पेसागत महासंघको अध्यक्षमा डाँगी

पेसागत महासंघको छैठौं अधिवेशन
गोरक्ष समाचारदाता

दाङ, ६ चैत । पेसागत महासंघ दाङको अध्यक्षमा खिमबहादुर डाँगी चयन भएका छन् । शनिवार सम्पन्न अधिवेशनले डाँगीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । महासंघको उपाध्यक्षमा लालमणि खड्का र महिला उपाध्यक्षमा रमा आचार्य चयन भएका छन् ।

यसैगरेर सचिवमा ठाकुरप्रसाद खनाल, कोषाध्यक्षमा सुरेशकुमार शर्मा र सहसचिवमा प्रभात पोख्रेल चयन भएका छन् । यसैगरेर सदस्यमा लक्ष्मी अधिकारी, रेश्मी चौधरी, मीना केसी, मोहनलाल यादव, बलबहादुर खड्का, नवीन न्यौपाने, ईश्वरी घिमिरे, हुमबहादुर वली र डम्बर चन्द चयन भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

गठबन्धनसँग जनतामा जाने एजेण्डा छैन : इञ्चार्ज चौधरी

यसैबीच नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा दाङ इञ्चार्ज नरुलाल चौधरीले एमालेको पक्षमा जनमत भएको भन्दै स्थानीय चुनावमा बहमुत सिट जित्ने बताएका छन् । उनले त्यो जनमतको परिनाम आउँदो चुनावमा प्रमाणित भएर जाने बताए । ‘एमालेको पक्षमा जनमत छ’, पेशागत महासंघ दाङको छैठौँ अधिवेशनलाई शनिवार घोराहीमा सम्बोधन गर्दै इञ्चार्ज चौधरीले भने, ‘एमालेलाई मतदान गर्न जनता चुनावको मिति कुरेर बसेका छन् । एमालेले चुनावमा बहुमत सिट जित्छ ।’

इञ्चार्ज चौधरीले एमालेप्रति जनताको विश्वास बढेर गएको समेत बताए । ‘एमालेप्रति जनताको लहर नै छ, प्रत्येक दिन जिल्लामा सयौँको संख्यामा पार्टी प्रवेश गरेका छन्’, उनले भने, ‘यसले जनता र समृद्धि ल्याउने पार्टी एमाले नै भएको सिद्ध भएको छ ।’ इञ्चार्ज चौधरीले अन्य पार्टी गठबन्धन गरेर जाने हल्ला गरे पनि त्यो त्यति सम्भव नभएको बताए । ‘गठबन्धन भन्ने त्यति सजिलै हुने चीज होइन । भए पनि त्यो त्यति प्रभावकारी हुन सक्दैन’, उनले भने, ‘चुनाव कार्यकर्ताले मात्र भोट हालेर जित्ने होइन । जनताले गठबन्धनलाई भोट हाल्दैन । जनताले भोट हाल्ने सूर्य चिह्न नै हो ।’

इञ्चार्ज चौधरीले एमालेले जितेका क्षेत्रमा धेरै राम्रो काम भएको बताए । उनले कांग्रेस र माओवादीसँग जनतासँग जाने कुनै एजेण्डा नरहेको समेत बताए । उनले विगतमा पेशागत महासंघले पार्टीलाई ठूलो सहयोग गरेको भन्दै आउँदा दिनमा त्यो सहयोग बढेर जाने विश्वास समेत व्यक्त गरे । ‘पेशागत क्षेत्रमा धेरै क्षेत्रका साथीहरू हुनुहुन्छ, उहाँहरूले बोल्ने, लेख्ने कार्यले पार्टीप्रति धेरै नागरिकको भरोसा र विश्वास बढाउने गरेको छ’, इञ्चार्ज चौधरीले भने, ‘उहाँहरूले दिने सुझावले पार्टीलाई थप गतिशील र जनमुखी बनाउने गर्छ ।’

पेशागत महासंघ दाङका संयोजक अरुणकुमार शर्माको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष हुकमबहादुर बस्नेत, सचिव मनोहर बुढाथोकी र एमाले स्कूल विभाग प्रमुख विवेक श्रेष्ठले पार्टीलाई गतिशील बनाउन पेसागत महासंघको भूमिका महत्वपुर्ण भएको वताए ।

कार्यक्रममा पेशागत महासंघका स्थायी कमिटी सदस्य उद्धव न्यौपाने, नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य श्याम आचार्य, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य गोकर्ण वली, नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष दामोदर बस्नेत, नेपाल निजामति कर्मचारी संगठन दाङका अध्यक्ष शेरबहादुर केसी, नेपाल बुद्धिजीवी परिषद् दाङका अध्यक्ष विकास गौतम, पेसागत महासंघका प्रदेश सदस्य श्रीमन न्यौपानेलगायतले मन्तव्य राखेका थिए । पेसागत महासंघ दाङका उपाध्यक्ष सम्झना शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममको सहजीकरण पेशागत महासंघ दाङका सहसंयोजक रमा आचार्यले गरेकी थिइन् ।