दाङ, २१ चैत । बालबालिकाहरुलाई टाइफाइड विरुद्ध खोप अभियान चैत २३ देखि शुरु गरिने भएको छ । यस अघि चैत २५ देखि जिल्लामा खोप सञ्चालन गर्ने तयारी थियो । त्यो अनुसार पालिकाहरुले खोप तालिका सार्वजनिक समेत गरेका थिए ।
तर आइतवार बसेको जिल्ला खोप समन्वय समितिको बैठकले विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर चैत २३ देखि जिल्लाका दशै पालिकाका खोप अभियान चलाउने निर्णय गरेको हो । ‘विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर २ दिन अघिदेखि नै जिल्लामा खोप सञ्चालन गर्ने निर्णय भएको छ’ खोप समन्वय समितिका सदस्य सचिव तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले भने ‘ यो सवैको र साझा अभियान हो ।’
खोप अभियान वैशाख १८ सम्म जिल्लामा चल्ने छ । अभियानमा झण्डै २ लाख २ हजार बढि १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिने लक्ष्य छ । त्यो अनुसारको खोप केन्द्र स्थापना र जशक्ति परिचालन गरिने भएको छ । वालवालिकाहरुलाई पहिलो पटक यस प्रकारको खोप प्रदान गर्ने थालिएको हो । जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा बैठक बसेको थियो ।
बैठकमा संयोजक नेपालीले खोप अभियान सवैको साझा अभियान भएकोले यसमा सवै क्षेत्रको सहयोग र सहकार्य आवश्यक भएको वताए । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख शाहीले टाइफाइड विरुद्धको खोपको अभियान र जिल्लामा खोपको अवस्थाका बारेमा जानकारी गराएका थिए ।