प्रदेश सरकारको निर्णय : दाङ सहित ३ स्थानमा कोरोना परीक्षण
दाङ १७ चैत । प्रदेश नं. ५ सरकारले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित प्रदेशका ३ स्थानमा प्रयोगशाला स्थापना गरी कोरोना संक्रमणको परीक्षण थाल्ने निर्णय गरेको छ । आज सोमबार बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले दाङको स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै तीनै स्थानमा तिन दिन नै प्रयोगशाला स्थापना गरी परीक्षण शुरु गर्ने निर्णय गरेको हो ।
दाङसहित नेपालगञ्जको भेरी अस्पतालमा र भैरहवाको गहुँबाली अनुसन्धान केन्द्रको परिषरमा प्रयोगशाला स्थापना गरिने भएको छ ।
त्यसैगरी प्रदेश सरकारले सिमानामा रोकिएका नेपालीलाई स्वदेश ल्याउने, कृषिउपज भित्राउनका लागि सहजिकरण गर्ने लगायतका सन्दर्भमा पनि आबश्यक निर्णय लिएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर के.सी.का अनुसार मन्त्रीपरिषदका निर्णयहरु निम्न बमोजिम छन् ।
१) सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने । ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपीनको व्यवस्था गर्ने ।
२) निमार्ण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने, त्यसका लागि यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने, सम्बन्धित निमार्ण कम्पनीले गाडीको व्यवस्था गर्ने ।
३) खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायत गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने ।
४) एम्बुलेन्स चालकका लागि १२ वटै जिल्ला प्रशासन कार्यालयमा पिपिई पठाइएको छ । एम्बुलेन्स चालकलाई पिपिई उपलब्ध गराउने काम प्रमुख जिल्ला अधिकारीले गर्ने ।
५) प्रदेश ५ मा तीन वटा प्रयोगशाला स्थापना गर्ने । भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसरमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नेपालगञ्जको भेरी अस्पतालमा । तीनदिनभित्र प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु गर्ने ।
