Goraksha

National Daily

मजदूरको सन्चो बिसन्चो सोध्दै खाद्यान्न बितरण

शिबराज खनाल

लमहि चैत्र १७ । लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले ब्यक्तीगत लगानीमा खाद्यान्न बितरण गरेका छन् । वडाबासीहरुलाई सन्चो बिसन्चो सोध्दै उनले आफ्नो ब्यक्तीगत लगानीमा ५ क्विन्टल खाद्यान्न (चामल) बितरण गरेका हुन् । उनले वडा अन्तरगतका नयाँबस्ती, कप्तानगञ्ज र जनकपुरका अति बिपन्न तथा ज्याला मजदुरीमा भर पर्ने करिब ४० घरधुरीलाई खाद्यान्न बितरण गरिएको हो ।

‘लकडाउनको पालना गर्दै सुरक्षित बस्नुस्, समस्या परे मलाई सम्झिनुस्’ वडाध्यक्ष गिरीले भने-‘म सधै हजुरहरुको सेवामा समर्पित छु ।’ वडाबासीलाई मात्र होईन वडाध्यक्ष गिरीले अनेत्र बसोबास गर्ने तर वडा अन्तरगतका गाउँहरुमा आएर लकडाउनमा परेका करिब २३ जनालाई पनि खाद्यान्न बितरण गरेका छन् ।

उनले घुमन्ते कपडा ब्यबसायी ९ जना भारतिय नागरिकलाई पनि खाद्यान्न बितरण गरेका छन् । लकडाउनसँगै उनिहरुको ब्यबसाय पनि ठप्प हुँदा ती व्यापारिहरु समस्यामा परेका थिए ।
‘बस्नको लागि कोठा भएपनी बांच्नको लागि खाना चाहिन्छ, त्यही नभए ज्यान कसरी बचाउनेर?’ भारतिय नागरिक ताज महम्मदले भने-‘प्रधानजी लाई धन्यबाद छ ।’

उनिहरु जस्तै रोल्पाका १४ जनालाई पनि खाद्यान्न हस्तान्तरण गरिएको छ । आफन्तीको शुद्दशान्तीका लागि आएका उनिहरु लकडाउनमा परी यतै बसिरहेका छन् । सुनिल स्मृती गाउँपालिका रोल्पा निवासी ५५ बर्षिय मोतीलाल पुन मगरले वडाध्यक्षले दिएको खाद्यान्न बुझ्दै भने-‘यस्तो मनकारी जनप्रतिनिधि त भाग्यमानी वडाबासीले मात्र पाउँछन् ।’