दाङ, ८ बैशाख । दाङसहित देशभरका ७५३ वटै पालिकामा बिहीवारदेखि निर्वाचन अधिकृतको कार्यालय खुलेका छन् । जिल्लाका दश पालिकामा बिहीवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचन आयोगले प्रशिक्षण दिएपछि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र कर्मचारी कार्य क्षेत्रमा खटिन लागेका हुन् । सबै निर्वाचन अधिकृत कार्यक्षेत्रमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उनीहरुले जिल्ला निर्वाचन कार्यालयको समन्वयमा पालिकामा कार्यालय स्थापनादेखि कर्मचारी व्यवस्थापनसम्मका काम गर्नेछन् ।
आयोगका प्रतिनिधिका रुपमा पालिकामा पुगेका उनीहरुले चुनावको सबै तयारीदेखि मतदान र मतगणनापछि निर्वाचित जनप्रतिनिधिको घोषणा गर्नेछन् । साथै आचारसंहिताको अनुगमन पनि गर्नेछन् । आयोगले ७७ जिल्लाका न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । चुनावी तालिकाअनुसार आउँदो ११ र १२ गते उम्मेदवारी दर्ता हुनेछ ।
१३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ गते मनोनयन पत्र र उजुरी जाँचबुझ गरी १६ गते अन्तिम नामावली प्रकाशन हुनेछ । १७ गते आयोगले उम्मेदवारलाई चुनाव चिन्ह दिने तयारी गरेको छ । ३० गते हुने मतदानका लागि २७ गते मध्यरातदेखि मौन अवधि सुरु हुने आयोगले जनाएको छ ।