युवराज शर्मा
नेपाल सानो मुलुक हो । यसले राज्य स्तरबाट यातायात सेवा चलाउन सकेन । अहिलेका सार्वजनिक यातायात पनि निजी क्षेत्रबाट सञ्चालित छन् । यात्रु सेवा र मालसामानहरुको ढुवानी कार्यहरु व्यक्तिहरुका ढुवानी साधनहरुबाट हुन्छन् । सार्वजनिक यातायातका साधनहरु, ढुवानीका साधनहरु र निर्माण सामग्रीका साधनहरु चलाउने चालकहरुलाई राज्यबाट साहस र प्रेरणा दिएको पाइन्न । त्यस सम्बन्धमा तीनै तहका सरकारमा योजना छैन तर चालकहरुप्रति नकारात्मक सोचाइ धेरै मान्छेहरुमा पाइन्छ ।
चालकले साधन गुडाएर गन्तव्यमा पु¥याए पनि त्यस साधनबाट ओर्लने व्यक्तिले चालकलाई धन्यवाद भनेको सुनिँदैन । उसको सेवा बगेको पानी जस्तै हो । चालकले गाडीमा मन्त्रीलाई भण्डा फरफराउँदै गन्तव्यमा लैजान्छन् । उनी गाडी रुङ्छन् । मन्त्रीले होटलमा मीठो खाना खान्छन् तर आफूलाई बोकेर ल्याउने गाडी चालकले खाना खान पायो या पाएन सम्बन्धमा चासो राख्दैनन् । यस्तो वातावरण प्रायः देखिन्छ । कतिपय हाकिमहरुको कार्यशैली पनि यस्तै हुन्छ । यस्ता व्यवहार गर्ने व्यक्तिहरुको स्वभाव र सांस्कारिक गुणमा निर्भर हुन्छ । यसले व्यक्तिको व्यवहारमा आत्मीयताको अभाव देखिन्छ भने उसमा अर्काप्रति हीनताको स्वभा झल्किन्छ ।
नेपालमा संघीय, प्रदेश र स्थानीय तहको लोकतान्त्रिक गणतन्त्र आयो । यसले गाडी गुडाउने चालक, भारी बोक्ने भरिया र मजदुरी गर्ने मजदुरहरुलाई अनुभूति हुने नीतिहरु ल्याएन । उनीहरुलाई साहस र प्रेरणा दिइएन । राजनीतिक दलहरुका नेताहरु आफ्नै स्वार्थमा रमाइरहे । उनीहरुले दलीय भावनाको राम्रो सन्देश दिन सकेनन् । उनीहरुले निर्वाचनका समयमा मलाई भोट देउ भन्दै गाडीमा चालकलाई गाउँ–गाउँ दर्जनौा कच्ची बाटाहरुमा गुडाउँदै हिडे तर जनताले पताएनन्, चुनाव हारे । अन्त्यमा गालीगलौज सुरु भयो ।
चालकले धेरै गाली पाए । उनलाई भने तेरो खराब बेहोराले चुनाव हारियो । साइत पारेनस् तर चुनाव हार्ने व्यक्तिप्रति जनताको झुकाव भएन । किन रोइस नेता आफ्नै व्यहोराले, वातावरण निर्वाचनमा परेको थियो, पर्छ पनि । नेताहरुबाट चालकहरुले प्रेरणा र साहस पाएको ज्ञान, कुनै पनि सार्वजनिक यातायातका साधनहरु गुडाउनेले पाएका छैनन् । चालकलाई हेपेर, ‘बदमास’ भन्ने गरेको सुनिन्छ । यस्ता वचनमा सुधार गरेर राम्रो चरित्र देखाउनु असल नागरिक बन्नु हो–भन्छन् सार्वजनिक यातायातका साधन गुडाउने चालकहरुले ।
रात्री बसमा यात्रा गर्ने यात्रुहरु सडक जाममा परेर भोग र प्यासले प्रताडित बन्छन् । खराब सडकका कारण पीडादायी यात्रा गर्नुपर्छ । सरकारले भत्काएका सडकहरुलाई प्रकृतिले पनि धेरै ठाउँहरुमा भत्काइदिन्छ । त्यसमा पनि बढी, पहिरो, भूकम्प जस्ता प्रकोपले सडकहरुमा कुरुपता बढ्छ । यात्राको कथा र व्यथामा कहालीलाग्दो अवस्था हुन्छ । चालकको दन्तविजोग हुन्छ । उनका बालबालिकाको पठनपाठन अस्तव्यस्त हुन्छ तर उनीहरुका बाबु चालक बनेर मन्त्रीको गाडी गुडाउँदा पनि साहस र प्रेरणा पान्नन् ।
चालकका बालबालिकाले उच्च शिक्षा पाएको इतिहास छैन । उनीहरु डाक्टर, इन्जिनियर, वैद्य र अनुसन्धानकर्ता बन्ने अवसर पाउँदैनन् । चालकको आर्थिक, सामाजिक र शैक्षिक अवस्था कमजोर हुन्छ । गाडी गुडाएर जीवनशैलीमा सुधार गर्न सकेका हुन्नन् । वर्तमान समयको महँगी, आम्दानीका स्रोतहरुको कमजोरीले गर्दा पछि परेको अवस्था पाइन्छ । उसले गाडी गुडाउँदा पाउने पारिश्रमिक बाहेक अन्य स्रोतहरु हुँदैनन् ।
२०२२ सालमा बस चढ्दाको एउटा घटनाको सम्झना भयो । काठमाडौं डेरा गरेर पढ्ने विद्यार्थीहरुले सुन्धाराबाट बस चढेर त्रिभूवन विश्वविद्यालयमा पढ्न कीर्तिपुर जान्थे । त्इस बसमा प्राध्यापक र विद्यार्थीहरु धेरै हुन्थे । बसहरु थोरै चल्थे । त्इस दिन बस आउन ढिला भयो । एकजना प्रधानाध्यापकले भने – कस्तो बद्मास ड्राइभर हो ? समय बित्न लाग्यो, अझै बस ल्याएन । उनको भनाइ सुनेर धेरै विद्यार्थीहरु हाँसे । उनीहरुमध्ये एउटा विद्यार्थीले भने – पालो कुर्न सक्नुपर्छ । बस पर्खन नसक्ने हिडेर गए हुन्छ ।
किन ड्राइभरलाई गाली गर्ने ? विद्यार्थीका कुराले प्राध्यापक लज्जित भए । त्इस समयमा अर्को विद्यार्थीले भन्यो – बस चालकलाई हेपेर भन्नु भए होला । यत्तिकैमा बस आइपुग्यो । विद्यार्थीहरु र प्राध्यापक बसमा चढे । प्राध्यापकको चालकप्रति नकारात्मक सोचाइ देखियो तर चालकको मनमस्तिष्क सफा थियो । उनले देशमा सामाजिक, आर्थिक विकास ल्याउँछन् । उनमा गाडी सम्बन्धमा चलाउने ज्ञान र सीप थियो । उनको ज्ञान र सीपलाई कुण्ठित पार्नु हुन्न ।
सबैको पेशालाई आदर गर्न मान्छेले जान्नुपर्छ । यसैलाई सभ्यताको निसानी भन्छन् तर प्राध्यापकजस्ता विद्वान व्यक्तिले बोल्ने ज्ञान र सीपको प्रयोग गर्न सकेनन् । चालकलाई राम्रो व्यवहार गरेर असल नागरिक बन्नुपर्छ भन्छन् सार्वजनिक यातायातका साधन गुडाउने चालकहरुले । अहिले पनि कीर्तिपुर जाने बसहरु यात्रुहरुले भरिभराउ हुन्छन् । धेरै मान्छेहरु उभिएर यात्रा गर्छन् । यस्तो यात्रा गर्नु उनीहरुका लागि आवश्यकता र वाध्यता हो ।
नारायणगढदेखि काठमाडौं जाने पृथ्वी राजमार्ग नाम राखिएको छ । जहाँ पहिरो, बाढी, भूकम्पको प्रभाव पर्दै आएको अवस्था छ । त्यसलाई सुधार्न, स्तरोन्नति गराउन गरेका र भएका प्रयासहरु सार्थक बनेनन् । जुन राजनमार्ग काठमाडौं छिर्ने मुख्य मार्ग पनि हो । त्यस सडकमा २० देखि ५० टनको भार क्षमता बोकेका साधनहरु आउजाउ गर्छन् । दोहोरो गाडी चल्न सक्ने सबै ठाउँमा एकनासको सडक छैन । पहाडी भूबनोट भएको पहाडहरु छन् । कतै सुख्खा पहिरो जान्छ भने कतै गाडी बिग्रियो भने जाममा बस्नु पर्छ । यस्तो समस्या भोग्नुपर्ने यात्रा समयमा यात्रुहरु र चालकलाई पर्छ ।
कति फराकिलो, कति भारक्षमताको सडक बनाएमा साधनहरु गुडाएर गन्तव्यमा पुग्न सकिने ज्ञान र सीप सडक बनाउने ठेकेदार र इन्जिनियरलाई हुन्छ । तर मास्टर–डिजाइन गराउँदा यस्ता विषयहरुमा उनीहरुको ध्यान जान्न । वर्षेनी सडक मर्मत भइरहन्छन् । यस्ता कार्यमा अनियमितता बढ्छ । राष्ट्र र राष्ट्रियताको भावना जाग्दैन । अन्त्यमा निर्माण कार्यहरु कमजोर बन्छन् । साधनहरु गुडाउँदा चालकहरुले धेरै सास्ती भोग्छन् ।
तर दुर्घटना घट्यो भने चालकले गाली पाउँछ, सजाय भोग्छ, प्रहरीहरुको फन्दामा पर्छ तर सडक बनाउने ठेकेदार र इन्जिनियरलाई कसैले पनि दोषी भन्दैन । भनिन्छ– धान खाने मुसो चोट पाउने भ्यागुतो पर्छ । यो अवस्था नेपालमा बनाइने सडकहरु पर्छन् । अहिले पनि दाङको घोराहीदेखि तुलसीपुरको सडकमा जोखिम यात्रा गर्न यात्रुहरु वाध्य छन् । यो समस्या निराकरणको बाटो पत्ता लाग्न सकेको छैन ।