मुखिया जागिरको पहिलो तलव …

‘अरु साथीहरूलाई झुक्याएर तुलसीपुर स्थित लोक सेवा आयोगमा फारम भर्न म आउँथे । त्यसपछि दाङ जान्छु भनेर लुकेर परीक्षा दिन आउँथे’, शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगीले भने ।

उनले त्यो प्रयास र निरन्तरतापछि २०५४ सालमा लोक सेवा आयोगबाट मुखियामा नाम निकाल्न सफल भएको बताए । उनले त्यसअघि २०५३ सालमा १३ सिटका लागि खुलेको नासु पदमा लोक सेवा दिए र लिखित पास गरेको तर मौखिकमा उनी सफल भने हुन नसकेको सुनाए । १५औँ स्थानमा आफ्नो नाम निक्लिएर वैकल्पिकमा आफू हुँदा दुःख भने लागेको सुनाए ।

तर त्यस लगत्तै एक वर्षमा मुखियामा नाम निकालेँ र नियुक्ति बुभ्mदा आफ्नो लक्ष्य प्राप्ति भएको उनले सुनाए । उनको जीवनमा पहिलो खुसी २०५४ सालमा लोक सेवा आयोगमा नाम निकालेर असोज ८ गते आफ्नो पहिलो तलव र दशैँभत्ता ४ हजार ३ सय रूपैयाँ हातमा पर्दाको सुनाए । ‘करिब ८ दिनको तलव र भत्ता बुभ्mदा जीवनमै पहिलो खुसी मैले त्यतिबेला पाएँ’, डाँगीले भने । उनले सो तलव घरमा बुबालाई लगेर हात पारिदिएको सम्झिए ।

‘त्यतिबेला बुबा पनि खुसी हुनुभयो, म पनि खुसी भएँ, जीवनको पहिलो कमाइ हात पर्दा खुसीले गदगद भएका थियौँ’, उनले भने । जिल्ला हुलाक कार्यालयमा आफ्नो पहिलो जागिरे जीवन सुरु भएको र त्यससँगै विभिन्न जिल्लामा पुगेर सेवा गरेको बताए । ‘आप्mनै गाउँठाउँमा त्यो बेला जागिर खाँदा कसलाई पो खुसी लाग्दैन र ? मेरो पहिलो खुसी मुखियामा नाम निकालेर पहिलो तलव हात पर्दाको हो, त्यही लेखिदिनुहोला’, प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने ।

उनी सेवाग्राहीहरूको काममा तल्लीन थिए । कार्यालयमा सेवाग्राहीहरूको भिड नै थियो । शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगीसँग खुसीका पलहरू खोज्ने क्रममा उनले जीवनमा अनुकरणीय खुसीका क्षणहरू नभए पनि केही जीवनका उकालीओरालीहरूमा खुसी भेटेको सुनाए । ‘त्यो बेला जागिरको महत्व धेरै थियो । मैले पनि बढेर जागिर खानुपर्छ भन्नेमा थिएँ ।

सल्यानको शारदा मावि संखमुलबाट २०४९ सालमा एसएलसी पास गरेका डाँगीले मुखिया पछि अर्को दुई महिनामा खरिदारमा नाम निकालेको सुनाए । त्यसपछि उनले सल्यानकै जिल्ला जनस्वास्थ्य, शिक्षा कार्यालय, जाजरकोट, प्यूठान, हुम्ला, बाँके, बर्दियादेखि विभिन्न जिल्लामा सेवा गरेको बताए । त्यससँगै अधिकृतमा बढुवा भएपछि अछाम, शारदा नगरपालिका, बर्दियादेखि विभिन्न स्थानमा पुगेर जनताको सेवा गरेको बताए ।

त्यो सँगै शारदा नगरपालिकाको प्रशासकीय अधिकृत हुँदा एकजना सेवाग्राहीलाई कर बुझाउँदा पैसा नपुगेको र आफूले उनलाई सहयोग गरेको भन्दै उनले बारम्बार भेट्दा सम्झने गरेकोमा खुसी व्यक्त गरे । त्यस्तै निजामति सेवामा लागेर जनतासँग प्रत्यक्ष जोडिएर जनचाहनाअनुसार काम गर्न पाउँदा खुसी लागेको सुनाए ।

डाँगीले शारदा नगरपालिका सल्यानमा आफूले सुशासन र प्रशासनिक सुधारमा अगुवाइ गर्न पाउँदा खुसी लागेको सुनाए । ‘पहिलेका प्रशासकीय अधिकृत काठमाडौंको हुनुहुन्थ्यो, धेरै दिन काठमाडौं र थोरै समय कार्यलयमा हुने, म गएपछि त्यहाँको प्रशासनिक कार्य सहज भएको थियो, त्यसमा पनि म खुसी छु’, उनले भने ।

त्यस्तै उनले आफू त्यहाँ रहँदा सल्यानमा फोहर व्यवस्थापनका लागि डम्पिङसाइटको जग्गा खरिद गरी फोहर व्यवस्थापनको लागि सहजीकरण गर्दा लागेको सुनाए । ‘अहिले त्यहाँका प्रमुखहरूलाई र सल्यानबासीलाई सहज भएको छ, डम्पिङसाइट निर्माण भएपछि म अत्यन्त खुसी भएको छु’, उनले भने । उनले आफूले सल्यान खलङ्गामा राजस्व संकलनका लागि सफ्टवेयर जडान गरी पेपरलेस गराएकोमा पनि खुसी व्यक्त गरे ।

डाँगीले अर्को खुसी त्रिवेणी गाउँपालिकाका रङ्गशाला निर्माणको विषयमा केही विवाद भएको र त्यसलाई सहजीकरण गरी रङ्गशाला बनाउनमा अग्रसरता देखाउन पाउँदा खुसी लागेको सुनाए । आफू त्रिवेणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा विकास निर्माणदेखि विभिन्न गतिविधिहरू सहज रूपले सम्पन्न भएकोमा पनि खुसी व्यक्त गरे ।

त्यस्तै उनले अछाममा कार्यकारी हुँदा पहिलो पटक नगरसभा सहज रूपले सम्पन्न गर्न पाउँदा खुसी लागेको सुनाए । ‘विसं २०७२ सालमा होला त्यहाँ जहिल्यै पनि नगरसभामा विवाद हुँदा स्थगित हुने चलन रहेछ तर म गएपछि नगरसभा सम्पन्न भयो, त्यसमा खुसी लाग्यो’, उनले भने, ‘तर नगरसभा सकिनै लाग्दा ढुङ्गा हानाहान भएको तर त्यसका वावजुत पनि नगरसभा सम्पन्न भएको भन्दै खुसी व्यक्त गरे ।

नगरसभा आफूले अन्तिममा सभा विसर्जन गरी त्यहाँबाट पुलिसको घेराबाट बाहिर निस्कँदा खुसी लागेको सुनाए । ‘एकछिन त अब यहीँ कुटाइ खाइने भो भन्ने लागेको थियो तर त्यस्तो अप्रिय घटना भने भएन’, उनले भने । त्यस्तै उनले अर्को खुसी बाल्यकालमा खोलाले बगाए पनि त्यसबाट बाँचेकोमा लागेको सुनाए । कक्षा ५ मा पढ्दा गाउँमा खोला तर्ने क्रममा आफू खोलाको भगालोमा फसेको र स्थानीय ठाकुरप्रसाद वलीले बचाएको सम्झिए ।

‘सानोमा खोला तर्ने क्रममा मलाई बगाएर लैजानै लागेको थियो, अरु साथीहरूले तरे म बगेँ तर म भन्दा सिनयर ठाकुरप्रसाद वलीले बचाउँनुभयो, त्यतिबेला पनि खुसी लागेको थियो’, उनले भने । त्यस्तै डाँगीले घरपरिवार र छोराछोरीको प्रगतिले पनि आफूलाई खुसी तुल्याएको सुनाए । उनले छोराछोरीहरू राम्रो बाटोमा लागेको भन्दै खुसी व्यक्त गरे । ‘छोरा क्यानडा छ, छोरी यहीँ विएसीएजी पढ्दैछ, छोराछोरीको प्रगति र राम्रो बाटोमा लागेकोमा पनि खुसी छु’, उनले भने ।

त्यस्तै उनले निजामति सेवामा लागेर सेवा गर्न पाएकोमा पनि खुसी व्यक्त गरे । ‘जागिर एउटा पेसा हो जनचाहना र राजनीतिक दलहरूलाई रिझाएर काम गर्न पाउँदा खुसी नै भएको छु’, उनले भने । डाँगीले काम गर्दा अनेकौँ बाधा–व्यवधान र चुनौती आउने गरे पनि चुनौतीलाई अवसरको रूपमा लिएर जनचाहनाअनुसार कार्य गर्न पाउँदा खुसी लाग्ने गरेको सुनाए ।

प्रस्तुती : बालाराम खड्का