बालाराम खड्का
तुलसीपुर, ६ चैत । यतिबेला जनताले विकास, देशले निकास खोजेको छ । त्यो सबै गर्ने पार्टी नेपाली कांग्रेस हो । अब कांग्रेसलाई जिताउन तल्लो तहदेखि ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु भएको छ । ‘अब कोही पनि फुर्सदमा चिया पसलमा गफ छाँटेर आप्mनै नेता र कांग्रेसलाई गाली गर्ने समय होइन, सबै जुटौँ र व्यक्ति होइन पार्टीलाई बलियो बनाऔँ’, सहभागीको भनाइ थियो । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ ले लामीदमारमा आयोजना गरेको कार्यक्रममा कांग्रेसका नेताहरूले आगामी चुनावमा आफ्नो पक्षमा नतिजा ल्याउन घर–घर, टोल–टोलमा जान सबैलाई निर्देशन दिएका छन् ।
नेपाली कांग्रेस वडा इकाई समिति तुलसीपुर–४ का सभापति नन्दलाल पुनको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका निवर्तमान पार्टी सभापति कीर्तिबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै खड्काले चुनाव पार्टीले जित्ने भएको भन्दै व्यक्ति गौण भएकाले आम नेताकार्यकर्ताको ध्यान अब चुनावतिर जानुपर्ने बताए । उनले अघिल्लो सरकारका भ्रष्टाचारका शृंखलाहरूलाई आम मतदातामाझ पु¥याएर कांग्रेसले गरेका विकास निर्माणका मुद्दालाई सही ढङ्गले जानकारी गराउनका लागि पनि अभियान सुरु भएको भन्दै व्यथितिलाई चिनुपर्ने बताए । उनले एमसीसीमा कम्युनिस्टहरूले गलत व्याख्या गर्ने गरेको भन्दै त्यातातिर पनि कांग्रेसले जनतालाई बुझाउनुपर्ने बताए ।
‘विदेशी अनुदानले यहाँ विकास हुने हो, गरिबी घटाउने अनि देशको विकास गर्ने हो तर यहाँ त्यसलाई गलत प्रचार गरिएको छ, कोही पनि भ्रममा नपर्नुहोला’, खड्काले भने, ‘एमसीसी प्रयोजना राष्ट्रका हितमा रहेको छ, कांग्रेसजस्तो जनताप्रति उत्तरदायी दलले गलत भएको भए त्यसलाई लागू गर्नुपर्छ भन्ने थिएन, सबै ढुक्क हुनुहोस्, यसले देशको विकास गर्नेछ ।’ खड्काले नेपाली कांग्रेसलाई जिताउन सबै लाग्नुपर्ने भन्दै विगतका कमीकमजोरीलाई सबैले आत्मसात गर्दै अब एक भएर चुनावी अभियानमा लाग्न आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा नेपाल दलित संघ लुम्बिनी प्रदेशका सभापति जोगेन्द्र विश्वकर्माले जब–जब देशमा संकट आउँछ तबमात्र कांग्रेसको खोजी हुने भन्दै कांग्रेस नै दलित, जनजाति, सबैवर्ग क्षेत्रको प्रतिनिधित्व गर्ने पार्टी भएको बताए । उनले जनताको हकहितका लागि लड्ने पार्टी कांग्रेस भएको भन्दै कांग्रेसलाई जिताउन सबै लाग्नुपर्ने बताए । उनले अभियानका सन्दर्भमा प्रष्ट पार्दै ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने एउटा अभियानमा विभिन्न उद्देश्यहरू रहेको भन्दै अब कांग्रेस आफ्नो कार्यकर्ता र प्रतिपक्षको घरघरमा जाने बताए ।
नेतृत्व कसलाई दिने भन्ने विषयमा मेरो मान्छेभन्दा पनि हाम्रो र राम्रो मान्छेलाई दिने बताए । ‘पार्टीले यसपटक उचित मूल्याङ्कन गरेर टिकट दिनेछ, जसले टिकट पाउँछ उसैलाई जिताउन सबै लाग्नुपर्छ’, विश्वकर्माले भने । उनले कांग्रेसले ४ नं. वडा हार्दा विकासले पनि हारेको बताए । ‘यही वडामा चमेरेगुफा छ, यहाँसम्म जाने बाटो निर्माणका लागि हरेक वर्ष बजेट आउँछ तर कहाँ जान्छ थाहा छैन, अब त्यसको पनि खोजीनीति गर्नुपर्छ’, उनले भने ।
त्यस्तै नेपाली कांग्रेसकी नेतृ चित्रा गिरीले नेपाली कांग्रेसलाई बलियो बनाउन सबै लाग्नुपर्ने भन्दै यस अभियानले कांग्रेसलाई विजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् । ‘कांग्रेसले कांग्रेसलाई नै घात गर्दा त्यसको परिणाम हामीले भोगेका छौँ, अब विगतका कमीकमजोरीलाई सच्याएर अगाडि बढनुपर्छ’, उनले भनिन् । यसैगरी नेपाली कांग्रेसका पूर्व जिल्ला सहसचिव सुरेन्द्रबहादुर खड्काले व्यक्तिभन्दा पनि पार्टी ठूलो भएको भन्दै पार्टीलाई कसरी स्थानीय तहदेखि बलियो बनाउन सकिन्छ त्यसतर्फ सबै लाग्नुपर्ने उनको जोड थियो ।
उनले टिकटका लागि सबैले दाबी गरे पनि जसले टिकट पाउँछ त्यसलाई जिताउनतर्फ लाग्नुपर्ने बताए । ‘अब सबै क्रियाशील सदस्यदेखि शुवेच्छुकहरू स्वतःस्फूर्त रूपमा कांग्रेस जिताऔँ अभियानमा लाग्नुपर्छ, व्यक्तिभन्दा पनि पार्टी ठूलो हो, कांग्रेसलाई जिताउन लाग्नुपर्छ’ उनले भने । त्यसका लागि सबै घरघर पुगेर अभियानलाई सफल बनाउनु पर्ने बताए । उनले एमसीसीको बारेमा जनतालाई गलत प्रचार गरेको भन्दै यस विषयमा पनि सबै प्रष्ट हुनुपर्ने बताए ।
यस्तै नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले कांग्रेसलाई वडा तहबाटै सवल र सक्षम बनाउन ध्यान दिनुपर्ने बताए । ‘कांग्रेसले घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियान ल्याएको छ, अब नेता कार्यकर्ता अभियान लिएर हरेक मतदाताको घरसम्म पुग्नुपर्छ’, नरसभापति हमालले भने । उनले तुलसीपुर उपमहानगरपालिका स्मार्ट सिटी नाम मात्रको भएको भन्दै विगतका जनप्रतिनिधिले गरेको विकासले त्यसको पुष्टि गरेको भन्दै उनीहरूलाई प्रश्न सोध्ने बेला आएको बताए ।
‘त्यसका लागि कांग्रेसलाई वडा तहबाटै सवल र सक्षम बनाउन ध्यान दिनुपर्ने बताए । ‘अब कोही पनि फुर्सदमा चिया पसलमा गफ छाँटेर आप्mनै नेता र कांग्रेसलाई गाली गर्ने समय होइन, सबै जुटौँ र व्यक्ति होइन पार्टीलाई बलियो बनाउने बेला आएको छ, यो वडा विपक्षले जितेको वडा हो, यसको विषयमा पनि जनतालाई बुझाउनुहोस्’, उनले भने । साथै उनले एमसीसीको नाममा कुनै पनि हालतमा अमेरिकी सेना नेपालमा नआउने भन्दै एमसीसीका नेपाललगायत अन्य देशमा पनि लागू भएको भन्दै यसको गलत प्रचारलाई चिर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य पूर्णबहादुर खड्का, पूर्व वडा इकाई सभापति लेखकुमार कार्की, क्षेत्रीय प्रतिनिधि दामोदर न्यौपाने, कमलाकुमारी विक, ध्रुव गौतम, शिक्षक संघका पूर्व क्षेत्रीय सचिव भूपबहादुर केसी, नेपाली कांग्रेस नगर सचिव बिमल पौडेललगायतले कांग्रेस जिताऔँ अभियानमा सबै लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रममा नेकपा एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका रमेश डिसीले नेपाली कांग्रेसले मात्र गाउँ–ठाउँको विकास र जनताको सुख–दुःखमा साथ दिने भएकाले आफू एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेको बताएका थिए । उनको नेतृतमा खर्कबहादुर सुनारलगायत विभिन्न ३७ जनाले पार्टी प्रवेश गरेका थिए । यस्तै जंगबहादुर खत्रीलगायतका व्यक्तिले पनि नेकपा माओवादी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए ।
उनीहरूलगायत विभिन्न युवाहरूले कांग्रेस प्रवेश गरेका थिए । नेपाली कांग्रेस वडा इकाई ४ का सचिव तेजप्रसाद खनालको स्वागतबाट सुरु भएको कार्यक्रमको सहीजकरण नगर सचिव सुशील वलीले गरेका थिए ।