के.पी. सुवेदी
नयाँ वर्षको आगमनसँगै चुनावी सरगर्मी ह्वात्तै बढेको छ । यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा एकातिर पार्टीको उम्मेद्वार छनोट प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको छ भने अर्कोतिर स्थानीय तहको नेतृत्व आफ्नो पोल्टामा पार्न कोसँग मिलेर जाँदा सजिलो पर्छ भन्ने खोजीमा विभिन्न दलसँग चुनावी गठबन्धन हुँदैछ ।
हुन त राजनीतिमा असम्भव भन्ने केही छैन भनिन्छ । यस्तै खालका कुर्सीमोह राख्ने मानिसको संख्या र तिनीहरुको मूलचरित्र यस्तै हुने भएकाले सबै सम्भावना खुला अवसरका रुपमा स्वीकार गरिएको होला । तर, राजनीति पनि चुम्बकीय शिद्धान्तजस्तै विपरीत ध्रुवहरु एकआपसमा टाँसिन्छन् भनेर कसरी विश्वास गर्नु ? एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद्को प्रतिनिधिसभा विगठन संसदीय लोकतन्त्रको खिल्ली उडाउने काम गरेबाट विकसित घटनाक्रमको निरन्तरताको रुपमा अगाडिका गतिविधि भइरहेका छन् भन्ने बुझ्नुपर्ने भएको छ । जसरी पनि संसदीय लोकतन्त्र र संविधानको रक्षाका लागि जस्तो पनि गठबन्धन स्वीकार्य भयो होला ।
भवितव्य भनेको काबुमा हुन नसकेको परिस्थिति भएकाले त्यसलाई स्वाभाविक ठानियो होला । भवितव्यमा गरिएको काम गल्ती नै ठहरेको अवस्थामा पनि सजायबाट उन्मुक्ति पाउन सक्छ । नभए थोरै सजाय हुन सक्छ तर त्यो छुट सधैँका लागि हुन सक्तैन । यदि सत्ताको शक्तिलाई दुरुपयोग भएको छ भने त्यसको जवाफ कुनै दिन नदिइ सुख पाइँदैन ।
नेपाली कांग्रेसले विशिष्ट परिस्थितिमा माओवादीजस्तो विपरीत सिद्धान्त र विपरीत विचारधारा सहित स्पष्ट साम्यवादी दर्शनलाई पथप्रदर्शक सिद्धान्त मानेर राजनीतिक सम्बन्धको परिभाषा गर्ने पार्टीसँग सत्ता साझेदारी गर्ने बाध्यता थियो । देश सरकारविहीन अवस्थामा रहन नदिन गरिएको परिस्थितिलाई सधैँ यस्तै उपयुक्त मानेर यही अवस्थामा रमाउन खोज्नु गलत हो । गलत तबसम्म सही हुनसक्छ जबसम्म गल्ीत गर्नेको हातमा असीमित शक्ति रहिरहन्छ ।
शक्तिबाट ओर्लनेबित्तिकै उसको दयनीय अवस्थाको कल्पना मात्र पनि निकै कष्टकर लाग्दछ । किनभने यस्तो गठबन्धन या सम्बन्ध अप्राकृतिक तथा अवैज्ञानिक हुने हुँदा यस्तो सम्बन्धले सुखद् भविष्य निर्माण गर्न सर्वथा असम्भव हुन्छ । फेरि यस्तो सम्बन्ध प्रयोग गरेर, फेल भएर धोका खाएको स्मरणीय ऐतिहासिक तथ्यहरु छन् । अझै अगाडिको इतिहास हेर्ने हो भने लोकतन्त्र संस्थागत भइ नसकेको अवस्थामा गरिएका निर्वाचनहरु कांग्रेसका लागि जोखिमपूर्ण थियो ।
त्यस्तो बेला आत्मविश्वास लिएर एक्लै लडेको पार्टी तालमेलको वहानामा आफ्नो जनमतलाई नकारेर पटक–पटक धोका खानु बुद्धिमानी मानिँदैन । विषय एउटा पार्टीको मात्र होइन दुइदिन अघिसम्म ‘लौ ! को–को गठबन्धन लिएर आउँछौ आउ, हामी एक्लै लड्न सक्षम छौँ’, भनेर घुर्की लाएका नेकपा एमालेका अध्यक्ष ओली पनि त्यस्तै केही नमिल्ने प्रतिगामी, उग्र दक्षिणपन्थि भन्ने आफ्नो परिभाषालाई कुल्चेर राप्रपा नेपाल र परिवार दलसँग तालमेल गर्न पुगेका छन् ।
लोकतन्त्रमा दर्शनमा आधारित विचारको प्रतिस्पर्धा हुनु पर्छ । समानता र स्वतन्त्रताको मार्गचित्रमा जनतालाई आश्वस्त गर्ने लिखित प्रतीज्ञा गरेर जनताको बीचमा जाने आवधिक परीक्षा हो, निर्वाचन । सिद्धान्त त एकल परीक्षा स्वरुप स्पर्धा प्रतिद्वन्द्वीसँग मिलेर जाँदा लोकतन्त्र कहाँ बाँच्न र संविधानको रक्षा कसरी हुन्छ ? यो बुझ्न नसकिने भयो । यति ठूलो राजनीतिक भ्रष्टाचार किन गरेको ? पक्कै पनि यसको उद्देश्य अपवित्र होला । त्यसको सुरुवात अभिव्यक्तिले मात्र होइन कर्मले पनि सुरु भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुँदाको परिस्थिति सधैँ रहन सक्तैन र त्यसलाई बहाना बनाएर जनताको चाहना र भावनाविपरीत मत परिवर्तन गर्न लगाउनु राजनीतिक भ्रष्टाचार हो । यसबेला त राजनीतिक दलबाट र दलका प्रतिनिधिहरुबाट आफ्नो जनपक्षीय प्रतीज्ञाको प्रतिस्पर्धा चल्नुपथ्र्यो । यसकारण हाम्रो पार्टीलाई मतदिनुहोस् भनेर पार्टीको यस अघिको नीतिमा रहेका कमजोरी हटाउने र आगामी नीति आर्थिक, सामाजिक, राजनीतिक सबै हिसावबे उत्कृष्ट रहने कुराको प्रत्याभूति दिने हुनुपर्ने हो ।
निर्वाचन आचारसंहिता लागू भइसक्यो, विभिन्न तहका सरकारहरु जनप्रतिनिधिको सुविधा बढाउने निर्णय गर्दै छन् । कतिपयले गरिसकेका छन् । गठबन्धनले यही प्रवृत्तिलाई प्रोत्साहन गरिरहेको छ । सत्तामा गए मनपरी गर्नैपर्ने र सत्ता बाहिर एकछिन बस्न नसक्ने संस्कृतिको विकास गरिएको छ । गणतन्त्रमा ग्रहण लगाउने काम गणतन्त्रका मसिहाहरुले गरिरहेका छन । आजभोलि प्रचण्डले भनिरहेका छन्, ‘परिवर्तन उल्टाउनेहरु सक्रिय भए’ । अर्कातिर राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित भएपछि गणतन्त्रको आयु सिद्धियो भन्दैछन् । कुरा सुन्दा साच्चै त्यस्तै भइरहेको छ कि भनेर शंका गर्नेको पनि कमी छैन ।
प्रचण्डको अभिव्यक्तिले लिङ्देन हौसिएको पक्कै हो । किनभने प्रचण्डले आफूलाई गणतन्त्रको संरक्षक ठान्ने हो भने यस्तो बोल्नु शोभनीय हुँदैन । कसको सहानुभूति लिन यस्तो बोलेका हुन् या कांग्रेसबाट गठबन्धनको बहानामा धेरै प्रतिनिधि जिताएर पुरानै अवस्थामा ल्याउन सकिन्छ भन्ने उद्देश्य अनुरुप बोलेका हुन् ? जेसुकै उद्देश्य किन नहोस् अहिलेको परिवर्तन प्रचण्डको आंशिक योगदानमा सग्लो योगदान कांग्रेसको हो र कांग्रेसको जनमत विथोल्ने कुचेष्टाबाट अभिप्रेरित भएका हुन भने त्यस्तो दुःस्वप्न नदेख्नमै कल्याण होला ।
मृगको छाला ओढेको ब्वाँसोको भेषधारी जोकोही पनि काँधमा बोकेर हिड्ने आत्मघाती काम कांग्रेस नेतृत्वले नगरोस् । जहाँसम्म लिङ्देनको कुरा छ, प्रष्ट हुनुपर्छ । समसानघाटमा जलेर खरानी भएको चीज म व्युझाउँछु भनेर कसैले भन्यो भने त्यसको मानसिक अवस्थामा शंका गर्ने हो, बोल्ने छुट सबैलाई छ ।