दाङ ३० चैत । प्रेस चौतारी दाङले स्थानीय तहको चुनावलाई लक्षित गरेर जिल्लाका दशै पालिकामा सञ्चार डेस्क स्थापना गर्ने भएको छ । चौतारी दाङको बुधवार बसेको बैठकले दशपालिका र पालिकाहरुलाई समन्वय गर्न जिल्लास्तरीय छुट्टै सञ्चार डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।
त्यसैगरेर बैठकले एक वडा एक चौतारी अभियानको समीक्षा गर्दै बाँकी ५ पालिकामा बैशाख २ गते प्रशिक्षण र पालिकास्तरीय कमिटि गठन गर्ने निर्णय गरेको छ । यस अघि जिल्लाका घोराही, उपमहानगरपालिाक, बबई, शान्तिनगर, बंगलाचुली राप्ती गाउँपालिकामा चौतारीको पालिकास्तरीय कमिटि गठन गरिसकेको छ ।
बैठकले कमिटि गठन र प्रशिक्षणको सहजिकरणका लागि चौतारीका केन्द्रीय सदस्यहरु टीका बस्नेतलाई लमही नगरपालिका, गणेश आचार्यलाई तुलसीपुर उपमहानगरपालिका, दंगीशरणमा सन्तोष दहित र गढवा गाउँपालिकामा रीता लामालाई प्रतिनिधिको रुपमा पठाउन अनुरोध गर्ने र राजपुर गाउँपालिकामा चौतारी दाङका अध्यक्ष इन्द्र डिसीलाई जिम्मा दिने निर्णय गरेको छ ।
त्यसैगरेर प्रचार सामाग्री निर्माणको लागि केन्द्रीय सदस्य टीका बस्नेतको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा दुर्गालाल केसी, जे एन सागर, बसन्त आचार्य, रञ्जिता शर्मा, छवि पुरी र निमुसंगम घर्ती छन् । त्यसैगरेर बैठकले चौतारी दाङको महिला विभागको भेला बैशाख १० भित्र गर्ने र प्रेस चौतारी लुम्बिनी प्रदेश कमिटिको आयोजनामा वैशाख ५ गते कपिलवस्तुमा हुने प्रचार भेलामा सहभागिता जनाउने निर्णय गरेको छ ।
बैठकमा प्रेस चौतारी नेपालको नवांै महाधिवेशन र लुम्बिनी प्रदेश कमिटिको प्रथम अधिवेशनबाट जिल्लाबाट निर्वाचित पदाधिकारी, सदस्यलाई स्वागत सम्मान पनि गरिएको थियो । बैठकमा चौतारीका पालिका संयोजकहरुले पालिकामा संगठनले गरेको कामको रिपोटिङ गरेका थिए ।
बैठक चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षता एवम संगठनका केन्द्रीय उपाध्यक्ष सविन प्रियाशनको प्रमुख आतिथ्य र नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।
बैठकमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य शरद अधिकारी, चौतारीका केन्द्रीय सदस्यहरु टीका बस्नेत, गणेश आचार्य, सन्तोष दहित, रीता लामा, चौतारी दाङका सल्लाहकार रञ्जिता शर्मा र चौतारी दाङका नेता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी लगायतले मनतव्य राखेका थिए । बैठकको सहजिकरण चौतारी दाङका सचिव गौतमले गरेका थिए ।