‘विद्वत्ताको बहसमै रूमलियो शिक्षा’

खेमराज रिजाल
तुलसीपुर, १६ चैत । ‘म आउँदा मिलजी मात्रै हुनुहुन्थ्यो, मैले अहिले बोलिरहने समय एक जना राजनीतिकर्मीलाई छुट्याएको थिएँ, मेरो सेड्युल तलमाथि भयो’, अहिलेको शिक्षाको अवस्था पनि यस्तै गडबड र अलमलमा परेको छ । एनप्याब्सन दाङले आयोजना गरेको नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य शंकर गिरीले दिएको अभिव्यक्ति हो, यो । यस्तै अवस्थाले संविधान लेख्न दुई–दुई पटक संविधानसभाको निर्वाचन गर्नु प¥यो । नयाँ संविधान त पायौँ तर शिक्षा ऐन भने २०२१ कै चलाइरहेका छौँ ।

‘हामी ठप्प छौँ, कुनै पनि काम समयमा नहुँदा मुलुक अघि बढेको आभास हुन सकेको छैन, राजनीतिकर्मीले नै उचित दिशानिर्देश दिन नसक्दा शिक्षा क्षेत्र ध्वस्त भएको छ’, बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि तथा प्रदेशसभा सदस्य गिरीले भने । अहिले सरकार कुहिरोको कागजस्तै भएकाले कुनै पनि सकारात्मक गतिविधिहरू अघि बढ्न नसकेको पनि उनको अभिव्यक्ति थियो ।

उनले अगाडि भने, ‘हाम्रो स्कूललाई विज्ञानको शिक्षक चाहिएको छ तर सरकारी प्रतिनिधि शिक्षा अधिकारीले चाकडीका भरमा सामाजिक विषयको शिक्षक पठाइदिन्छन्, यस्तै सत्ताको भर्ती केन्द्र बनेका छन्, सामुदायिक विद्यालयहरू । सरकारले निजीलाई स्याँकेर सामुदायिक विद्यालयको शैक्षिक सुधारको अपेक्षा गरे पनि राजनीतिक शक्तिको दाउँपेचका कारण सामुदायिक विद्यालयहरू राजनीतिका अखडा बन्न थालेका छन्, शिक्षकहरू पठनपाठनमा भन्दा पनि राजनीतिक दलको अचुक कार्यकर्ता बनिदिन रूचाउने अभ्यास छ ।

कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी थला पारेको क्षेत्र भनेकै निजी विद्यालय भएको राज्यलाई थाहा भए पनि सामुदायिक विद्यालयलाई केही हदसम्म उकास्न राज्यले कुनै पहल गर्न नसकेको पनि उनको अभिव्यक्ति थियो । संघीयता आए पनि उच्च राजनीतिक नेतृत्वमा केन्द्रीकृत मानसिकतामा परिवर्तन आउन नसक्दा सबै क्षेत्रले संघीयताको साथ पाउन नसकेको पनि उनको भनाइ थियो ।

एनप्याब्सन दाङले भर्खरै नेपालगञ्जमा सम्पन्न राष्ट्रिय अधिवेशनमा केन्द्रीय उपाध्यक्षमा निर्वाचितलगायत प्रदेश नेतृत्व र केन्द्रीय सदस्यमा निर्वाचितहरूलाई मंगलवार बधाई एवं सम्मान कार्यक्रमको आयोजना ग¥यो । सम्मानित हुनेहरूले आफूहरूलाई दिइएको नेतृत्वको भारीलाई नथाकि गन्तव्यसम्म पु¥याउने अठोट समेत गरेका थिए । ‘शिक्षा क्षेत्रको उन्नयनमा हामी पनि राज्यसँग साझेदार बन्न चाहन्छौँ, कम्तिमा प्रदेश शिक्षा ऐन निर्माण गर्दा हामीलाई पनि सहभागी बनाइदिनुहुन आग्रह गर्दछु’, बधाई तथा सम्मान कार्यक्रममा एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुबोधकुमार डाँगीले भने ।

उनको आग्रहमा प्रमुख अतिथि तथा प्रदेशसभा सदस्य गिरीले हुन्छ भनेका थिए । त्यस्तै केन्द्रीय उपाध्यक्ष डाँगीले संघीय शिक्षा ऐन बन्न नसक्दा प्रदेश र स्थानीय सरकारले पनि कार्यविधि बनाएर जबर्जस्त रूपमा शिक्षा क्षेत्रलाई धकेलिरहेकाले नयाँपन आउन नसकेको बताएका थिए । कोभिडको महामारीका कारण कम्तिमा पनि दश प्रतिशत निजी विद्यालयहरू बन्द भइसकेको भन्दै शिक्षा क्षेत्रलाई माथि उकास्न निजी विद्यालयहरूको योगदानलाई सम्मान गर्न उनले सरकारलाई आग्रह गरेका थिए । सरकारले संघीय शिक्षा ऐन निर्माण गर्न नसक्दा मुलुकको शैक्षिक गन्तव्य अन्योलमा रहेको उनको टिप्पणी थियो । यसका लागि उनले तीनै तहका सरकारलाई निजी क्षेत्रको सहभागितामा ऐन निर्माणका लागि आग्रह गरेका थिए ।

कार्यक्रममा एनप्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष कुवेर बस्नेतले सरकारले किसानलाई सफ्ट लोन दिएर सम्मान गरिरहेको अवस्थामा संक्रमणले सबैभन्दा बढी प्रभावित निजी विद्यालयलाई कुनै पनि पक्षबाट सम्बोधन गर्न नसकेको अभिव्यक्ति दिएका थिए । त्यस्तै केन्द्रीय सदस्य भीमबहादुर बुढाथोकीले सरकारले शिक्षा क्षेत्रलाई हेर्ने दुईवटा आँखा बनाइरहँदा निजी स्कूलहरू संकटमा परेको बताए । ‘सरकारले निजी विद्यालयलाई हेर्ने एउटा आँखा छ र सामुदायिक विद्यालयलाइ हेर्ने अर्को आँखा छ, यो विभेद रहेसम्म शिक्षा क्षेत्रले उत्साहित भएर अघि बढ्न सक्ने छैन’, केन्द्रीय सदस्य बुढाथोकीले भने ।

यही भनाइलाई पुष्टि गर्दै अर्का केन्द्रीय सदस्य प्रकाशकुमार शर्माले सरकारले महिनावारी हुँदा विद्यार्थीलाई निःशुल्क दिने सेनेटरी प्याडमा समेत विभेद गरेको बताए । ‘सरकारले विद्यालय उमेरका छात्रालाई निःशुल्क सेनेटरी प्याडका लागि अर्बौं रूपैयाँ बजेट खर्च ग¥यो तर निजीका छात्रालाई यो राज्यको सुविधा उपलब्ध छैन, कति विभेदकारी छ सरकार’, केन्द्रीय सदस्य शर्माले भने । यति गम्भीर कुरामा पनि निजी र सामुदायिक भनेर विभेद गर्ने सरकारी प्रवृत्तिलाई सच्चाउन पनि उनको आग्रह थियो ।

कार्यक्रममा पब्लिक ज्ञानज्योतिका सञ्चालक एवं हिसान दाङका अध्यक्ष सुरेन्द्र जिसीले आफूहरू बालबालिकाको शैक्षिक भविष्य र भावि गन्तव्यका विषयमा निकै संवेदनशील रहेको भन्दै आफूले पाएको नेतृत्वको जिम्मेवारीलाई गहनतापूर्वक वहन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पत्रकार शरद रेग्मीले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा कुनै पनि विद्यालय र विद्यार्थीलाई निर्वाचनमा उपयोग र प्रयोग नगर्न सबै नेतृत्वलाई आग्रह गरेका थिए । हरेक निर्वाचनमा विद्यार्थी एवं शैक्षिक संस्थाको प्रयोग अधिक्तम भइरहेकाले अबका निर्वाचनमा विद्यालयलाई उपयोग नगर्न रेग्मीको आग्रह थियो ।

एनप्याब्सन दाङका अध्यक्ष बिमल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार शर्मिला डिसी, एनप्याब्सनका प्रदेश सचिव टोमेन्द्र खनाल, प्रदेश सदस्य नरेश आचार्य, एनप्याब्सन बाँकेका अध्यक्ष श्याम कुवरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । एनप्याब्सन दाङका उपाध्यक्ष भोजराज न्यौपानेको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव ठाकुर डिसीले गरेका थिए । धन्यवाद ज्ञापन एनप्याब्सन दाङका उपाध्यक्ष भुमण्डप केसीले गरेका थिए ।