खेमराज रिजाल
बेलझुण्डी, १० चैत । दुई वर्षदेखि ओपिडी सेवा बन्द भइरहेको छ । प्रयोगशालामा जनशक्ति नहुँदा विद्यार्थीले नियमित अभ्यास गर्न पाएका छैनन् । एकाडेमिक भवनको एउटा पढाइ–कक्ष सुनसान थियो । पूरै कक्षाभरिका बेन्चमध्ये एउटा बेन्चमा मात्रै विद्यार्थीको ब्याग थियो, अरु पूरै खालि । त्यो दशौँ व्याच रहेछ । बाहिर अर्को व्याचका विद्यार्थीले भनिरहेका थिए, ‘अहिले भाइभा चल्या छ, त्यही भएर एक सातादेखि यो व्याचको पूरै पढाइ ठप्प छ ।’ यो नियति नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानद्वारा सञ्चालित केन्द्रीय आयुर्वेद विद्यपीठ बेलझुण्डीको हो ।
अर्को कक्षामा पुग्दा विद्यार्थीहरू ‘पिन–ड्रप’ साइलेन्सको अवस्थामा थिए । कक्षाभरि विद्यार्थी तर उनीहरूलाई पढाउने शिक्षक थिएनन् । ‘टिचर आउनु भा‘छैन ?’, पत्रकारको जिज्ञासामा विद्यार्थीको हुलबाट जवाफ आएको थियो, ‘सेल्फ स्टडी, नो प्राक्टिकल ।’ धेरै आग्रह गरेपछि मात्र सो कक्षाका विद्यार्थीले मुख खोलेका थिए, ‘वर्षभरिमा ८० प्रियड पनि पढाइ हुँदैन, हामीलाई हामीले प्राप्त गर्ने डाक्टरी सर्टिफिकेटको गुणस्तरप्रति नै चिन्ता छ ।’ प्राक्टिकलमा फेल गराइदिने डरले विद्यार्थीहरू मिडियासँग क्याम्पसका समस्याका बारेमा खुल्न चाहँदैनन् ।
माथिको रोदन नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यपीठमा आयुर्वेद स्नातक (बिएएमएस) पढ्दै गरेका विद्यार्थीहरूको थियो । सो क्याम्पसका विद्यार्थीले आफ्नो शैक्षिक भवन पाउनै कम्तिमा दुई वर्ष आन्दोलन गर्नुपरेको थियो । आफ्नो क्याम्पस भवन फिर्ताका लागि विद्यार्थीले रजिष्ट्रारको कक्षमा तालाबन्दीदेखि घोराही–तुलसीपुर सडक जाम समेत गर्न बाध्य भएका थिए । प्रदेश सरकारसँग नजिक रहेका केही पदाधिकारीको तात्कालीन स्वार्थका कारण विद्यार्थीहरूले कोरोना संक्रमणभरि क्याम्पस भवन पाएनन् । संघीय मातहतको नेपाल संस्कृत विश्वविद्यालयले विद्यार्थीका भविष्यको कुनै चिन्ता नै नगरी कोरोना अस्पताल चलाउन आयुर्वेद क्याम्पस भवन नै प्रदेश सरकारले चलाएको कोरोना अस्पताललाई दिएको थियो ।
पढाइ र प्रयोगात्मक कक्षा नियमित नभए पनि सेमेस्टर परीक्षा र भाइभा त हुने नै भयो । कुनै विद्यार्थीले नियमित पठनपाठनलगायत प्रयोगात्मक कक्षा र ओपिडी आइपिडी सेवा माग गरे भने उनीहरूलाई भाइभामै फेल गराइदिनेसम्मका धम्की क्याम्पस प्रशासनबाट आउने गरेको विद्यार्थीले सुनाउँछन् । दुई वर्ष अघि चलेर पनि एकाएक बन्द भएको बिएएमएस शिक्षण अस्पतालको ओपिडी कक्षा अझै चल्नसकेको छैन । प्रयोगशाला सञ्चालनका लागि विश्वविद्यालय प्रशासनले जनशक्तिको निर्णय नगरिदिँदा ओपिडी सेवा नै अन्योलमा परेको छ ।
प्रयोगात्मक अभ्यासका लागि कहाँ जाने ? विद्यार्थीहरू चिन्ता पालेर बसिरहेका हुन्छन् । प्रयोगात्मक अभ्यासबिनाको स्वअध्ययनले विद्यार्थीलाई कहाँ पु¥याउने हो ? कस्तो गुणस्तरीय बनाउने हो ? विद्यार्थी स्वयम्लाई थाहा छैन । बिएएमएस कक्षालाई नै लक्षित गरेर सरकारले बेलझुण्डीमा बोटानिकल गार्डेन निर्माणका लागि लाखौँ रूपैयाँ बजेट दिएको वर्षौँ भयो तर त्यो पैसा कहाँ छ ? विद्यार्थीलाई थाहा छैन ।
बोटानिकल गार्डेनको बजेट गायव गरेर विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यपीठले विद्यार्थीलाई बोटानिकल गार्डेनको एक्सकर्शन टुरका लागि कास्कीका जंगल पु¥याउँछ । पञ्चकर्म सेवाका लागि पनि विश्वविद्यालययमा बजेट स्वीकृत भएको थियो तर किन बनेन पञ्चकर्म अध्ययनको अवस्था ? विद्यार्थीहरूले क्याम्पस प्रशासन समक्ष यही प्रश्न सोधिरहन्छन् । विद्यार्थीका समस्यामा पदाधिकारीहरू भने एकले अर्कालाई जिम्मेवारी थमाएर पन्छने गरेका छन् ।
निरीह जवाफ दिन्छन्, क्याम्पस प्रमुख मंगलाकान्त झा । तीनसाता अघि पत्रकारहरूसँगको कुराकानीमा तुरुन्तै ओपिडी कक्ष सञ्चालन हुने र प्रयोगशाला पनि नियमित रूपमा सञ्चालनमा आउने अभिव्यक्ति दिएका प्राचार्य झाले फेरि पनि उही अभिव्यक्ति दिए, ‘जनशक्ति व्यवस्थापन हुनासाथ यी सबै काम हुन्छन्, हामी अन्तिम प्रक्रियामा छौँ ।’ जनशक्ति थप्नका लागि आफूले पटक–पटक लिखित तथा मौखिक रूपमा माथिल्लो निकायमा आग्रह गरेको बताए । जनशक्तिको व्यवस्थापन किन भएन भन्ने जिज्ञासामा प्राचार्य झाको एउटै अभिव्यक्ति थियो, ‘सेवा आयोगले विज्ञापन नै गरेको छैन ।’
५१ जना शिक्षक प्राध्यापकको दरबन्दी स्वीकृत भएको केन्द्रीय आयुर्वेद विद्यपीठमा अहिले १२ जना स्थायी प्राध्यापक र ६ जना जति आंशिक प्राध्यापकले पठनपाठनको काम गरिरहेका छन् । ती प्राध्यापकलाई पनि नियमित आउनुपर्ने नियम कार्यान्वयन गर्न सकेको छैन, क्याम्पस प्रशासनले । न भौतिक उपस्थिति हुनुपर्ने, न त अनलाइन हाजिरी नै । मन लागे मात्र आउने अभ्यास बसाउँदै छन्, प्राध्यापकहरू । थप दरबन्दीका लागि विश्वविद्यालय कार्यकारी परिषद्ले स्वीकृत प्रदान गर्नुपर्ने विनियम छ तर अझै पनि विज्ञापन भएको छैन ।
सेवा आयोगले भने केही दिन अघि मात्रै कार्यकारी परिषदबाट केही दरबन्दी स्वीकृत भएर आएकाले शिक्षक प्राध्यापकको विज्ञापन गर्ने तयारीमा आयोग रहेको बताएको छ । ‘सबै कुरा सार्वजनिक गर्न मिल्दैन तर केही दरबन्दीमा अब चाँडै विज्ञापन हुनेछ, हामी अन्तिम प्रक्रियामा छौं’, विश्वविद्यालयका सेवा आयोग अध्यक्ष प्राध्यापक श्रीधर मज्गैयाँले पत्रकारहरूसँग भने । कहिलेदेखि नयाँ अध्यापक आउने भन्ने विषयमा भने उनले स्पष्ट बताउन चाहेनन् ।
विज्ञापनको प्रक्रिया पनि सहज छैन । कार्यकारी परिषदको निर्णयपछि प्राप्त दरबन्दीका विषयमा सेवा आयोगले फेरि लोकसेवा आयोगसँग परामर्श लिनु पर्नेछ । सेवा आयोगका पदाधिकारी र लोकसेवा आयोगका पदाधिकारीले काठमाडौंमा छलफल गरेर अन्तिम टुङ्गो लगाएपछि मात्रै सेवा आयोगले विज्ञापन गर्ने हो । त्यो सबै प्रक्रिया पूरा गरेर क्याम्पसमा नयाँ प्राध्यापक आउन अझै केही महिना कुर्नु पर्नेछ । कतै मिथिला क्याम्पसले चलाएको जस्तो त बन्ने होइन, केन्द्रीय आयुर्वेद क्याम्पसका बिएएमएस कार्यक्रम ? आम विद्यार्थी यही चिन्ताबीच सेमेस्टर परीक्षाको प्रतीक्षा गरिरहेका छन् ।