कम्लहरी मुक्तिसँगै अधिकार र आत्मनिर्भरताका लागि संघर्षरत सुनिता चौधरी उमेरले करिब तीन दशकको नजिक पुग्दै छिन् । घरको कमजोर आर्थिक अवस्थाका कारण ८ वर्षको उमेरमा साहुको घरमा कम्लहरी जीवन बिताएकी चौधरीले मुक्तिपछिको समय आपूmजस्तै कम्लहरी जीवन बस्न बाध्य दिदीबहिनीहरूको उद्धारसँगै अधिकारका लागि लड्दै आएकी छिन् ।
पढाइमा मध्यम भए पनि सानै उमेरदेखि नेतृत्वदायी भूमिका र स्पष्ट बोल्नसक्ने क्षमताका कारण उनी छोटो समयमै कम्लहरी मुक्तिको नेतृत्वमा पुग्न सफल भइन् । मुक्त कम्लहरीका क्षेत्रमा काम गर्ने सस्थासँगै आपूmजस्तै दिदीबहिनीले स्थापना गरेको मुक्त कम्लहरी विकास मञ्चको जिल्लादेखि केन्द्रीय अध्यक्षका रूपमा काम गरिसकेकी उनलाई गोरक्ष दैनिकको साप्ताहिक खुसी स्तम्भका लागि कुरा गर्दैगर्दा आफ्नो पहिलो खुसीका रूपमा कम्लहरी मुक्तिपछि पहिलो पटक किताबसँगै कलम र कापी हात पर्दाको क्षणलाई सम्झन्छिन् । जुन अवसर उनलाई कम्लहरीहरूको उद्धारका लागि काम गरिरहेको संस्था नेपाल युथ फाउण्डेशनले जुराइदिएको थियो ।
‘घरको आर्थिक अवस्था कमजोर भएका कारणले पढ्ने वातावरण थिएन । घोराहीमा दुई वर्षदेखि कम्लहरीका रूपमा काम गर्न बसेको थिएँ । त्यो समय साहुको घरमा काम गरेर बिताउनु पथ्र्यो । थारू समुदायका चेलीहरू बेचिनुपर्ने बाध्यता भएकाले, जसले धेरै पैसा दिन्छ त्यसैको घरमा जानुपर्ने हुन्थ्यो । मलाई पनि बुबाले घोराहीबाट बुटवल पठाउने तयारी गर्नुभएको थियो । मलाई भन्नुभएको पनि थियो, माघीमा घर जाँदा खुसीको अनुभव भए पनि फेरि बुटवल जानुपर्ने बुबाको कुराले पिरोलिरहेको थियो ।
त्यही समयमा गाउँमा कम्लहरी बस्ने आपूmजस्तै दिदीबहिनीलाई छोड्न लगाएर पढाउनका लागि प्रौढ शिक्षाको कक्षा चलेको रहेछ । म घर गएपछि गाउँकै एक जना दाइ आएर मलाई सम्झाउनु भयो तर मैले भनेर मात्र हुँदैन थियो ।त्यसैले दाइले बुबासँगै घरपरिरवारलाई सम्झाएर मलाई गाउँमै प्रौढ शिक्षा पढ्ने अवसर जुराइदिनुभयो । माघी मानेर अर्काको घरमा काममा जाने सोचले बसेकी मलाई पढ्नका लागि पहिलो पटक हातमा किताबसँगै कापी र कलम थमाइदिँदाको क्षण जीवनको पहिलो खुसीको क्षण हो – सुनिताले बताइन् ।
‘माघीपछि साहुँको घरमा काम गर्न जानुपर्ने सोचले बसेको थिएँ, त्यहीअनुसार माघी मान्न घर गएको थिएँ’, उनले भनिन, ‘त्यही समयमा गाउँमा एफएनसी संस्थाले कम्लहरी मुक्तिको अभियान चलाएको रहेछ । कम्लहरी बस्न जान छोडेकालाई पढ्न प्रौढ कक्षा समेत चलाएको थियो । त्यही प्रौढ कक्षामा पहिलो पटक पढ्नका लागि किताबसँगै कापी र कलम पाउँदा म धेरै खुसी भएको थिएँ ।’
प्रौढ शिक्षाबाट औपचारिक पढाइ सुरु गरेकी चौधरीले निरन्तर पढ्दै गइन् । घरको कामसँगै पढाइलाई अघि बढाइन् । त्यही बीचमा आपूmजस्तै कम्लहरी दिदीबहिनीहरूको सचेतनासँगै उद्धारमा समेत लागिन् । पढाइप्रति रुचि भए पनि सामान्य परिवार भएकाले पढ्न समस्या थियो । त्यही क्रममा एसएलसी परीक्षा आयो । कम्लहरीका लागि सहयोग गर्ने संस्थाहरू क्रमशः पढ्दै गए । एफएनसी, नेपाल युथ फाउण्डेशनसँगै स्वान संस्थाले पनि सहयोग गर्न थाले । हामी पढाइमा कमजोर भएकाले एसएलसीमा ट्यूशनका लागि मावि वनगाउँ स्कूलको होस्टेलमा बसेर पढ्न थाल्यौँ ।
त्यहाँ बस्ने र पढ्नका लागि स्वानले सहयोग गरेको थियो । जीवनमा केही गर्नका लागि पढ्नुपर्छ भन्ने सोच भएकी उनले फलामे गेटका रूपमा रहेको एसएलसीका लागि राम्रो तयारी गरिरहेकी थिइन् । पढाइमा मध्यम खालको भएकाले सरहरूले पनि मिहिनेत गर्न आग्रह गरिरहेका थिए । जसले गर्दा उनलाई थप उर्जा मिलिरहेको थियो । उनले माध्यमिक विद्यालय चैनपुरबाट एसएलसी दिइन् र सेकेण्ड डिभिजनमा पास पनि भइन् ।
फलामे गेटका रूपमा रहेको एसएलसी पास गर्दाको क्षण जीवनको अर्काे खुसी भएको बताइन् । ‘प्रौढ शिक्षा पढाइको जग भएकाले राम्रो गर्न सकेको थिइनँ तर हिम्मत चाहिँ पास गर्छु भन्नेमा थियो’, उनले भनिन्, ‘पढाउने सरहरूले एसएलसी पास गर्नका लागि मिहिनेत गर्न आग्रह गरिरहनुभएको थियो, मैले पनि मिहिनेत गरेँ र परीक्षामा सेकेण्ड डिभिजनमा पास गर्न सफल भएँ । त्यो क्षण मेरो अर्काे खुसीको क्षण हो ।’
एलएलसी गरेपछि गढवामा रहेको जनता माध्यमिक विद्यालयबाट प्लस टु पास गरेकी चौधरी उच्च शिक्षाका लागि घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भइन् । प्लास टु अध्ययनका क्रममा करिब चार वर्ष एफकिडिएफमा चार वर्ष सामाजिक परिचालकका रूपमा काम गरिन् । कामले पढाइलाई अघि बढाउन सहयोग मिल्यो । कम्लहरी मुक्तिको आन्दोलनका क्रममा २०६६ सालमा मुक्त कम्लहरी विकास मञ्च संस्था स्थापना भएको थियो ।
संस्था स्थापना भएको दोस्रो वर्ष पनि सदस्य भएकी थिइन् । चार वर्षपछि जागिरेका रूपमा होइन अब कम्लहरी दिदीबहिनीको नेतृत्व गर्नुपर्छ भन्ने मनसायले चार वर्षदेखि गरिरहेको जागिर छोडेर पहिलो पटक २०७३ सालमा मुक्त कम्लहरी विकास मञ्च दाङको अध्यक्ष भइन् । तर जिल्लामा बसेर काम गर्न सक्ने अवस्था नरहेपछि २०७४ सालमा मुक्त कम्लहरी विकास मञ्चको केन्द्रीय अध्यक्षमा निर्वाचित भइन् ।
सर्वसम्मतिमै नेतृत्व चयन गर्नुपर्ने कुरा थियो तर सहमतिमा नेतृत्व चयन हुन नसकेपछि पहिलो चरणमा अध्यक्षका लागि चार जनाका बीचमा मतदान भयो । पहिलो चरणमा अध्यक्षको टुङ्गो नलागेपछि दोस्रो पटक निर्वाचन भएर म मञ्चको केन्द्रीय अध्यक्ष बन्ने अवसर पाएँ । ‘लामो समयदेखि कम्लहरीहरूको अधिकारका लागि संघर्ष गरिरहेकाले धेरै दिदीबहिनीहरूले विश्वास गरेर मलाई अध्यक्षमा निर्वाचित गराउनुभयो’, उनले भनिन, ‘त्यो क्षण मेरो जीवनको अर्को एउटा महत्वपूर्ण खुसीको क्षण हो । जुन क्षण कहिल्यै भुल्न सक्दैन ।’
संस्थामा आबद्ध भएर उनले संस्थाका लागि जग्गाको खोजी, भवनका लागि सांसद् शान्ता चौधरीसँग कुरा गरेर ८० लाख रूपैयाँ बजेट पारेर भवन समेत आफ्नै कार्यकालमा तयार गरेको बताइन् । त्यति मात्र नभएर बाँके र कैलालीमा समेत शाखाका लागि जग्गा छनोट, मुक्त कम्लहरी दिदीबहिनीहरूलाई परिचय–कार्ड दिन सुरु गरेसँगै संस्थाको रेकर्डमा रहेका बेपत्ता कम्लहरी दिदीबहिनीको खोजीको काम समेत सुरु गरेको उनले बताइन् ।
जसमध्ये अधिकांशको पहिचान भएका थिए भने चार जना दिदीबहिनीहरू अहिले पनि बेपत्ताको लिस्टमा हुनुहुन्छ । उनले आफ्नो कार्यकालमा कम्लहरीहरूलाई आय आर्जनमा जोड्नका लागि तालिम, व्यवसाय सञ्चालनका लागि सामग्री र घुम्तीकोष मार्फत् पैसा समेत सहयोग गर्ने वातावरण मिलाएको बताइन् । २०६६ सालमा माध्यमिक विद्यालय चैनपुरमा कक्षा दुइमा भर्ना भएर औपचारिक कक्षा सुरु गरेकी उनले त्यस अघि ६ महिना गाउँमा प्रौढ शिक्षा पढेकी थिइन् ।
माध्यमिक विद्यालय चैनपुरबमा कक्षा २ मा भर्ना भएर एसएलसी पास गरेकी उनले जनता उच्च माध्यकि विद्यालय गढवाबाट प्लस टु अध्ययन गरेर अहिले घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसबाट बिएको अन्तिम परीक्षा दिएर नतिजाको प्रतीक्षामा छिन् । कम्लहरी मुक्तिका लागि २१ वर्षदेखि संर्घषरत सुनिता चौधरी २०५० साल भदौ १५ गते देउखुरीको गढवा गाउँपालिका–५ धर्मापुरमा बुबा दधिराम चौधरी र आमा हिरामती चौधरीको कोखबाट जन्म लिएकी थिइन् । चार दिदीबहिनी र दुई भाइमध्ये उनी माइली छोरी हुन् ।
२०७४ सालमा राजपुर गाउँपालिका निवासी हिक्मत चौधरीसँग वैवाहिक जीवनमा बाँधिएकी थिइन् । उनको अहिले सुहाना छोरी छिन् । मुक्त कम्लहरी विकास मञ्चको केन्द्रीय अध्यक्षका रूपमा काम गरिसकेकी उनले एक वर्ष मुक्त कम्लहरी विकास मञ्च दाङको अध्यक्षलगायत संस्थाका विभिन्न पदहरूमा बसेर काम समेत गरिसकेकी छिन् ।
प्रस्तुती : लिलाधर वली