तुलसीपुर, ६ बैशाख । राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालको आयोजना बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । ‘प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा’ विभूषित तथा नेत्रज्योति प्रा.डा. रामप्रसाद पोख्रेल समाजसेवी सम्मान पुरस्कारबाट सम्मानित नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीलाई अस्पतालले बधाई ज्ञापन गरेको हो ।
नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य, दाङ शाखा सभापति तथा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गिरी नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उनले उल्लेखनीय योगदानको मूल्यांकन गर्दै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७८ सालको संविधान दिवस (राष्ट्रिय दिवस) का दिन विभूषण प्रदान गर्न घोषणा भएबमोजिम यही बैशाख १ गते सम्माननीय राष्ट्रपतिबाट सम्मानस्वरूप ‘प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा’ विभूषित हुनुका साथै नेपाल नेत्रज्योति संघ केन्द्रीय सभाको २७औं अधिवेशनको अवसरमा ‘नेत्रज्योति प्रा.डा. रामप्रसाद पोख्रेल समाजसेवी सम्मान’ पुरस्कार बाट सम्मानित तथा पुरस्कृत भएका थिए ।
बधाई कार्यक्रममा बोल्ने वक्ताहरुले गिरीको सम्मानले आफूहरुलाई पनि थप हौसला मिलेको भन्दै संस्थाको गरिमा बढेको बताएका थिए । प्रशासनिक समितिका संयोजक चिरञ्जीवी रिजालको अध्यक्षता सम्मानित तथा विभूषित व्यक्तित्व कृष्णकुमार गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै गिरीले सबैको साथ र सहयोगले अन्धोपन न्यूनीकरणमा महत्वपूर्ण भूमिका आफूहरुले खेलेको भन्दै राज्यले आफूहरुको कामलाई मूल्यांकन गरेको बताएका थिए ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका सचिव सुरेन्द्रबहादुर खड्का, सदस्य यमप्रसाद पाण्डे, लायन्स क्लवका एरिया चिफ ध्रुव गौतम, राप्ती आँखा अस्पतालका मेसु डा. सन्तोष सुवेदी, एकाडेमिक चिफ नेत्र विशेषज्ञ डा. सुरेश रसाइली, राप्ती आँखा अस्पतालका प्रशासक किरण पौडेल, नेत्र अधिकृत शालिकराम गौतमलगायत नेत्र विशेषज्ञ, कर्मचारी, विद्यार्थीहरुले बधाई ज्ञापन गरेका गिए ।
त्यस्तै लमही आँखा अस्पतालमा पनि प्रशासनिक समितिका संयोजक घनश्याम सुवेदीको अध्यक्षतामा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपसभापति रेशमबहादुर खड्का, चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाल, प्रमुख प्रशासक शमशेर थापा, दृष्टि विशेषज्ञ मदन चौधरीलगायतले बधाई ज्ञापन गरेका थिए ।