Goraksha

National Daily

१०४ बर्षीया राजयोगिनी डा. दादी जानकीजीको निधन

 

ब्रह्माकुमार माधव तिमिल्सेना

विश्वका १४० राष्ट्रमा फैलिएको सवैभन्दा ठूलो आद्यात्मिक नारी प्रधान संस्थान ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयकी अन्तर्राष्ट्रिय मुख्य प्रशासक राजयोगिनी डा. दादी जानकीजीको १०४ वर्षको उमेरमा चैत्र १४ गते (२७ मार्च २०२०) विहान २ः१५ वजे आउण्ट आवु राजस्थान भारतमा निधन भएको छ ।

उहाँको अन्तिम संस्कार ब्रह्माकुमारीजको अन्तर्राष्ट्रिय मुख्यालयको शान्तिवन परिसरमा शुक्रबार दिउँसो गरियो । नारी शक्तिको प्रेरणा स्रोत दादी जानकीको जन्म १ जनवरी १९१६ मा पाकिस्तानको हैदराबाद सिन्ध प्रान्तमा भएको थियो । आजभन्दा ८४ वर्ष पहिला २१ बर्षको उमेरमा उहाँले ब्रह्माकुमारी संस्थाको आध्यात्मिक मार्ग अनुसरण गरी जन कल्याणार्थ मानव सेवाको लागि पूर्णरुपमा समर्पित जीवन अपनाउनु भएको थियो ।

करिव ६० वर्षको पाको उमेरमा सन् १९७० मा सनातन संस्कृति, मानवीय मूल्य र राजयोगको सन्देश दिने उद्देश्यले वेलायत लगायत युरोप तथा पश्चिमी मुलुकहरुमा यात्रा तय गरी आद्यात्मिक शंखनाद शुरु गर्नु भएको थियो । परमात्मा शिवबाबाको ज्ञान एवं राजयोग शिक्षाको विजारोपणका माध्यामबाट करिव नौ हजार सेवाकेन्दं्रको स्थापना गरी लाखौं लाख आत्माहरुलाई एक नयाँ जीवनदान दिनु भयो । वहाँले पूरा विश्वमा आन्तरीक मन र आत्माको स्वच्छताको साथ साथै बाह्य स्वच्छताको लागि अद्धितीय र अनुकरणीय कार्य शुभारम्भ गर्नु भएको थियो । तत्कालिन मुख्य प्रशासक दादी प्रकाशमणीज्यूको देहावसान पश्चात सन २००७ अगस्तदेखि ९१ वर्षको जीवन दौडमा वहाँले संस्थाको प्रमुखको जिम्मेवारी वहन गर्नु भै १३ वर्षसम्म संस्थालाई सफलताको शिखरमा पुर्याउन अनुकरणीय भूमिका निर्वाह गर्नुभयो ।

४६ हजार भन्दा अधिक ब्रह्माकुमारीहरुकी अलौकिक आमा,१२ लाख भन्दाबढी ब्रह्माकुमारीजका नियमित विद्यार्थीहरु९साधक÷साधिका० की प्रेरणापुञ्ज निर्मल निर्मानता एवं सरलता र सादगीकी पर्याय दादीमाँले जस्तो हाम्रो अन्न, त्यस्तै हाम्रो मन हुने भएकोले सात्विक भोजन परमात्मा पिताको यादमा ग्रहण गर्नुपर्ने सल्लाह दिदै त्यसका लागि राजयोग मेडिटेशन तन एवं मन दुवैको औषधी भएको विचार सवैलाई सम्पे्रषण गर्नु हुन्थ्यो । परिवर्तन संसारको नियम हो । कलियूग पश्चात सत्ययूग आउनु नै छ,जसरी रातदिनको चक्र निरन्तर अविरल रुपमा चलिरहन्छ । यदि जीवनमा नविनता हुदैन भने त्यो जीवन निरस हुन्छ । हरेक दिन, हरेक पल नविनता सोचौ, नविन कार्य गरौ र जीवन पथमा अविचलित भएर अगाडी वढ्दै गरौ । निकट भविश्यमा यस धरामा प्रकृती तथा शारिरीक विमारीहरुको समस्याहरुले विकराल रुप लिने हुँदा सवैमा योगवल र आत्मवल जम्मा गर्न सल्लाह र सुझाव दिनु हुन्थ्यो । मनलाई मार्ने हैन सुधार्नु जरुरी छ । मनको चंचलता र भट्किनुलाई वन्द गर्नु पर्छ । कर्म गर्दापनि एक शिवबाबासँग मन र बुद्धिको तार जोड्न सकियो भने मन स्थिर हुन्छ,सशक्त हुन्छ साथै मन शक्तिसम्पन्न हुने संभव छ भन्ने वहाँको अनुभव थियो र जीवनको अन्तिम क्षणमा समेत यसै विश्वास र मान्यतालाई अपनाउनु भएको थियो । वहाँको भनाईमा– दुःखी हुनु वा रुनु आवश्यक छैन, आत्मा अमर अविनाशी छ । यस कर्मभूमीमा हरेक आत्माले आ–आफ्नो अभिनय गर्दछ र समय पूरा भएपछि एउटा शरीर छोडेर नयाँ जीवन धारण गर्न अर्को शरीर लिन्छ, सर्पले काँचुली फेरे सरी ।

जानकी फाउण्डेसन फर ग्लोवल हेल्थकेयर यू।के।लंदनकी संस्थापक तथा विंग्स अफ सोल,पल्स अफ विंज्डम, कम्पेनियन विंथ गड र इनसाइड आउट पुस्तक समेतकी लेखिका दादीजीलाई मूल्यनिष्ठ शिक्षा एवं आद्यात्मिकताको क्षेत्रमा विश्वभर योगदानको सम्मानस्वरुप वर्ष २०१२ मा गितम् विश्वविद्यालय विशाखापट्नमद्धारा मानार्थ विद्यावारिधी उपाधी दिइएको थियो । अमेरिकाको टेक्सास मेडिकल एण्ड साइन्स इंस्टीच्यूटका वैज्ञानिकहरुको परिक्षणबाट संसारको सर्वाधिक स्थिर मन भएकी महिला उपाधीबाट विश्व रेकर्ड वनाउन सफल एवं भारत सरकारद्धारा स्वच्छ भारत मिशनकी व्राण्ड एम्वेस्डर नियुक्त भै दादीकै नेतृत्वमा स्वच्छता अभियान समेत सञ्चालन गरिएको थियो ।

योग शक्तिकी मिसाल,अद्भूत र अद्धितीय व्यक्तित्वकी धनी दादीको दैनिक ब्रह्ममुर्हूत ४ वजेको जागरण, नियमित ईश्वरीय महाबाक्य९मूरली० अध्येता सताव्दी महिला युवा उत्साह जोश जाँगरकी धरोधरको देवलोक गमनले विश्वभरमा शोकको लहर छाएको छ । दादी जानकीको कर्मयोगको बारेमा अवंकनिङ्ग विंद ब्रह्माकुमारीज कार्यक्रमकी राजयोग प्रशिक्षक उत्प्रेरक वक्ता ब्रह्माकुमारी शिवानी भन्नुहुन्छ “सधै विनम्र र सरल दादी जानकी एक देवदुत हुनुहुन्थ्यो, जो हामी सबैकी एक दादी, आमा, साथी र मार्गदर्शक रहनुभयो । उहाँ ज्ञानकी अवतार हुनुहुन्थ्यो,जसले विश्व समाजमा आध्यात्मिक सेवालाई उचाई दिन अन्तिम श्वाससम्म निरन्तर, अथक सेवा गर्नुभयो ।” लाखौ आत्माहरुकी पथ प्रदर्शक एवं मार्गदर्शक दादीजीको निधनमा भारतका राष्ट्रपति रामनाथ कोविंद, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत नेपालका प्रधानमन्त्री र विश्वभरका वरिष्ठ राजनेताहरु, विभिन्न धर्मका धर्मगुरुहरु र हजारौ संघसंस्थाका पदाधिकारीहरुले गहिरो दुख प्रकट गर्दै शोक सन्देश पठाउनु भएको थियो । सच्चाई,सफाई तथा सादगी जीवनको आधारशीलाकी मूर्धन्य चैतन्य देवीस्वरुपा दादीज्यूप्रति सत् सत् नमन एवं हार्दिक श्रद्धाञ्जली । ओम् शान्ति !!!

माधव तिमिल्सेना प्रवक्ता ब्रह्माकुमारीज मधुवन आद्यात्मिक पुनर्जागरण केन्द्र,घोराही