गोरक्ष समाचारदाता
दाङ, ६ चैत । घोराही–१५ रतनपुरको गुरुकुल एकेडेमीले कक्षा १ र ११ मा मात्रै नयाँ भर्ना लिने भएको छ । शनिवार पत्रकार सम्मेनल गर्दै गुरुकुल एकेडेमीले आगामी शैक्षिकसत्रदेखि कक्षा १ र ११ मा भर्ना लिने जानकारी दिएको छ ।
स्थापनाकालदेखि नै संख्यात्मकभन्दा शैक्षिक गुणस्तरमा जोड दिने भन्दै कक्षा १ मा २४ जना विद्यार्थी संख्या र कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकायमा ०÷० जना विद्यार्थी सिट संख्यामा भर्ना खोल्ने विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले बताए ।
कक्षा २ देखि ९ सम्मका सबै कक्षाका सिट खाली नभएकाले उत्कृष्ट अंक ल्याउने दुई जना विद्यार्थीलाई मात्र नयाँ भर्ना दिने उनले बताए । ‘धेरै विद्यार्थी भर्ना गरेर संख्या बढाउनेभन्दा पनि गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ भन्ने सोचले नयाँ भर्ना रोकेका छौँ’, उनले भने, ‘विद्यार्थीको संख्यात्मक वृद्धिभन्दा पनि शैक्षिक गुणस्तर बढाउन ध्यान दिएका छौँ’, उनले भने ।
नेपाल पत्रकार महांघ दाङका अध्यक्ष दुर्गालाल केसीले विद्यालयहरूले विद्यार्थी संख्या बढाउने होडबाजीभन्दा शैक्षिक गुणस्तर वृद्धमा ध्यान दिनुपर्ने बताए । ‘धेरै विद्यालयहरू कसरी हुन्छ विद्यार्थी संख्या बढाउनतर्फ लागेको नै देखिन्छ’, उनले भने, ‘त्यसले गुणात्मक वृद्धि त होला तर गुणस्तरीय शिक्षा प्राप्त हुँदैन ।’
उनले गुरुकुलले गरेको नयाँ अभ्यास अन्य विद्यालयले पनि सिक्नुपर्ने बताए । विद्यायलका प्लस–टु कोअर्डिनेटर निमानन्द गैरेले यसले विद्यार्थी संख्या बढाउने प्रणालीको अन्त्य गर्दै शैक्षिक गुणस्तरमा भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
पत्रकार सम्मेलनका क्रममा विद्यालयले आगामी शैक्षिक सत्रका लागि कक्षा १ को भर्नाका लागि फाराम चैत १५ गतेदेखि खुला गरिने तथा प्रवेश परीक्षा बैशाख १० मा तय गरेको छ । विद्यालयका सहायक प्रधानाध्यापक गिरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्लस–टु कोअर्डिनेटर निमानन्द गैरेले गरेका थिए । कार्यक्रममको सहजीकरण शिक्षक विवेक देवकोटाले गरेका थिए ।