खेमराज रिजाल
तुलसीपुर, ६ बैशाख ‘दाइ पाक्या बालीमा असिना आएजस्तै भा’छ, गठबन्धनका कारण टिकट पाउने आशामा रहेकाहरु निराश भैसक्ने अवस्था भो, कहिले तोक्ने हुन् उम्मेदवार’, तुलसीपुर उपमहानगरपालिकाको अञ्जु स्वीट हाउसमा चियागफमा तुलसीपुर उपमहानगरपालिका–५ का युवा गोरख वलीले भने ।
मेरो बुझाइमा उनी गठबन्धनका नाममा उम्मेदवारी तोक्न भएको अलमलमा निकै असन्तुष्ट छन् । उनको अभिव्यक्तिले अर्को पनि सन्देश दिइरहेको थियो, गठबन्धनका नाममा धेरै इच्छाइएका व्यक्ति साइड लाग्नुपर्ने बाध्यता किन बनाइयो ? दंगीशरण गाउँपालिकाको एउटा वडामा नेविसंघको राजनीतिमा लामो समयसम्म जोडिएका एक युवा नवीन योगीको नाम पालिकाको एउटा वडाध्यक्षमा सिफारिस भएको छ ।
यद्यपि यही बीचमा चुनावी गठबन्धनको चर्चा सुरु भएपछि नेपाली कांग्रेस गाउँपालिका इकाईले गरेको सिफारिसलाई सार्वजनिक गर्न क्षेत्रीय समितिले रोकेको छ । टिकट कसले पाउने भन्ने अझै टुंगो लाग्न सकेको छैन । ‘म सिफारिसको उम्मेदवार, मलाई रुख चिन्हमा मत दिएर वडाध्यक्षमा जिताउ भनेर मतदातासँग मत माग्न समेत पाएको छैन, किनकि गठबन्धनले अन्योल बनाएको छ, योगीले भने ।
उनले अरु भन्दै गए, गठबन्धन त स्थानीय तहका नेताको चाहनामा हुनुपर्ने हो कि केन्द्रका नेताको स्वार्थका कारण ? अर्थात के गठबन्धनको निर्णय हुँदैमा सबै मतदाता नेतृत्वका दास भइरहन सक्लान् ? यस्तै–यस्तै जिज्ञासा नवीनका थिए । आफू जीवनभर कांग्रेस भएर रुखमा भोट हाल्न नपाउनू ? यस्तै यस्तै निरुत्साहमा उनी बगिरहे…।
तुलसीपुर बजारको अञ्जु स्वीटहाउस वा बजारकै भट्टराई बाजेको पेडा पसल सबै स्थानमा गठबन्धनको अन्योलका विषयमै चर्चा भइरहेको छ । अर्थात मिठाइ पसलमा नमिठा गफ…। नजित्नेहरुले पनि हिम्मत बटुल्दै छन्, गठबन्धनको आडमा, अर्थात यो त पार्टी सिस्टमको विपरीत होइन र ? यस्तै प्रश्न उठिरहेका छन् । ‘बरु मैत्रीपूर्ण प्रतिस्पर्धा भए हुन्थ्यो नि’, पेडा पसलमा सुनिएको आवाज हो, यो । एमालेले जिल्लाभरका वडाहरुमा करीब करीब उम्मेदवारी टुंग्याएर प्रचार–प्रसारमा जुटिरहँदा पाँच दलीय गठबन्धन यस्तै नमिठा गफमा गफिइरहेका छन् मिठाई पसलमा ।
नेपाली कांग्रेसको यो निर्वाचनको नारा भनेकै घर–घरमा जाऔं कांग्रेसलाई जिताऔं भन्ने थियो । यो एक महिने कार्यक्रम सकिन नपाउँदै फेरि कांग्रेस नेताहरु गाउँ जानेछन् र भन्ने छन्, यसमा त हाम्रो उम्मेदवार छैन, माओवादीलाई जिताऔं । यो भनिरहँदा उनीहरुले मतदाताबाट के जवाफ पाउने ? यसले पनि राजनीतिक बृत्तमा अर्को तरंग ल्याएको छ ।
निर्वाचन आयोगकै तथ्यांकमा यो बर्ष हुने निर्वाचनमा कम्तीमा ३६ लाख नयाँ मतदाता थपिएका छन् । अर्थात उनीहरु आफूले मन पराएको दलका नेतालाई चाहेको चुनाव चिन्हमा मतदान गर्नका लागि योग्य छन् । तर गठबन्धनले यो अवस्थालाई भताभुंग पार्न थालेको छ । उनीहरुलाई पार्टी आस्थाबाट पृथक राखिने छ । अर्थात कांग्रेस भएर पनि रुख चिन्हमा मतदान गर्न पाउने छैनन्, कम्युनिष्ट भएर पनि हसिया हथौडामा मतदान गर्न पाउने छैनन् ।
लामो समयसम्म स्थानीय तहका निर्वाचन र पार्टीका भातृ संस्थाहरुका अधिवेशनसमेत हुन नसक्दा विद्यार्थी राजनीति गर्ने व्यक्ति अहिले जनप्रतिनिधिको आकांक्षी बन्ने दाउमा छन् । तर उम्मेदवार बन्न उनीहरुलाई गठबन्धनले रोकेको छ, मतदान स्वेच्छाले गर्न पनि गठबन्धनले निराश बनाएको छ । एउटा पदलाई ५ दलमध्ये एकजनाले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछ, नमाने विद्रोही… ।
कति निराश छन्, मतदाता र उम्मेदवारका प्रत्यासी । न उम्मेदवारको टुंगो, नत चुनावचिन्हकै टुंगो । मनोनयनको समयसीमा आउन ५ दिन मात्रै बाँकी रहँदा पनि यो अन्योलपूर्ण अवस्थाले खासगरी कांग्रेस नेता कार्यकर्तामा बढी अलमल र अन्योलको अवस्था सृजना गरेको छ । नेतृत्वले कसिकसाउ गर्न सकिरहेको छैन । त्यसैले त सामाजिक सञ्जालहरुमा मनपरी अभिव्यक्तिहरु आइरहेका छन् ।
महिला नेतृत्व घट्ने निश्चित
तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखको जिम्मेवारी लिन चाहेकी महिला नेतृ सुष्मा लामिछाने गिरीलाई पार्टीले अघिल्लो बर्ष उपमेयरको उम्मेदवार बनाउन सकेन । अर्को चुनावका लागि अधैर्य प्रतीक्षा गर्दै उनको चार बर्ष बित्यो । यो बर्ष सायद उनले उपमेयरको उम्मेदवार पाउने चर्चा निकै थियो । तर जब गठबन्धनको कुरा आयो, प्रमुख वा उपप्रमुख पदमा पनि महिला नभए हुने रे, फरक दलले उम्मेदवारी दिएमा । यसले तुलसीपुरकी सुष्मा गिरीलाई मात्र होइन सयौं सुष्माहरुलाई सशंकित बनाएको छ ।
‘गठबन्धनले महिला नेतृत्वको अवसर कटौती हुनेमा हामीलाई सशंकित बनाएको छ, तर यसो हुनुहुँदैन भनेर हामीले पार्टीका विभिन्न समितिहरुमा लिखित ध्यानाकर्षण गराइसकेका छौ’, यही प्रशंगमा महिला नेतृ सुष्मा गिरीले भनिन्– ‘समावेशिताको सिद्धान्त र पार्टी सिस्टमप्रति हाम्रो पार्टीले गलत निर्णय गर्ने छैन ।’ आवश्यक परेको अवस्थामा महिलालाई नेतृत्वमा ल्याउन बाधा पु¥याउने प्रवृत्तिका विरुद्ध पार्टीमा र निर्वाचन आयोगमा महिलाहरुले देशव्यापी ध्यानाकर्षण गराउने र आन्दोलनका कार्यक्रमसमेत थाल्न सक्ने उनको अभिव्यक्ति थियो ।
यसअघिको निर्वाचन पद्धतिअनुसार कम्तीमा दशवटा पालिकामा उपाध्यक्ष पदमा महिलाहरुले नेतृत्व गर्ने अवसर पाएका थिए । महिलाहरु मतदानका लागि उत्साहित पनि थिए । तर अहिले दश पालिकामा गठबन्धनको कुरा चलिरहेका बेला महिलालाई प्रतिस्पर्धी बनाउने सन्दर्भमा गठबन्धन केही बोलेको छैन ।
यो अवस्थाले आसन्न निर्वाचनपछि महिला नेतृत्वको संख्यामा बृद्धि हुनुको साटो अर्थपूर्ण रुपमा कमी आउने पनि स्पष्ट संकेत देखिएको छ । सम्भवतः दश पालिकाका प्रमुखमा कुनै पनि पार्टीले महिलालाई उम्मेदवार बनाउने छैनन् भने गठबन्धनका नाममा उपप्रमुखमा उम्मेदवारी दिन पनि कञ्जुस्याइँ गर्ने एकजना महिला नेतृले बताएकी छिन् । जसले महिला मतदातालाई समेत निराश बनाएको छ ।
दलीय हैसियतमै समस्या
स्थानीय निर्वाचनमा समानुपातिक मतको मूल्यांकन नहुने तथा पाँच दलको एउटै उम्मेदवार बनाइँदा प्रमुख राजनीतिक दलहरु नै यो निर्वाचनमा कस्तो हैसियतमा रहने भन्ने पनि मूल्यांकन गर्न सहज हुने छैन । प्राप्त मत दलीय गठबन्धनको हुनेछ ।
कुन दलका कति मतदाता भन्ने अवस्थाकै अन्त गर्ने यो गठबन्धनले पार्टीलाई बलियो बनाउने कि कमजोर बनाउने वा अलमलमा पारिरहने ? ‘स्थानीय निर्वाचनमा हामीले यति मत पाएका हौं भनेर कुनै पनि दलले तथ्यांक प्रस्तुत गर्न सक्ने छैनन्’, एकजना कांग्रेस कार्यकर्ताले भने– ‘जुन पार्टी सिस्टमकै बर्खिलाप हो ।’