पाँचाँै राष्ट्रिय हाप्किडो च्याम्पियनसिप सुरु

गोरक्ष समाचारदाता
दाङ, ६ चैत । प्यूठानको पाँचौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप–२०७८ सुरु भएको छ । नेपाल मार्शल आट्र्स हाप्किडो संघ प्यूठान जिल्लाको आयोजना तथा माण्डवी गाउँपालिकाको सहयोगमा पाँचौँ राष्ट्रिय प्रतियोगिता प्यूठानको जसपुरमा सुरु भएको हो ।

नेपाल मार्शल आट्र्स हाप्किडो संघ प्यूठान जिल्ला अध्यक्ष टेकराज केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य हरिप्रसाद रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्रबहादुर रोकाय, माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोका, माण्डवी गाउँपालिका उपाध्यक्ष मुगा पुन, नेपाल मार्सल आट्र्स दक्षिण एशियाली महासंघ अध्यक्ष कालीबहादुर घर्ती, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजाल, इन्द्रजित गणका सेनानी सविनविक्रम कवँरले राष्ट्रको गहना र प्रतिष्ठानसँग जोडिएको खेलकुद क्षेत्रको विकास हुन आवश्यक रहेको बताएका थिए ।

खेलले स्वास्थ्यसँगै युवाहरूलाई अनुसाशित बनाउँदै दक्ष, सक्षम र योग्य नागरिक उत्पादन गर्न सहयोग पु¥याउने बताएका थिए । उनीहरूले कला र ज्ञानसँग जोडिएको खेलकुदमा युवाहरूलाई जोड्नसके देशको बेरोजगारी समस्या समेत हटाउन सहयोग पुग्ने भन्दै खेललाई ग्रामीण स्तरबाटै विकास गर्न आवश्यक रहेको बताएका थिए । त्यसका लागि स्थानीय तहहरूले खेलहरूलाई उत्साह जगाउने गरी खेलका संरचना निर्माणदेखि लगानी गर्न आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

प्रतियोगितामा सात प्रदेशसँगै घोराहीमा रहेको नेपाल प्रहरी स्कूलको टिम सहित आठवटा टिमको सहभागिता छ । कार्यक्रमको सहजीकरण नेपाल मार्सल आट्र्स हाप्किडोका उपसचिव यमराज पाठकले गरेका थिए । तीन दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न १३ समूहका खेलाडीले भाग लिएका छन् । विजेताले पुरस्कार समेत प्राप्त गर्ने आयोजकले जनाएको छ ।