खेमराज रिजाल
दाङ, १७ चैत । अंकल सडक किन भाइरल हुन्छन् र ? रविको प्रश्न भुँइमा खस्न नपाउँदै दुधरासको एउटा चिया पसलमा राकेशले जवाफ दिए, सडक कालो र चिल्लो भएर । अर्थात भर्खरै कालोपत्रे भएका सडक भाइरल हुन्छन् । त्यही भएर नारायणपुरबाट हापुर गाउँमा जाने कालोपत्रे सडक भाइरल बनेको थियो । खास केही छैन…।
हो, भाइरल भएको धेरै भएको छैन । भाइरल रोड भन्दाभन्दै भाइरल भएको रहेछ । त्यो सडक भाइरल हुनका लागि न त्यहाँ काठमाडौँका जस्ता आकाशे पुल, न दिल्लीका जस्ता फ्लाइओभर, न चाइनाका जस्ता समुद्री सडक । तर पनि दङालीका लागि कालोपत्रे सडक भाइरल बन्ने रहेछन् । दैनिकजसो घोराही–तुलसीपुर यात्रा गर्ने हामी मोटरसाइकलमा फरक बाटो पहिल्याउँदै घोराही–हापुर–रक्षाचौर सडक पछ्यायौं ।
शंकर ब्रोको टोली गत आइतवार त्यही घोराही–हापुर–रक्षाचौर सडक खण्डको जितपुरमा थियो । अघिल्लो बर्ष नारायणपुरको भाइरल रोडमा भेटिएको सो टोलीसँग एउटा ह्याण्ड क्यामेरा पनि छ, लेन्स मिलाउने । उनीहरु टिकटकको सुटिङमा थिए । साथमा केही युवतीहरु पनि । चारवटा बाइक रोकिएका थिए, सडक छेउमै । सडक किनारामै सालका ठूला–ठूला रुखको छाया, चराहरुको चिरबिरले चैतको उखर्माउलो गर्मीलाई धपाइरहेको थियो । सडक किनारामै पुगिसकेका थिए पानीपुरी र चट्पटेका ठेला व्यवसायी ।
‘हामी चारलेनबाट विस्थापित भएर यहाँ भर्जिन सडकमा आएका हौं, यहाँ व्यापार अलि राम्रो चलेको छ’, जितपुरमा भेटिएका मोबाइल चाट पसलेले भने । उनको ठेलामा मुन्सी मोबाइल चाट लेखिएको थियो । किन भर्जिन सडक भन्नुभो, यसलाई ? उनको जवाफ थियो, ‘यो सडकलाई अझैसम्म टिप्परले बलात्कार गरेका छैनन्, नत्र हाम्रो व्यापार यहाँ पनि चल्न सक्दैनथ्यो ।’ उनी गफिँदै गए ।
सुरुमा उनको ठेला व्यापार घोराहीको विपीचोकमा थियो, त्यहाँबाट नगर प्रहरीले खेदेर तुलसीपुर चोक पु¥यायो । तुलसीपुर चोकमा पनि लुक्दै व्यापार गर्दैगर्दा दक्षिण विद्युत कार्यालयसम्म झरे । त्यहाँ पनि धपाएपछि फेरि तुलसीपुर चोकमै । उनी सुनाइरहे, तुलसीपुर चोक सुरुमा त धेरै धुलाम्मे थिएन । तर जब चारलेन सडक बन्ने हल्ला चल्यो, सडक बेवारिसेजस्तै भयो । कहिले दक्षिणपट्टि मात्रै कालोपत्रे, कहिले उत्तरपट्टिमात्रै कालोपत्रे, धुलोले चाट बेच्नै दिएन । त्यसैले त्यहाँबाट विस्थापित भएर यहाँ आएका हौं ।
उनी अघि भनिरहे, ‘अब यो सडक पनि टिप्परले सुइको पाए भने यसको भर्जिनिटी पनि रहने छैन । हामी फेरि यो सडकमा पनि बस्न, टिक्न सक्ने छैनौं । चारलेनबाट खेदिएका हामी फेरि यो भर्जिन सडकबाट पनि खेदिने छौं । यहाँ पनि हाम्रो पानीपुरी बिक्ने छैन । त्यही भएर धेरै नलेखिदिनुहोला भाइरल भाइरल भनेर…।’ हामी अलि अगाडि पुग्यौं । बाटो भर्खरै कालोपत्रेको क्रममा रहेछ ।
घोराहीबाट करीब १३ किमिभन्दा बढी कालोपत्रे भएको हाम्रो बाइकको रिडिङले देखाइरहेको थियो । खासमा त्यो घोराही–हापुर–रक्षाचौरको आधा खण्ड पनि थिएन । तैपनि सडक भाइरलजस्तै थियो, यात्राका लागि भन्दा सुटिङका लागि…। हो, पछिल्लो डेढ दशक दाङले राम्रो कालोपत्रे सडक देखेको छैन । त्यसैले त यहाँ कालोपत्रे सडक पनि भाइरल बनिदिन्छन्, बिचरा टिकटके…।
स्थानीय तहको दोस्रो निर्वाचन आइसकेको छ । हाम्रो पालिकामा यति किलोमिटर बाटो कालोपत्रे भनेर दश पालिकाले दावी गर्नेछन् । तर खासमा खाल्टो नपरेको लगातार एक किमि सडक दाङमा पाउन सकिने छैन । घोराहीबाट सुरु भएर रक्षाचौरसम्म पुरै कालोपत्रे सडक दाङबासीले देख्न पाउने छैनन्, सायद । रक्षाचौरसम्म कालोपत्रे भैसक्दा घोराहीदेखि हापुरसम्मको कालोपत्रे पुरै भत्किसकेको हुनेछ । किनकि सडकले टिप्परको बलात्कार बहन गर्न सक्ने छैन ।
लमही–घोराही–तुलसीपुर सडक कति गुणस्तरीय थियो, अचेल बनिरहेका सडकका तुलनामा । तर जब टिप्पर प्रवेश भयो, सडक छियाछिया बन्ने प्रबृत्ति हावी भयो । कालोपत्रे होइन, आरसिसीले पनि थामेन । लमही–घोराहीका घुम्तीमा सडक विभागले आरसिसी ढलान गरेर पनि सडक जोगाइराख्न सकेन । घोराही–होलेरी सडक कति चाँडै भत्कियो भन्नु दुर्भाग्य हुनेछ, किनभने त्यो सडक कालोपत्रे गर्दा नै टिप्परको भार थेग्ने क्षमताको थिएन । अहिले छियाछिया भएको छ घोराही होलेरी सडक । सायद घोराही–मुर्कुटी सडक पनि यहीस्तरमा कालोपत्रे गर्नु व्यर्थ हुनेछ, किनकि हस्तान्तरण नहुँदै कालोपत्रे सडक भर्जिन रहने छैन ।
‘अमिलिया–तुलसीपुर सडकको गुणस्तर पनि हामीले देखिसकेका छौं, पुरै सडक कालोपत्रे हुन सायद असम्भव हुनेछ’, त्रिशिद्धेश्वरी राप्ती यातायात व्यवसायी प्रालिका अध्यक्ष सुरेश हमालले अमिलियाका घुम्तीमा अघिल्लो साता भनेका थिए । यताबाट बन्दै जानेछ, अनि भञ्ज्याङसम्म कालोपत्रे पुग्दा अमिलियाबाट फेरि भत्कन सुरु गर्नेछ, किनकि यो सडकले पनि टिप्परको भार थाम्ने हैसियत राख्दैन, हमालले भनेका थिए ।
विद्युत आलोपालोलाई लोडसेडिङ भन्छन् । सडक आलोपालो चल्नेलाई के भन्छन् के लेखौं ? तुलसीपुर– कपुरकोट सडक पनि अहिले कालोपत्रे भनिनु अन्याय हुनेछ । किनकि यो सडकमा पनि कहिँकतै एक सय मिटर पनि सही सडक पाउन निकै मुस्किल छ । यातायात सेवामा लोडसेडिङ भइरहेको छ । सडक चौडा गर्ने नाममा सडकमा निरन्तर यातायात सेवा पनि छैन । यति चाँडै कालोपत्रे गुमाउनुको प्रमुख कारण थियो, टिप्परको आगमन ।
‘हामीले सडकको स्तरीय पूर्वाधारविनै टिप्पर स्वीकार्नु नै गलत थियो, तर स्वीकारिसक्यौं, अब समस्या झनै विकराल बन्ने छ’, अघिल्लो बर्षातमा घोराही–होलेरी सडक अनुगमनका क्रममा तात्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भनेका थिए । एकै जिल्लामा आधा दर्जन जति सिमेन्ट उद्योग स्वीकार्ने हामी कति उद्योगप्रेमी दङालीहरु । कति भाग्यमानी राजनेताहरु ? सडकको अवस्था जेहोस् । टरिगाउँ विमानस्थल गौचरणमा किन परिणत नहोस । हाम्रा नेताहरुले संसदमा गौरवका साथ भन्नेछन्, हाम्रो जिल्लामा आधा दर्जन त सिमेन्ट उद्योगहरु मात्रै छन् भने ।
यति धेरै भार बोक्ने टिप्परलाई हाल नेपालमा चल्तीमा आएको रिमिक्स, अक्सफाल, आरसिसी कुनै पनि प्रविधिले थाम्ने छैन । तर राज्यको कुनै दीर्घकालीन योजना नै छैन, स्तरीय सडक निर्माणका सन्दर्भमा । चार इन्च मोटाइको कालोपत्रे सडकमा २७ टन भारी बोकेका टिप्पर कुदिरहँदा कति दिन टिक्ला कालोपत्रे ? यही कारण भाइरल बनिरहेका छन्, कालोपत्रे सडकहरु । चाटको पैसा लिने बेला साहुजीले भनेका थिए, भर्जिन सडक भनेर नलेखिदिनुहोला किनकि टिप्परले थाहा पाए यो सडक भर्जिन रहने छैन…।