Goraksha

National Daily

डढेलोको उच्च सन्त्रास

केही वर्ष अघिदेखि न्यून हुँदै गएको सामुदायिक तथा सरकारी वन क्षेत्रमा डढेलो लाग्ने क्रम यो वर्ष ह्वात्तै बढेको छ । अत्यन्तै सुख्खा गर्मीसँगै हवाहुरी समेत फैलिन थालेका बेला सुरु भएको डढेलो एकपछि अर्को गरी वन क्षेत्रमा फैलिरहेको छ । अघिल्लो सातादेखि सुरु भएको डढेलोले जिल्लाको कति वन क्षेत्र सखाप बनायो भन्ने एकीन तथ्याङ्क आएको छैन ।

यद्यपि, डढेलो नियन्त्रणका उपायहरु अवलम्बन गराउने सम्बन्धित निकाय समेत आगजनीका सन्दर्भमा वेखबर बन्दै मौन प्रायः रहेका छन् । जिल्ला वन कार्यालय, ईलाका वन, सेक्टर वन, रेञ्जपोष्ट, सामुदायिक वन उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासंघलगायतका निकाय जिम्मेवार बन्न नसक्दा वन क्षेत्रमा डढेलो फैलने क्रम तीव्र छ । त्यो सँगै हवाहुरीको प्राकृतिक प्रकोप समेत बढ्न थालेपछि कहीँकतै उपभोक्ताहरुले चाहेर पनि वन क्षेत्रको डढेलो नियन्त्रणमा ल्याउन सकेका छैनन् । पहाडी क्षेत्रका भिरालो वन क्षेत्र आगजनीको उच्च जोखिममा छन् । यही क्रममा डढेलो फैलँदै गएमा जिल्लाको धेरै वन क्षेत्र डढेलोले सखाप पार्ने छ ।

वनमा आगजनी भइरहँदा त्यहाँको जैविक विविधता मात्रै ध्वस्त भएको छैन, त्यहाँ आस्रित पशुपक्षी तथा जलचर र जंगली जनावरहरु समेत डढेलोमा जलेर मर्न थालेका छन् । वातावरणीय विनाशसँगै बढेको वायुप्रदूषणले वायुमण्डल नै प्रदूषित भएको छ । यसले मानव स्वास्थ्यमा समेत गम्भीर प्रभाव पर्न थालेको छ । मानिसहरुमा समेत डढेलोबाट आएको धुवाँको प्रदूषणले दम, टिबी तथा अन्य घातक शारीरिक समस्या ल्याउन सक्ने समेत चिकित्सकहरुले चेतावनी दिएका छन् ।

यसबाट निकासा पाउने एउटा मात्रै उपाय भनेको हाल जलिरहेको डढेलोलाई नियन्त्रणमा लिएर सम्भावित क्षेत्रमा फैलन नदिनु मात्रै हो । यसमा एउटै निकायको पहलले मात्र सम्भव छैन । आवश्यकताअनुसार राज्यका सबै निकायहरु यसमा परिचालन हुन पनि जरुरी छ । पाँच वर्ष अघि दाङ जिल्लालाई शून्य डढेलोको अवस्थामा झारिएको थियो । सामुदायिक वन उपभोक्ताहरुले डढेलो जोगाउन अग्निरेखाको निर्माणसँगै सामुदायिक वनमा गस्ती तथा आगजनी भइहालेको अवस्थामा पनि सुरुआती चरणमै निभाएर नियन्त्रणमा ल्याउने अभ्यास गर्दथे ।

जिल्ला वन कार्यालयले विभिन्न डिभिजन, सेक्टर र रेञ्जपोष्टमार्फत् डढेलो न्यूनीकरणका लागि एक महिना अघिदेखि नै सचेतना अभियान सञ्चालन गर्ने गरेको थियो । जसले आम नागरिकलाई जिम्मेवार बोध बनाएको थियो । आगजनीको सम्भावनालाई न्यून बनाएको थियो तर पछिल्लो समयमा जिल्ला वन कार्यालयमार्फत् डढेलो नियन्त्रणका सन्दर्भमा कुनै पनि कार्यक्रम ल्याएको छैन ।

सचेतनाका कार्यक्रमहरु कमजोर भएका कारण वन क्षेत्रमा डढेलो लाग्ने क्रम फेरि ह्वात्तै बढेर आएको छ । यो अवस्थामा सबै सरोकारवाला निकायहरुले हातेमालो गरेर सचेतना अभियान फैलाउन आवश्यक छ । यदि सम्भव छ भने अझै पनि उपभोक्तामार्फत् हरेक उच्च जोखिमका क्षेत्रमा समयमै अग्निरेखा बनाउन आवश्यक छ । वर्षेनी सल्कने डढेलोको प्रकोप न्यूनीकरणमा सबै जुटौँ । ढडेलोबाट हुने क्षति न्यून गरौँ ।