तुलसीपुर, ९ बैशाख । नेपाली कांग्रेस तुलसीपुरले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन तुलसीपुरमा नगरको नेतृत्व गरिरहेका भातृ संस्था एवं शुभेच्छुक संस्थाहरुका नेतृत्वहरुसँग छलफल गरेको छ ।
कार्यक्रममा सहभागीहरुले पार्टीले गरेको आधिकारिक निर्णयलाई स्वीकार गरेर जानुपर्ने बताए । उनीहरुले पार्टीको निर्णय नमान्नेलाई कारबाही गर्नुपर्ने समेत बताए । कार्यक्रममा विषय प्रवेश गराउँदै नगर सभापति सुरेश हमालले १९ वटा वडामा आफ्नो पक्षमा निर्वाचन हात पार्न सबै लाग्नुपर्ने बताए । ‘नेतृत्व, उम्मेदवारहरु नेतासँग विमति असहमति होलान् पार्टीभित्र तर स्थानीय चुनावका लागि २२ दिन समय दिएर खटिनुहोस्’, नगर सभापति हमालले भने ।
उनले पार्टीले जस्तो निर्णय गर्छ, त्यसलाई मानेर अगाडि बढ्नुपर्ने बताए । ‘हामीहरुले स्थानीयस्तरमा गठबन्धनका लागि धेरै प्रयास गरेका थियौँ, यहाँ हामीहरु निष्कर्षमा पुग्न सकेनौ त्यसैले जिल्लामा पठाएका छौं, जस्तो अवस्थामा पनि पार्टीको निर्णयलाई सबैले मानेर अगाडि बढ्नुपर्छ’ उनले भने ।
उनले गठबन्धन आजको आवश्यकता भएकाले कुन ठाउँमा कसरी जाने भन्ने विषयमा केही दिनमै निर्णय हुने बताए । सभापति हमालले गठबन्धन समयको आवश्यकता रहेको भन्दै सबै शुभेच्छुक संघ संस्थाहरुलाई नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन सहयोगी भूमिका खेल्न आग्रह गरे ।
कार्यक्रममा महिला संघ तुलसीपुर नगरकी अध्यक्ष खिमा केसीले विगत बिर्सेर वर्तमानमा अगाडि बढेमा निर्वाचनमा जित हासिल गर्न सकिने बताइन् । उनले पार्टीले दिएको नीति÷निर्देशनलाई पालना गर्न महिला संघ सदैव तत्पर रहेको प्रष्ट पारिन् । त्यस्तै नेपाल ट्रेड युनियन कांग्रेस दाङका सह–सचिव यज्ञबहादुर केसीले पार्टीभित्र अन्तर्घात हुँदा गत निर्वाचनमा नेपाली कांग्रेसले पराजय व्यहोर्नुपरेको बताए ।
उनले अब घात–अन्तर्घात गर्नेलाई कारबाही गर्नुपर्ने बताए । कार्यक्रममा प्रजातान्त्रिक यातायात व्यवसायी संघका उमेशचन्द्र मजगैयाँले कोही कसैको मन नपर्ने मान्छे उम्मेदवार आए पनि व्यक्तिभन्दा पनि पार्टी ठूलो भएको भन्दै पार्टीलाई विजय गराउन लाग्नुपर्ने बताए ।
नेपाल निजामती कर्मचारी युनियन तुलसीपुरका अध्यक्ष यमनारायण सापकोटाले कांग्रेस कमजोर नभएर व्यवस्थापन कमजोरी भएका कारण गतको निर्वाचन हार्नुपरेको भन्दै व्यवस्थापन चुस्तदुरुस्त गराएर निर्वाचनमाा जानुपर्ने बताए । त्यस्तै नेपाल प्रेस युनियन दाङका कार्यबहाक अध्यक्ष नारायण खड्काले निर्वाचनमा आफूहरुले पूर्णरुपले सहयोग गर्ने भन्दै आफूहरुलाई पार्टीले परिचालन गर्नुपर्ने बताए ।
प्रजातान्त्रिक कानुन व्यवसायी संघका पूर्व केन्द्रीय सदस्य अधिवक्ता विष्णुमणि धितालले प्रजातन्त्रलाई बचाउन तथा विधिको शासन स्थापना गर्न कांग्रेसको जित अपरिहार्य भएको भन्दै आफूहरुले निर्वाचनमा तन–मन–धन लगाएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै अपाङ्ग संघका ईश्वरी खड्काले आफूले पाए ठीक, आफूहरुले नपाए बेठीक भन्ने परम्पराले कांग्रेस कमजोर भएको भन्दै घात–अन्तर्घात गर्नेलाई कारबाही गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङ क्षेत्र न. ३ का क्षेत्रीय सदस्य बसन्तकुमार खड्की, नेपाल शिक्षक संघ तुलसीपुर नगरका अध्यक्ष घनश्याम डाँगी, दलित संघ दाङका अध्यक्ष किरण विश्वकर्मा, तुलसीपुर वडा नं. १७ का सदस्य मदनबहादुर बस्नेत, नेपाल यातायात मजदुर संघका इकाई अध्यक्ष सुवर्णराज भण्डारी, किसान संघका मोहनलाल पाण्डे तरुण दलका अजय बुढाथोकीलगायतले विचार राखेका थिए । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस तुलसीपुर नगरका सचिव बिमल पौडेलले गरेका थिए ।