गोरक्ष समाचारदाता
दाङ, १० चैत । न्यायिक समितिमा जग्गा रोक्का, खाता रोक्काका मुद्दा बढी परेका छन् । घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा जग्गा रोक्का, खाता रोक्काका मुद्दा बढी परेको जनाएको छ । न्यायिक समितिले मंलवार पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा न्यायिक समितिका संयोजक तथा उपप्रमुख सीता सिग्देल न्यौपानेले यस्तो जानकारी दिएकी हुन् ।
पारिवारिक अविश्वास बढ्नु, घरेलु हिंसा बढ्नुजस्ता कारणले जग्गा रोक्का, खाता रोक्काका मुद्दा बढी पर्ने गरेको उनको भनाइ छ । घोराही उपमहानगरको न्यायिक समितिले चालु आर्थिक वर्ष २०७८÷०७९ को दोस्रो चौमासिकसम्म १ सय ६२ मुद्दा फस्र्योट भएका छन् । दुवै पक्षको जित हुने गरी १ सय ६२ वटा मुद्दा मिलापत्र गरिएको उपप्रमुख न्यौपानेले जानकारी दिइन् ।
न्यायिकमा चालु आर्थिक वर्षको पछिल्लो चार महिना यता नयाँ दर्ता भएका १ सय १६ मध्ये ५८ वटा मुद्दामा मिलापत्र भएको र ५८ वटा बाँकी गरी कूल ५९ मुद्दा पक्रियामै रहेको उनले जानकारी दिइन् । न्यायिक समिति गठन भएको करिब ५ वर्ष पुग्नै लाग्दा फागुन मसान्तसम्म ८ सय ७९ मुद्दा न्यायिक समितिमा दर्ता भएको न्यायिक समितिले जनाएको छ । जिम्मेवारी सरी आएका ९१ र नयाँ दर्ता भएका ३७ गरी १ सय २८ जग्गा तथा खाता रोक्का मुद्दामध्ये १ सय १२ मुद्दामा विवादको टुङ्गो लागेको छ भने १६ वटा बाँकी रहेको उनले बताइन् ।
यस्तै चालु आर्थिक वर्षको अहिलेसम्म जग्गा विवादका २१ वटा मुद्दामा मिलापत्र भएको छ भने २० वटा प्रक्रियामै रहेका छन् । घरेलु हिंसाका ७, लेनदेनको ६, कुलो नालापानीको ३, घरभाडाको १ र अन्यमा ११वटा मुद्दामा मिलापत्र भएको छ । यस्तै घरेलु हिंसाका २, लेनदेनको ८ र अन्यमा १० मुद्दा प्रक्रियामै रहेको उनले जानकारी दिइन् । पत्रकार सम्मेलनको सहजीकरण प्रतला देवकोटाले गरेकी थिइन् ।