नेता लागे हात जोड्न, जनता कुरो मोड्न

मधुसूदन सुवेदी
अजको दिनदेखि बैशाख ३० गतेसम्म नेताले जनताको घर चिन्न दिन आयो । नेताले जनता गाउँ चिन्ने दिन आयो । नेताले जनताको ठाउँ चिन्ने दिन आयो । नेताले जनताको खेतबारी चिन्ने दिन आयो । नेताले जनताको धारा, कुलो, पानी चिन्ने दिन आयो । नेताले जनताको परिवार चिन्ने दिन आयो र नेताले जनताको दुःख, सुख बुझ्ने दिन आयो ।

नेताले जनताको कुरा सुन्ने दिन आयो । नेताले जनतालाई ढोग्ने दिन आयो । नेताले जनतालाई भोग्ने दिन आयो । नेताले जनताको समस्या सोध्ने दिन आयो । यो भन्दा पहिलेको स्थानीय तहको चुनावमा ज–जसलाई भोट हालेर, भोट खसालेर वा जसलाई चुनेर जिताइयो उसले आजको मितिसम्म एकपटक पनि आफ्नो भोटरको पिरमर्का बुझेन र दुःख, सुख सोधेन । अब चुनाव नजिक आयो, नेताको होस पलायो ।

आजसम्म कसले जितायो ? कसले पठायो ? कसले चुन्यो ? कसले भोट हाल्यो ? केही पनि पत्तो थिएन । मतलव थिएन । सरोकार थिएन र चिन्ता र चासो पनि थिएन । चुनाव अघि सार, थोक, सबथोक जानेको बुझे, थाहा पाएको, अभिनय गरेर भोट झारेर जितेर तर मारेर, मोटाउर आएपछि फेरि जनताको घर चिन्ने, धाउने, पत्ता लगाउने, हात जोड्ने र अनेक नाता, सम्बन्ध जोड्ने बेला भयो । अझै यही खेतीले नेताको भविष्य चल्ला ? पक्कै चल्ने छैन । ष्सपालि नेतालाई हात जोड्न पनि हम्मे, हम्मे होला । सहजै भोट माग्न पनि कठिन होला । सहजै आकर्षण गर्न पनि कठिन होला ।

किनभने जनता हिजोभन्दा आज धेरै हण्डर आइसके । दुई वर्ष कोरोनाको कहर भोगे । जनताका लागि नेताबाट हुने ठूलै लामको रहर देखे, सुने र भोगे । जनतालाई नेताले कुन कित्तामा राख्दछन् र कुन नजरले हेर्छन् भन्ने पनि भोगे । अब केवल दश औंला जोडेको भरमा भोट पाउने आशा बन्द गर । यही कोही नेता, अभिनेता वा पात्र नमस्कारको भरमा राजनीति गर्छ भने उसले सन्यास लिए हुन्छ । कुम्लो बोके हुन्छ । काँसीको बाटो लागे हुन्छ ।

कुनै गुन्जायस छैन । नेताले अब जनतासँग प्रत्यक्ष प्रतिबद्धतापत्र आयो, भिडायो, शैलीमा प्रस्तुत गर्नु पर्दैन र नेताबाट जनताले पाउने के हो ? त्यो पनि कति महिनाको भित्र हो ? त्यो सबै भन्नु पर्नेछ । किनभने प्रत्यक्ष लाज नमानी भोट बैंक खोल्नुपर्ने छ । अर्थात् भोट किन्नुपर्ने छ । विगतको मदानले काम नगरेपछि के गर्ने ? यदि दान दिएर वा दान गरेर राय मिलेन, फल मिलेन, ल्याए भएन, शुभ भएन, भलो भएन, सुख भएन, शान्ति भएन, सन्तोष भएन भने के गर्ने ?

फेरि पनि दान गरिरहने ? किन, कसलाई, केका लागि भोट दान गर्ने वा मतदान गर्ने ? दान दिएर न त दानवीरको सम्मान पइयो न त फल पाइयो । न त मान, सम्मान र इज्जत पाइयो न त केही न केही लाइयो वा खाइयो । यदि केही पनि भएन भने किन गर्ने दान ? किन गर्ने पुण्य ? किन गर्ने धर्म, नेतालाई भ्रष्ट भए पुग्ने, जनता सधैँ दानी बन्नुपर्ने ? संविधानमा त्यही लेखेको छ ? जनता सधैँ दानी हुनु र नेता सधैँ अजानी हुनु भनेर नेपालको संविधानमा लेखेको छ ?

नेता जति भ्रष्टाचार हुनु, जनता जति सदागर हुनु भनेर संविधानमा लेखेको छ ? होइन भने हाम्रो देशको लोकतान्त्रिक संविधानमा के लेखेको छ त ? नेता यति बिग्रिए कि भनि साध्य छैन । यति बिग्रेका नेताका अगाडि जनता किन सप्रिन पर्ने ? के कारणले सप्रिनु पर्ने ? त्यसैले अबको चुनाव जुनसुकै नेताका लागि पनि निकै महँगो हुने छ र पर्ने छ । अहिलेको चुनाव महँगो मात्र होयन जनता, नेता तथा कार्यकर्ताका लागि अग्निपरीक्षा, शिक्षा लिने र दिने उचित समय पनि बन्नेछ ।

किनभने विगतमा पाएको भोटलाई कसैले पनि सदुपयोग गर्न सकेनन् र आफ्ना मतदाताको सुख, दुःखमा सहयोगी हुन सकेनन् । जति पनि कठिन, डर लाग्दा, भय लाग्दा र सुन्नै, भोग्नै गाह्रो परिस्थिति आयो त्यो विगतको ५ वर्ष कार्यकालमा गर्न सक्नेका लागि यो ठूलो अवसर र मौका थियो तर सबै नेताले त्यो अवसर गुमाए । एउटा मुख छोप्ने मास्कमा समेत राजनीति गरे । दुई हात माड्ने सेनिटाइजरको एक सिसीमा समेत राजनीति गरे ।

कोरोनाको भूमा समेत राजनीति गरे । जनताको आँसु, पीडा, छटपटीमा समेत राजनीति गरे । विगतलाई सम्झने हो भने त नेताको “न” पनि मन पर्दैन । तथापि हामी कोही पनि राजनीतिबाट अलग छैनौँ । टाढा छैनौ र अछूतो छैनौा । त्यसैले पनि राजनीतिमा चिन्ता र चासो रहला तर त्यसको मूल्य अशुल उपर गरेर मात्र छाडिएला ? विगतमा गरेको मतदानको समीक्षा नगरेर फेरि मतदान गरिने छैन । जनताको अधिकार चुनावको बेला मात्र रहेछ भन्ने कुरा सबैमा चेतना भइसकेको छ ।

त्यसैले जनताको चेतनाको स्तर माथि उठिसकेकोले नेताका लागि यस पटक हम्मे–हम्मे नै पर्ला । कोराना पचाए र बचेका जनताले नेताको धम्कीलाई, किञ्चित मान्ने छैनन् कि त विवेक प्रयोग गर्लान् कि त भोट बैंक स्थापना गर्लान् । न त नेतालाई अडियो–भिडियो बनाउलान् तर केही नगरी मतदान अवश्य पनि गर्ने छैनन् । त्यसैले हरेक नेताले जनताका अगाडि हात जोड्दै जाँदा जनताले पनि विगतलाई सम्झाएर कुरा मोड्दै जानेछन् ।