गोरक्ष समाचारदाता
दाङ, ६ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भइरहेकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा दशौँ दिन शनिवार अत्यधिक भिड थियो । प्रदर्शनी आयोजना गरेको स्थल पूरै भरिएको थियो । भिड बढी भएकाले व्यवस्थापन गर्ने समेत हम्मे–हम्मे परेको थियो । दर्शकको बढी चाँपसँगै व्यापार व्यवसाय पनि बढेको थियो । शनिवार विद्यार्थीहरू बढी आएका थिए । प्रदर्शनीमा शनिवार लघु रुद्री पाठ तथा हवन गरिएको छ । २१ जना बटुकद्वारा लघु–रुद्री पाठ गरिएको हो ।
प्रदर्शनीमा दैनिक दर्शकको आषर्कण बढ्दै गएको छ । दिउँसो चर्को घामको पनि प्रभाव नगरी उनीहरू रमाउने गरेका छन् । बिहानदेखि साँझसम्मै कलाकारहरूसँगै रमाउने गरेका छन् । प्रदर्शनीमा दैनिक नागरिकको सहभागिता बढ्दै गएको मूल आयोजक समितिले जनाएको छ । प्रदर्शनीको दशौँ दिन पनि साँझसम्म पनि दर्शकको उल्लेखनीय सहभागिता थियो ।
प्रदर्शनीमा रहेका पसलहरूमा ग्राहकको भीड रहेको थियो । ग्राहकले आफूलाई आवश्यक पर्ने सामग्रीहरू खरिद गरेर लग्ने गरेका छन् । प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरू तथा स्थानीय कलाकारहरूलाई नाँचेर साथ दिएका थिए । चर्को घामको प्रवाह नगरी नागरिक कलाकारसँगै रमाएका थिए । दर्शकलाई घामबाट बचाउन टेन्ट र बस्नका लागि दरीको समेत व्यवस्था गरिएको छ । दर्शकलाई बस्न समेत सहजा भएको छ ।
प्रदर्शनीमा शनिवार विष्णु खत्री, नरेश खाती, रिता केसी, शेखर घर्ती मगर, याङ्सु श्रेष्ठ, देवेन्द्र बस्नेत, उमादेवी खनाल तथा स्थानीय कलाकाले प्रस्तुती राखेका थिए । आइतवार शिव परियार, सन्दीप न्यौपाने, रीता रावत, मालती घले, प्रेमविवश घर्ती, टोपेन्द्र विष्ट, उमादेवी खनाल साथै अन्य कलाकारको प्रस्तुती रहने आयोजक समितिले जनाएको छ ।
प्रदर्शनीमा बालबालिका बालउद्यानमा रमाउने गरेका छन् । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ फागुन २६ गतेदेखि चैत ८ गतेसम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइ रहेको छ । प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड बढीको कारोबार हुने मुख्य आयोजक समितिले जानकारी दिएको छ ।
यसैगरेर लोक दोहोरी प्रतियोगीता पनि सञ्चालन भइराखेको छ । आइतवार खुल्ला कविता प्रतियोगिता हुने भएको छ । यसैगरेर प्रदर्शनीको अवसरमा हेलीकोप्टरमार्फत् लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गरिररहेका छन् ।