Goraksha

National Daily

कोभिड—१९ को सतर्कता : ‘लकडाउनको सदुपयोग खेतीपातीमा’

खेम रिजाल

विजौरी दाङ चैत १८ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड—१९को संक्रमणबाट जोगिन नेपाल सरकारले लकडाउन जारीगरेसंगै कामकाजी किसानहरु आफ्नो खेतवारीमा व्यस्त छन् । घरमै कुंजिएर बस्दा अन्य शारीरिक समस्यासंगै मानसिक समस्या समेत हुने भएकाले खेतीपातीमा श्रम गर्नुपरेको ती किसानहरुले बताएका छन् । अहिले वेमौसमी तरकारी लगाउने समयसंगै मसुरो, गोवितोरी र जौवाली स्याहार्ने समय सुरु भएको छ ।

‘लकडाउनमा घरमै बस्नुभन्दा पारीवारीक सदस्यहरु मास्क लगाएर खेतीवालीमा व्यस्त छौं’—तुलसीपुर उपमहानगरपालिका—१८ मोनीकापुरका किसान नेत्र वहादुर डांगीले भने । उनी अहिले मसुरो तोरी वाली स्याहार्न दिनभरी मास्क लगाएर खेतवारीमा छन् । त्यसैगरी सोहि वडाका भुप वहादुर पुन पनि गोवितोरी स्याहार्न परीवारै सहित व्यस्त छन् । ‘सवैले मास्क लगाएर खेतवारीमा जान्छौं, उनले भने किनकि धुलोबाट पनि बच्ने र रोगको संक्रमणबाट पनि बच्न सकिने भएकाले मास्क लगाएर मात्रै वारीमा जान्छौं ।’

त्यसैगरी तुलसीपुर—१७ फोर्टिनाइनका रामकुमार रिजाल पनि वेमौसमी तरकारी लगाउन वारी तयार गर्दै छन् । दिनभरी घरमा बस्नुको साटो वारीमा श्रम गरेर सामान्य पसीना निकाल्नु उपयुक्त भएको उनको भनाइ छ । उनीहरुजस्तै अहिले धेरै स्थानियहरु खेतवारीमै व्यस्त छन् । धेरै समुहमा भन्दा पनि दुरी फरक पारेर आफुहरु खेतवारीमा व्यस्त हुने गरेको उनीहरुको भनाइ छ । अन्य विकाश निर्माणका योजनामा काम गर्न गएका मज्दुरहरु पनि सवै घरघरमा फर्केपछि अहिले खेतवारीकै काममा व्यस्त हुन थालेका छन् ।

गाउगाउंमा कोरोना सचेतना

यसैबीच तुलसीपुर उपमहानगरपालिकाले विभिन्न गाउगाउंमा कोरोना विरुद्धको सचेतना अभियान सुरु गरेको छ । यसै अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिका—१७ ले कोरोनाबाट जोगिने सचेतनाका विषयमा वडाभरी माइकिङ गरीएको वडाध्यक्ष थलराज पुरीले बताए । त्यसैगरी वडा नं १८ ले कोरोना सचेतना घरदैलो अभियान सुरु गरेको बताइएको छ । प्राय धेरै वडाहरुले कार्यालयमा अत्यावस्यक कामकालागी आउने सेवाग्राहि तथा वडाबासीहरुलाइ आवस्यकता अनुसार मास्क समेत उपलव्ध गराएको तुलसीपुर उपमहानगरपालिका—५ का वडाध्यक्ष विरेन्द्र कुमार शाहले बताए ।

छिल्लीकोटमा मेला लगाउन रोक

यसैबीच चैतेदशैका दिन विशेष महत्वका साथ वलि दिने र धार्मिक महोत्सव लाग्ने छिल्लीकोटमा यो बर्ष मेला नलाग्ने भएको छ । बढि जमघट हुने अवस्थाले कोरोनाको संक्रमण फैलन सक्ने भएकाले यो बर्ष चैतेदशैमा मेला महोत्सव लगायतका कुनैपनि धार्मिक अनुष्ठान नहुने विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीले बताए । साथै तुलसीपुर उपमहानगरपालिका—१९ ले पनि यो बर्ष चैते दशैमा ऐतिहासीक धार्मिक एवं पर्यटकिय क्षेत्र छिल्लीकोटको कालिका मालिका मन्दीरमा धार्मिक मेला नलाग्ने जनाएको छ । वडाअध्यक्ष राम वहादुर योगीले विश्वमै महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमण फैलेने सम्भावनालाइ मध्यनजरगर्दै मेला महोत्सव नलगाउन सार्वजनिक अपिल गरेका छन् । साथै यो बर्षको समवेदनशिलतालाइ मध्यनजरगर्दै बलि चढाउन समेत रोक लगाइएको छ ।

पानी वितरणमा समस्या नहुने

यसैबीच कार्यालय बन्द रहेपनि उपभोक्ताहरुलाइ सहज रुपमा खानेपानी वितरणमा कुनै समस्या नहुने वेलझुण्डि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष प्रदिप गौतमले एक विज्ञप्ती प्रकाशित गरी आयोजनाका कुनै पनि स्थानमा पाइपहरु टुटफुट भए तुरुन्त कार्यालयका संबन्धित कर्मचारीको मोवाइल नंवर ९८५७८२१४९५ र ९८४७८२३३६४मा संपर्क गर्न पनि आग्रह गरिएको छ । साथै संस्थाले लकडाउनको समयमा सवै उपभोक्तालाइ घरवाहिर ननिस्कन समेत आह्वान गरेको छ ,