एबीसी एकेडेमीमा दीक्षान्त समारोह

गोरक्ष समाचारदाता
दाङ, ४ चैत । एबिसी एकेडेमी मन्टेश्वरीले दीक्षान्त समारोह सम्पन्न गरेको छ । विद्यालयले शनिवार एक कार्यक्रमको आयोजना गरी प्रि–टु का बालबालिकालाई दीक्षान्त गरिएको हो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्दप्रसाद न्यौपानेको अध्यक्षता तथा नेपाली कांगेसका राष्ट्रियसभाका प्रमुख सचेतक अनिता देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि देवकोटाले देशको शिक्षा क्षेत्रमा निजी क्षेत्रका विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

राष्ट्रका लागि योग्य, सक्षम र शिक्षित नागरिक उत्पादनमा निजी विद्यालयहरूले खेलेको भूमिकाले गर्दा नै अहिले नेपालको शिक्षा क्षेत्रमा धेरै सुधार हुँदै गएको उनको भनाइ रहेको थियो । ‘शिक्षा स्वास्थ्य राज्यको जिम्मेवारी हो तर पनि राज्यले भूमिका निर्वाह गर्न नक्दा निजी क्षेत्रले पनि सहयोग गर्दै आएका छन्’, उनले भनिन् ।

मानव विकासको महत्वपूर्ण सूचकको रूपमा रहेको शिक्षा क्षेत्रको विकासमा सबै मिलेर अगाडि बढ्नु पर्ने देवकोटाको भनाइ रहेको थियो । अभिभावकहरूले बालबालिकाहरूलाई विद्यालय पठाएर मात्र नहुने भन्दै आप्mनो जिम्मेवारी बहन गर्न सक्नुपर्ने उनले बताइन् ।

कार्यक्रममा घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत नारायणप्रसाद पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विद्यालय, शिक्षक र अभिभावक बीचको सम्बन्ध सुमधर बनाउँदै अगाडि बढ्नु पर्ने बताए । बालबालिकाको शैक्षिक विकासमा ध्यान दिन समेत उनले आग्रह गरे । दीक्षान्त समारोहमा बालबालिकाहरूले आ–आफ्नो सिर्जनात्मक प्रस्तुती राखेका थिए । एकेडेमीका शिक्षक मिना वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीहरूलाई विद्यालय व्यवस्थापन समिति सदस्य मिनराज घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक ममता वलीले गरेकी थिइन् ।