भने निर्वतमान उपाध्यक्षलाई प्रमुखमा लगेर उम्मेदवार बनाएको छ । अन्य पालिकामा अधिकांश नयाँलाई नै उम्मेदवार बनाएको छ । नेकपा एमालेले घोराहीको प्रमुख, बबईको अध्यक्ष, उपाध्यक्ष, गढवाका अध्यक्ष र राजपुर गाउँपालिकाको अध्यक्षमा पुरानैलाई उम्मेदवार बनाएको छ । अन्य पालिकामा सबै नयाँ अनुहार उम्मेदवार भएका छन् । माओवादीले पनि धेरै पालिकामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ ।

तुलसीपुरमा प्रमुखमा मंगोल नेशनल अर्गनाइजेशनबाट प्रमुखमा जया घर्ती मगर, राष्ट्रिय जनमुक्ति पार्टीबाट रवीन्द्र उच्च नेपाली, नेकपा मालेबाट महेन्द्र शाह, स्वतन्त्रबाट धर्मराज जोशी, जसपाबाट टोपबहादुर महतरा, भूपेन्द्र भण्डारी राप्रपाबाट जगधनी चौधरी, लोकतान्त्रिकबाट जसविर वलीले उम्मेदवारी दर्ता गराएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाको उपमेयरको पदमा राप्रपाबाट प्रेमबहादुर शाह, स्वतन्त्र तर्फबाट सुशील गन्धर्व, खेमराज वली, नेकपा मालेबाट फगनी चौधरी, राजमोबाट सीता चौधरी, जसपाबाट धनसरा विक, मंगोल नेशनल अर्गनाइजेशनबाट डमबहादुर छन्त्यालले उम्मेदवारी दर्ता गराएका छन् ।

बबई गाउँपालिकामा राप्रपाबाट अध्यक्षमा बेगमान डाँगी, मंगोल नेशनल अर्गनाइजेशनबाट गणेशबहादुर चौधरी, स्वतन्त्रबाट भक्तबहादुर डाँगीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै उपाध्यक्षमा राप्रपाबाट दीपकला कँडेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।