मुलुकभर ३०औँ विश्व पानी दिवस मनाइरहँदा नागरिकका धारामा पर्याप्त पानी पु¥याउने अवस्थामा खानेपानी संस्था छैनन् । बढ्दो जनसंख्या र सहरीकरणसँगै खानेपानीको माग अत्यधिक बढिरहेको छ तर मागलाई सम्बोधन गर्नका लागि पर्याप्त पानी मुहानमा छैन । बढ्दो तापमानका कारण खोलानालाहरु सुक्न थालेका छन् ।
पानीका मुहानहरु सुक्न थालेका छन् । जमिन मुनिको सतहको पानी वर्षेनी तल झर्दै गएको छ । वर्षातको पानी पनि बढ्दो सहरीकरणका कारण बगेर जाने गरेको छ । यो अवस्थाले उपमोक्तालाई पानी पु¥याउनै मुस्किल भएको छ । यसले जिल्लामा व्यापक समस्या ल्याउन थालिसकेको छ । संस्थाहरु उपभोक्तालाई पानी उपलब्ध गराउने समय कटौती गर्दै आलोपालोको व्यवस्थापन गर्न बाध्य भएका छन् । यो समस्या दिन प्रतिदिन चुलिँदै गएको छ । मूलहरु सुक्ने मात्र नभएर भूमिगत जलस्रोतको अवस्था पनि हरेक वर्ष तलतल भासिँदै गएको छ । जसले जिल्लालाई मरुभूमिकरणतर्फ उन्मुख बनाउँदै आएको छ ।
मुहान सुक्दै जानुका विभिन्न कारणहरु छन् । दाङ जिल्लाको सन्दर्भमा विश्लेषण गर्दा उत्तरी महाभारतका शृंखलाहरुमा रहेका पहाडहरुबाट व्यापक रुपमा चुनढुङ्गाको उत्खनन् भइरहेको छ । व्यक्तिदेखि उद्योगसम्मले चुनढुङ्गा उत्खनन्को लाइसेन्स लिएर उत्खनन् गर्न थालिसकेका छन् । यो उत्खनन्को क्रम अझै वर्षौँसम्म रोकिने छैन । किनकि उत्खनन्का लागि स्थानीय पालिका एवं सरकारले वर्षौसम्मको अनुमति दिइसको छ ।
वर्षातको पानीलाई सोसेर राख्ने चुनढुङ्गा नै व्यापक रुपमा उत्खनन् हुन थालेपछि पानीका मुहानहरुमा पानी कम हुँदै गएको छ । कतिपय मुहानहरु सुकिसकेका छन् । मुहान सुक्नुमा वन विनाश पनि प्रमुख कारण बनेको छ । मुहान क्षेत्रमा वृक्षारोपणका कार्यक्रमहरु स्थानीय सरकारले ल्याउन नसक्दा यहाँका कैयन खहरे खोलामा पनि पानी देखिन छाडेको छ । उत्तरी महाभारत शृंखला उजाड देखिन थालेका छन् ।
जीवनका लागि पानी अत्यन्तै नभइ नहुने कुरा हो । हरेक वस्तु उपभोगका लागि केही समय रोक्न सकिन्छ तर पानीका लागि कुनै पनि प्राण्ीा एक घण्टा पनि रुक्न सक्ने अवस्था रहँदैन । पानीको समस्या यसरी विकराल बन्दै गएको छ कि अब हुने तेस्रो विश्वयुद्ध पनि पानीकै बाँडफाँडको विवादका कारण हुनेछ भनेर वैज्ञानिकहरुले उद्घोष गरिसकेका छन् । यसमा अब सबै नागरिक गम्भीर हुन आवश्यक छ ।
जिल्लामा अब थप सिमेन्ट उद्योग सञ्चालनको लाइसेन्स रोक्न स्थानीय सरकारले अर्थपूर्ण पहल गर्न नितान्त आवश्यक छ । साथै मुहान क्षेत्रमा वृक्षारोपणसँगै परेको पानी सम्बन्धित क्षेत्रमै सञ्चित गर्नका लागि विभिन्न स्थानमा जलाशय निर्माणमा पनि स्थानीय पालिका अघि बढ्न आवश्यक छ । यसो भएमा मात्र थप केही वर्ष पानीको समस्या टर्न सक्नेछ । पानीको स्रोत संरक्षणमा सबै निकाय गम्भीर बनौँ । जिल्लालाई मरुभूमिकरण हुनबाट रोकौँ ।