बिजौरी उवासंघको नवौं साधारणसभा
गोरक्ष समाचारदाता
बिजौरी, ६ चैत । बिजौरी उद्योग वाणिज्य संघको नवौं साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि तथा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले उदाउँदो बजार बिजौरीले यस क्षेत्रको कृषि एवं पर्यटकीय क्षेत्रलाई माथि उकास्नसके यसले यस क्षेत्रको समग्र समृद्धिमा टेवा पुग्ने बताएका छन् । ऐतिहासिक पर्यटकीय क्षेत्र छिल्लीकोटमा पर्यापर्यटनको विकासमा बिजौरी उद्योग वाणिज्य संघले स्थापनाकालदेखि नै सराहनीय प्रयास गर्दै आएको बताउँदै प्रमुख अतिथि बुढाथोकीले यो अभियानलाई निरन्तरता दिन पनि सुझाव दिएका छन् ।
सरकार व्यावसायिक समृद्धिका लागि अझै पनि उदार हुन नसकेको बताउँदै प्रमुख अतिथि बुढाथोकीले दाङलाई औद्योगिक क्षेत्र घोषणा गरेको एक वर्ष पुग्दा पनि औद्योगिक पूर्वाधार निर्माणमा सरकार मौन रहेकोमा आक्रोश पनि पोखे । ‘हामीलाई औद्योगिक क्षेत्र घोषणा मात्र चाहिएको थिएन, हामीलाई त उद्योग सञ्चालनका पूर्वाधार निर्माण चाहिएको हो तर यसमा सरकारी पक्ष अझै पनि उदासीन छ’, साधारणसभामा प्रमुख अतिथि बुढाथोकीले भने ।
उनले समग्र दाङको व्यावसायिक समृद्धिका लागि सबैभन्दा पहिलो शर्त भनेको यहाँको विमान स्थलको स्तरोन्नति भएको बताउँदै यसमा जिल्लाभरका सबै उद्योग वाणिज्य संघहरूले हातेमालो गर्नुपर्ने पनि सुझाव दिए । यसैगरी घुम्ती व्यापारीहरूलाई सरकारले निरुत्साहित गर्न नसकेको उल्लेख गर्दै बुढाथोकीले व्यवसायीहरूको जोडबलले मात्रै घुम्ती व्यसायीहरूलाई रोक्न सकिएको पनि दाबी गरे । साथै उनले व्यवसायीहरूलाई व्यापारमा मात्र सीमित नरहेर सामाजिक उत्तरदायित्व वहनमा पनि तयार रहन आग्रह गरेका थिए ।
बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिव विदुर गौतमले बिजौरी उद्योग वाणिज्य संघले यस क्षेत्रको व्यावसायिक एवं आर्थिक समृद्धिका लागि गरेका प्रयासहरू र भावि कार्यक्रम समेतको वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी संघका कोषाध्यक्ष चित्रबहादुर खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनीहरूले प्रस्तुत गरेका प्रतिवेदनलाई साधारणसभाको बन्दसत्रले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो ।
बिजौरी उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष बालकृष्ण रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सबै पत्रकारहरूको तर्फबाट गोकर्ण पौडेल, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मीनराज भण्डारी, जनता संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमबहादुर डाँगी, प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका अस्पताल विकास समिति अध्यक्ष विष्णुप्रसाद आचार्य, सल्लाहकार तथा नेपाली कांग्रेस तुलसीपुर १८ का सभापति वीरेन्द्र खड्का, पुष्पा डाँगी, नेकपाका रैबहादुर बस्नेत, माओवादी क्रान्तिकारीका इञ्चार्ज नन्दराम रोका, पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रका डिल्लीबहादुर रावत, पूर्व अध्क्ष द्वोय मुकेश वली र कमानसिंह खड्का, तुलसीपुर उपमहानगरपालिका–१९ का वडाध्यक्ष रामबहादुर योगीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा बिजौरी उद्योग वाणिज्य संघको भवन निर्माणका लागि मूल्यवान जग्गादान गर्ने दाता टेकराज रजौरे र श्रीमती दुर्पदा रजौरेलाई सम्मान गरिएको थियो । उनीहरूले बुबाआमा एवं सासुससुरा स्वर्गय टोपेन्द्य्र टोपेन्द्र चुरामणि रजौरे र स्वर्गीय रुक्मिणा देवी रजौरेको स्मृतिमा जग्गा दान गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव विदुर गौतमले गरेका थिए ।