तुलसीपुर, २१ चैत । नेपाली कांग्रेसले वडाध्यक्षका उम्मेदवार सिफारिस गर्न तीन दिनको समय दिएको छ । चैत २१ भित्र वडाध्यक्षका आकांक्षीका नाम पार्टीको उपल्लो तहमा पठाइसक्नुपर्ने हुन्छ । कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै उम्मेदवार सिफारिसको तालिका पठाएको छ ।
केन्द्रका परिपत्रअनुसार जिल्ला कार्यसमितिले वडा कार्यसमितिलाई वडाध्यक्षका उम्मेदवारको सिफारिस गर्न परिपत्र गरेको छ । वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवार हुन चाहनेबाट निवेदन आह्वान गर्ने र चैत २० मा बैठक गरेर वडाध्यक्षका लागि तीन जनाको नाम सिफारिस गर्न कांग्रेसको निर्देशन छ । वडामा पनि उम्मेदवार छनोटका लागि वडाहरुमा चटारो सुरु भएको छ ।
बैशाख ३० गते घोषणा भएको निर्वाचनका लागि वडाको ५ पदका लागि धेरै आकांक्षीहरु देखिएका छन् । जिल्लाका २ वटा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडाहरुमा भेलाहरु आयोजना गरेर कांग्रेसले आकांक्षी सम्भावित उम्मेदवारहरुको नाम संकलन गुरु गरेको छ । स्थानीय तहको निर्वाचन भएकाले पहिलो पुस्तार दोस्रो पुस्ताहरुबीच आफ्नो उम्मेदवारी दावि गर्ने संख्या धेरै छ ।
जिल्लाका विभिन्न वडामा ५ पदका लागि करिव एक देखि ३ दर्जन बढी आकांक्षीहरु देखिएपछि त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा वडाका नेताहरुलाई समस्या भएको छ । स्रोतका अनुसार धेरै स्थानमा अध्यक्ष तथा सदस्यका आकांक्षीहरु अत्याधिक भएकाले सर्व सहमत अध्यक्ष र सदस्यहरुको नाम वडाबाट टुङ्गो लाग्न नसक्ने अवस्था आएको नेताहरु बताउछन् । ‘मास बेस पार्टी हो सबै योग्यहरुले दाबी गर्नुभएको छ, यो स्वागतयोग्य कुरा हो’, कांग्रेसका नेता जोगेन्द्र विश्वकर्माले भने ।
उनले धेरैले अध्यक्ष सदस्यमा दाबी गरे पनि दाबी गर्नेहरुले जसले पाए पनि कांग्रेसले टिकट पाउने भन्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए । तुलसीपुर–१ का वडासभापति निर्मल आचार्यले आफ्नो वडामा पनि वडाध्यक्ष, सदस्यका लागि धेरै आएको र त्यसलाई घटाउनेमा आफूहरु लागेको बताए । त्यस्तै अन्य वडाहरुमा पनि धेरै जनाको नाम सिफारिस आएको वडाध्यक्षहरु बताउँछन् । दंगीशरण गाउँपालिकाका वडाहरुमा पनि ६ जना १३ जना ९ जना गरि विभिन्न वडामा धेरै आकांक्षीहरुको नाम आएको स्थानीय भिमबहादुर वुढाथोकीले बताए ।
त्यस्तै तुलसीपुर–४ मा पनि ७÷८ जना वडाध्यक्ष र सदस्यहरु १७÷१८ जना आकांक्षीहरु रहेको वडा सभापति नन्दलाल पुनले बताए । ‘धेरै जनाको नाम आएको छ यसलाई बसेर सकेसम्म सहमतिबाटै नाम पठाउनेमा छौं’, उनले भने । थोरै पदका लागि धेरै आकांक्षी उम्मेदवार भएका कारण पुनः बसेर छलफल गर्नुपर्ने उनी बताउँछन् । वडाध्यक्ष सिफारिस गर्दा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ ।
वडा सदस्यका लागि खुला दुई सिटमा दुई महिलासहित ६ जनाको नाम सिफारिस गर्नुपर्नेछ । दलित महिला कोटामा बढीमा तीन जना दलित महिला मात्र सिफारिस गर्न कांग्रेसको निर्देशन छ । तर धेरै आकांक्षीहरु देखिएकाले जनमत, लगनशील, त्यागी र इमान्दार र वडालाई हाँक्न सक्ने सक्षम नेतृत्व तल्लो स्तरबाटै यो पटक छनोट गर्नुपर्ने सबैको मत छ ।
वडाले चैत २१ गते वडाध्यक्ष र वडा सदस्यहरूको नाम सिफारिस गरी पालिका कार्यसमितिमा पठाउनुपर्ने हुन्छ । पालिकाले भने चैत २३ मा उम्मेदवार सिफारिस गर्नुपर्ने तालिका कांग्रेसले बनाएको छ । पालिकाले उम्मेदवार सिफारिस गरेर प्रदेशसभा क्षेत्र पठाउनेछ । प्रदेशसभा कार्यसमितिले चैत २५ मा उम्मेदवार सिफारिसको सूची प्रतिनिधिसभा क्षेत्रमा पठाउने र प्रतिनिधिसभा क्षेत्रले चैत २७ भित्र उम्मेदवार जिल्लामा पठाउनेछ ।
जिल्लाले चैत २९ मा तल्ला तहबाट आएका उम्मेदवार सूची प्रदेशमा पठाउनुपर्नेछ । सम्बन्धित प्रदेशले बैशाख १ मा केन्द्रीय कार्यालयमा उम्मेदवार सूची पठाउनुपर्ने कांग्रेसको परिपत्रमा उल्लेख छ । उम्मेदवारको नाम माथिल्लो तहमा सिफारिस गर्नुभन्दा पहिले प्रत्येक कार्यसमिति बैठक गरी निर्णय गर्नुपर्ने पनि कांग्रेसले निर्देशन दिएको छ ।