गोरक्ष समाचारदाता
बेलझुण्डी, १६ चैत । दाङमा विज्ञताको अभाव भएको भन्दै नेपाल संस्कृत विश्वविद्यालय मातहतको अनुसन्धान केन्द्रले विभिन्न विधामा विद्यावारिधि गर्ने प्रपोजल पुस्तिकालाई काठमाडौँ लगेर विज्ञलाई वितरण गर्ने तयारी गरेको छ । यसलाई यहाँका केही विद्धत्त वर्गले अनुसन्धान केन्द्र नै काठमाडौँ लैजाने षड्यन्त्र भनेका छन् ।
अनुसन्धान केन्द्रले मंगलवार केन्द्रमा प्राप्त कम्तीमा १ सय ४ जना अनुसन्धार्थीका प्रपोजल विज्ञलाई परीक्षण गराउन काठमाडौँ पठाउन पोका पारेको थियो । ती पोकाहरु विश्वविद्यालय केन्द्रीय कार्यालयको अनुसन्धान केन्द्रको प्रशासनमा पठाउनका लागि राखिएका थिए । अघिल्लो बर्ष यस्ता प्रस्तावहरु यहीँंबाटै सम्बन्धित विज्ञलाई दिइने गरिएको थियो । तर यो बर्ष सबै कागजात पोका पारेर काठमाडौँ लैजान थालिएको विश्वविद्यालय स्रोतले बताएको छ ।
मंगलवार नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र परिषरमा यस्तै तयारी थियो । अनुसन्धान केन्द्रका प्रमुख प्राध्यापक सुदन पौडेल अघिल्लै दिन काठमाडौँ प्रस्थान गरेका थिए । नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्र । केन्द्रका प्रमुख सुदन पौडेलको कार्यकक्षमा ताला लागेको छ । लेखा र प्रशासन खुल्लै थिए । प्रशासन शाखामा केही बोरामा अनुसन्धाताका प्रपोजल प्याक गरिएका छन्, फेरि पनि विज्ञ खोज्दै काठमाडौँ पठाउनका लागि । विश्वविद्यालयकै केही अधिकारीहरुले यसलाई फेरि नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्र काठमाडौँमै सार्न खोजिएको रुपमा पनि व्याख्या गरिरहेका थिए ।
अघिल्लो साल विभिन्न विधामा विद्यावारिधि गर्न चाहने विद्यार्थीका प्रपोजलहरु यही हेरेर दर्ता चलानी गरी विज्ञहरुलाई बाँडफाँड गरिन्थ्यो । तर यो बर्ष दाङमा विज्ञ नै नभएको बहानाबाजीमा सबै प्रपोजल काठमाडौँ लैजान थालिएकोमा केही विज्ञहरुले आश्चर्य समेत व्यक्त गरेका छन् । विगतका केही बर्ष विश्वविद्यालयका पदाधिकारीको पुरै रासबास बसन्तपुरस्थित केन्द्रीय कार्यालयमै हुने गरेको थियो ।
त्यसपछि नेपाल संस्कृत विश्वविद्यालयमा खुलेका अनुसन्धान केन्द्र र सांस्कृतिक केन्द्र पनि काठमाडौँमै केन्द्रिकृत भए । दाङ जिल्लामा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयको गरिमा राजधानी केन्द्रित हुन थाले पनि विश्वविद्यालयका गतिविधि नै अलमलमा पर्न थाले । चौतर्फी विरोध र सर्वोच्च अदालत समेतको फैसलाले काठमाडाँैको बसन्तपुरमा सम्पर्क कार्यालय खोलिएका विभिन्न विभागलाई विश्वविद्यालयको केन्द्र रहेकै स्थानमा रहेर कामकाज गर्न फैसलामा आदेश भएपछि बल्ल अनुसन्धान केन्द्र दाङमा आएको थियो ।
अनुसन्धान केन्द्रका एकजना अधिकारीका अनुसार वि.सं. २०७५ भदौमा सर्वोच्च अदालतले विश्वविद्यालय मातहतको अनुसन्धान केन्द्र दाङमै लैजान फैसला गरेपछि अनुसन्धान केन्द्र वि.सं. २०७६ सालमा दाङ आएको थियो । अदालतको फैसलालाई मध्यनजर गर्दै नेपाल सरकार मन्त्रिपरिषद र विश्वविद्यालय अनुदान आयोगले समेत केन्द्रिकृत शाखाहरुलाई सम्बन्धित विश्वविद्यालयको केन्द्रीय कार्यालयमै रहेर काम गर्न निर्देशन दिएपछि अनुसन्धान कार्यालय पनि दाङ सरेको थियो ।
अनुसन्धान केन्द्रसँगै सांस्कृतिक केन्द्र पनि दाङ आएको थियो । राजधानी बाहिर केन्द्रीय कार्यालय रहेका अन्य विश्वविद्यालय र प्रतिष्ठानका सबै केन्द्रहरु पनि त्यसरी नै केन्द्रीय कार्यालय रहेको स्थानमा फर्केर कामकाज गरिरहेका छन् । तर केन्द्र प्रमुख र अन्य पदाधिकारीहरुको राजधानीकेन्द्रित मानसिकता हटेन ।
सोहीअनुरुप अनुसन्धान केन्द्रले पुनः काठमाडौँको वाल्मीकि विद्यापीठमा दुईवटा कोठा भाडामा लिएर केन्द्रका गतिविधि सञ्चालन गर्दै आएको छ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय मातहतमा रहेका दुईजना कर्मचारीलाई काजमा राखेर केन्द्रको काम काठमाडौँबाटै हुन थालेको छ । राजधानीमा रहेको केन्द्र दाङ सर्ने क्रममा राजधानीको केन्द्रमा खटाइएका कर्मचारीहरु सहप्रशासक नगेन्द्र आचार्य र उपप्रशासक नारद पौडेलले दाङ आउन नमानेपछि उनीहरुलाई उतै सम्पर्क कार्यालयमा काम लगाएर अनुसन्धान केन्द्रका सम्पूर्ण गतिविधि राजधानी काठमाडौँबाटै सञ्चालन हुन थालेको हो ।
यो शैक्षिक सत्रका लागि नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्नका लागि १ सय १४ जनाले प्रपोजल पेश गरेका छन् । यसअघि अघिल्लो बर्ष प्रपोजल यही खोलेर दर्ता चलानी गरेर विज्ञसमक्ष पठाइने गरेको थियो । तर अनुसन्धान केन्द्रले यो बर्ष भने सबै प्रपोजल यहाँ विज्ञ नभएको भन्दै राजधानी पठाउने अन्तिम तयारी गरेको बताइएको छ ।
यद्यपि लुम्बिनी प्रदेशमा मात्रै कम्तीमा १ सयभन्दा बढी विज्ञहरु विभिन्न संस्थामा आवद्ध रहेका छन् । ‘विद्यावारिधिका प्रपोजलहरु कुन विज्ञलाई उपलव्ध गराउने भन्ने विषयमा यही केन्द्रीय कार्यालयमै निर्णय गर्न सकिन्थ्यो, यसले विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङमा छ भन्नेमा स्थानीयबासीको अपनत्व पनि हुन्थ्यो अनि यहाँको शैक्षिक चहल–पहलमा समेत बृद्धि हुने थियो’, दाङकै एक विज्ञले भने– ‘तर विश्वविद्यालयका पदाधिकारीहरु नै यसमा गम्भीर बन्न सकेनन् ।’
केन्द्र सर्दैन, कापी मात्रै लगिएको हो ः उपकुलपति
यसै प्रसंगलाई लिएर नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक यादव लामिछानेले अनुसन्धान केन्द्र केन्द्रीय कार्यालयमै रहने र यो कसैले चाहेर राजधानी वा अन्यत्र सार्नै नसकिने बताएका छन् । सर्वोच्च अदालतको फैसलाबाटै दाङमै रहने स्पष्ट भएको विषयमा सम्माननीय अदालतको अपहेलना हुनेगरी केन्द्र सार्ने काम नेपाल संस्कृत विश्वविद्यालयबाट नहुने पनि उनले बताएका छन् ।
‘केही प्रपोजलहरु विज्ञलाई उपलब्ध गराउन लैजान खोजिएको हुनसक्छ, सबै प्रपोजल काठमाडौँ लैजाने र कार्यालय सार्ने सोचसमेत हामीले राखेका छैनौं’, उपकुलपति लामिछानेले भने– ‘यो विश्वविद्यालयकै प्राध्यापक÷कर्मचारीहरुको विभक्त मानसिकताको हल्ला हो ।’ उनले अब अनुसन्धान केन्द्र मात्र होइन, सांस्कृतिक केन्द्रलगायतका सबै इकाईहरु केन्द्रीय कार्यालय रहेकै स्थानमा चलायमान हुने पनि लामिछानेको विश्वास थियो ।