कांग्रेसको सर्कुलर : वक्ता दुई जना चुनावी भाषण एक घण्टा

गोरक्ष समाचारदाता
काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसले स्थानीय चुनावको प्रचारप्रसारका कार्यक्रममा नेताका भाषणलाई धेरै समय खर्च नगर्न सर्कुलर पठाएको छ । टोलमा बढीमा एक घण्टाभित्रै भाषणका कार्यक्रम सक्नुपर्ने छ भने पालिकास्तरमा बढीमा दुई घण्टामा भाषण सक्नुपर्ने कांग्रेसको निर्देशन छ ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको चुनावी परिचालन समितिले टोल र वडामा एक घण्टा र पालिकास्तरका कार्यक्रममा दुई घन्टाभित्र भाषण सक्नु पर्नेछ । कांग्रेसले विभिन्न उपसमिति गठन गरेर चुनाव परिचालन गर्ने भएको छ । केन्द्रदेखि जिल्लामा प्रतिनिधि र सातै प्रदेशबाट पालिका स्तरमा प्रतिनिधि खटाउने निर्णय कांग्रेसको छ । साथै भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क, जिल्ला सम्बद्ध, अनुगमन तथा मूल्यांकन, निर्वाचन सुरक्षा निकाय, आचारसंहिता तथा अनुगमन उपसमिति गठन गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ ।

भ्रातृ संस्थाअन्तर्गत् नेविसंघमा एक सय सदस्यीय परिचालन समिति गठन गर्ने तयारी छ । केन्द्रमा नेविसंघमा एक जना, अध्यक्ष दुजाङ शेर्पा मात्रै छन् तर तल्ला तहमा नेविसंघलाई समेटेर परिचालन समिति गठन गर्न लागिएको छ । नेविसंघसहित सबै भ्रातृ संस्थाको टोल स्तरीय समिति गठन गरेर निर्वाचनमा खटिने कांग्रेसको आन्तरिक सर्कुलरमा उल्लेख गरिएको छ । कांग्रेसले चुनावी प्रचारका सभामा चार जनालाई मात्रै मञ्चमा आसन ग्रहण गराउने भएको छ । सभापति, प्रमुख अतिथि, गठबन्धन रहेका दलका प्रतिनिधि, उम्मेद्वारलाई आसन ग्रहण र अरूलाई सामूहिक आसन ग्रहण गराउन भनिएको छ ।

यस्तै कांग्रेसले चुनावी सभाका कार्यक्रमको ढाँचासमेत पठाएको छ । आसन ग्रहण, स्वागत मन्तव्य, राष्ट्रिय गान, मौन धारण, दुई वक्ताको मन्तव्य, सदस्यता वितरण र सभा विसर्जन ढाँचामा कार्यक्रम चलाउनु पर्नेछ । ‘प्रमुख वक्तालाई छिटो भाषण सक्न लगाएर फुर्सद दिनु पर्छ,’ कांग्रेसको निर्देशनमा भनिएको छ, ‘चुनावी सभालगायत स्थानीय स्तरका विज्ञ, शिक्षक, कर्मचारीलगायतसँग छलफल गर्ने समय दिइनु पर्दछ ।’

चुनावी सभा गर्दा आचारसंहिता उलंङ्घन नगर्न कांग्रेसको निर्देशन छ । ‘मञ्चमा ब्याच वितरण नगर्ने, चुनाव चिन्ह भएको टोपी, टिसर्ट, गम्छालगायतका सामग्री प्रयोग नगर्ने’, सर्कुलरमा निर्देशन दिइएको छ । गठबन्धनमा रहेका दलसँग तालमेल नभएका सभामा मात्रै पार्टी सदस्यता वितरण गर्नुपर्ने कांग्रेसको निर्देशन छ ।