संस्कृतिभित्रको होली पर्व

नारायणप्रसाद श्रेष्ठ

प्रकृतिमा जन्मिएर प्रकृतिमा रमाउने मानवीय स्वभावका कारण समाजमा विद्यमान संस्कृति र संस्कार मानव जीवनको अभिन्न अङ्ग भएर आइरहेको छ । आपसी मेल र भाइचाराको अभिवृद्धि गर्दै बाँच र बचाऔँको सिद्धान्तमा रहेको मानव जीवन र यही जीवनले अंगीकार गर्दै आएको होली पर्व अब केही दिनपछि हाम्रो आँगनमा भित्रिँदै छ ।

पाप र पुण्यको साक्षी भएर सत्यको विजय हुने कहानी बोकी आपसमा सुमधुर सम्बन्ध र सद्भावको वातावरण बनाइ होली पर्व नयाँ उत्साह र उमंग बोकी हाम्रो सामू आउँदै छ । क्षणिक लोभ, आशिक्त र अहंकार प्रवृत्तिले ल्याउने परिणामको यथार्थ दर्शाउँदै होली पर्वले मानव जीवनको लागि ज्ञान र शक्ति आर्जन गर्ने नौलो परिवेश उद्घाटन गरेको अवस्था छ । निर्दोष र सत्यवादी चरित्रप्रति जतिसुकै हिलो छ्याप्न कोसिस गरे पनि झुट, फरेव र पापको भण्डाफोर आफै हुँदोरहेछ भन्ने यथार्थ यस पर्वले सिकाउन खोजेको छ ।

बसन्त ऋतुको आगमनसँगै प्रकृतिमा पालुवा लाग्न सुरु हुने यस अवस्थामा प्रकृतिसमेत पुलकित भएको देखिन्छ । हामी र हाम्रो आचरणले अपनाउनुपर्ने नैतिकताको पाठ सिकाउँदै सदाचार र सद्भावको रुपमा मनाइने यस पर्वले साच्चिकै अर्थमा मानव जीवनले अपनाउने चरित्रप्रति संवेदनशील भएर उदाएको छ । दुःखपछि सुखको अनुभव र विछोडपछिको मिलनमा हुने आनन्दको अनुभूति गर्दै मनाइने यस पर्वले अत्याचार, पापाचार, दूराचार र भ्रष्टाचारजस्ता अनैतिक कार्य हाम्रा लागि शत्रु हुन् र जीवनलाई बाधा पु¥याउने तत्व पनि यिनै हुन् भन्दै यसबाट अलग रही आपसी सद्भाव र सहचार्य कायम गर्दै जीवनको उद्देश्य परिपूर्ति गर्न यस पर्वले सबैलाई शिक्षा दिन खोजेको छ ।

धन, दौलत र घमण्डले मानिस आफूले आफैलाई जति भौतिक सम्पन्नताको पगडी गुथे पनि यदि उसमा सदाचार र सत्यवादी चरित्र छैन भने उसका ती सबै वैभव शून्य बराबर हुन्छन् । यही सत्य बोकी आएको होली पर्व ऋतुको परिवर्तनसँगै मानवीय सोच र चिन्तनमा सकारात्मक भाव जागृत गराउन आएको पाइन्छ । पौराणिक कथा पुराणमा उल्लेख भएअनुसार होलिका र प्रह्लादबीचको कहानीसँग जोडिएको यो कथामा होलिकाले सत्यवादी चरित्रका प्रह्लादलाई अग्निकुण्डमा जलाउन खोज्दा पनि अग्निले दहन गर्न नसकेको र होलिका जसले वरदान प्राप्त गरेकी थिइन्) आफै नष्ट भएको कथा प्रसंग जोडी यस पर्वले सत्यको विजय निश्चित हुने ज्ञान दिएको छ । तसर्थ, यसको महत्व र यसभित्र लुकेको सत्यलाई ग्रहण गरी आउँदै गरेको होली पर्व खुसी र उमंगका साथ मनाऔँ हाम्रो शुभकामना ।

अहंकार र घमण्डले भरिएको स्वार्थ चरित्र आफूले आफैलाई समाप्त गर्ने प्रवृत्ति हुन् । मानव जीवनले जान्नुपर्ने आधारभूत सत्य चरित्र नै जीवनको उद्देश्य हुनुपर्छ भनी यसले हामीलाई शिक्षा दिन खोजेको छ । भौतिक विज्ञानले अविष्कार गरेका चर्मदृष्टिले देखेको जति पनि सत्य छन्, वास्तवमा यसले जीवनलाई क्षणिकतातिर अग्रसर गराइरहेको छ, विलाषीतिर धकेलिरहेको छ । यही सत्य उजागर गर्दै चर्मदृष्टिले देखेको सबै वस्तु सत्य हुँदैनन् र सत्यलाई असत्यले कहिल्यै ढाल्न सक्दैन भन्ने ज्ञान चछु यस प्रशंगले खोलेको पाइन्छ ।

म र मेरो भावनामा होइन, हामी र हाम्रो भावनाले सहअस्तित्व कायम गर्दै हाम्रो आचरणले अपनाउनुपर्ने जीवनशैलीतर्फ यस पर्वले संकेत गर्दै अरुलई कष्ट पु¥याइ आफूलाई आनन्द प्राप्त गर्नु किमार्थ राम्रो कर्य होइन भनी स्वीकार्दछ । यस्तो प्रवृत्ति सामाजिक विकृतिस्वरुप देखापरेको र गलत आचरणप्रति आकर्षित गर्न खोजिएको मात्र हो । तसर्थ, यस पर्वसँग गाँसिएको कथाले आफू खुसी हुन अरुलाई खुसी देख्नुपर्छ र अरु खुसी हुनु आफू खुसी हुनु हो भन्ने सत्य हामीलाई सिकाउन खोजेको छ ।

सत्य, धर्म, प्रेम, शान्ति र अहिंसा जीवनका उद्देश्य हुन् र यही उद्देश्य प्राप्ति गर्दै जीवनलाई गतिशीलता दिइ निष्कलंकित आदर्श समाजको सपना पूरा गर्न यसले प्रत्येकलाई जिम्मेवार बनाउन खोजेको छ । अनुशासित र मर्यादित बनाउन खोजेको छ । तसर्थ, दूषित वातावरण र परिस्थितिले ल्याउने परिणामको आँकलन गरी यस पर्वभित्रको सत्यलाई जान्नु पर्दछ  । ‘पाप धुरीबाट कराउँछ’ भन्ने उखानलाई यथार्थ रुपमा परिचय दिँदै पाप र पुण्य के हुन् ? यो केवल समाजले उत्पादन गरेको मनगढन्ते कुरा मात्र हो र ? भन्दै असल कर्म भनेको पुण्य कर्म हो र आचरण र स्वार्थपरक चिन्तनभित्र लुकेको कर्म पाप हो भन्ने सत्य यस पर्वसँग गाँसिएको छ ।

मानव भएर मानवताको नाताले निभाउनुपर्ने जिम्मेवारी केवल सत्यमा आधारित कर्मबाट मात्रै सम्भव हुने यथार्थलाई झल्काउँदै चरित्र अरुबाट होइन आफैबाट सुरु गर्नुपर्ने सत्य यसले मुखरित गरेको छ । व्यक्तिको आचरणमा बनावटी शुद्धता भए पनि नियत असल नहुनसक्छ । तर, कमजोर व्यक्रिको आचरण र व्यवहारमा देखावटी नभइ नियत सफा रहनसक्छ भन्ने सत्य यसले उजागर गरेको छ ।

होली पर्वसँग प्रह्लाद र होलिकाको कथा मात्र नभएर रामले रावणलाई समाप्त गरी सत्यको विजय उल्लासको रुपमा पनि होली पर्व मनाइने गरेको प्रसंग पाइन्छ । यस अवस्थामा विभिन्न थरिका रँगबाट आपसी सद्भाव, स्नेह साटासाट गर्छौं । मीठोमसिनो खानेकुरा खाइ विगत वर्षझैँ यस वर्ष पनि मनाउँछौँ । हामीले यो पर्व जसरी उत्सवको रुपमा मनाउँछौँ, एकअर्कालाई अंकमाल गर्दै सद्भाव कायम गर्दछौँ, आपसी विश्वास बढाउने कार्य गर्दछौँ ।

के सबै हामीले होली पर्वको महत्व र यस पर्वले दिन खोजेको आचरण र व्यवहारसँग गाँसेर गरेका छौँ त ? के साच्चिकै यसले निर्दिष्ट गर्न खोजेको चरित्रप्रति संवेदनशील भएर पर्व मनाउँछौा ? यो प्रश्न निकै पेचिलो भएर वर्तमानमा देखापरेको छ । यो पर्वको महत्व के हो ? होलिका आफै किन भष्म हुनुप¥यो ? आगोका कार्य डढाउनु र खरानी गराउनु हो तर पनि प्रह्लादलाई केही नभइ होलिका मात्रै किन खरानी भइन् ? रामले रावणलाई किन मार्नुप¥यो ? सीता हरणको उद्देश्य के थियो ? राजा राम र राक्षस कूलका रावणको कथा प्रसंग कसरी बन्यो ?

यसले कस्तो किसिमको संकेत गरेको छ ? यी र यस्ता प्रसंग के हामीले बुझ्ने कोसिस ग¥यौँ ? नयाँ पिढीलाई यसको वास्तविकता र चरित्रप्रति अंकीत गरेका छौँ ? ज्ञान दिन के सक्षम भएका छौँ ? हाम्रो संस्कृति र संस्कारले हामीलाई आचरणयुक्त र गतिशील जीवनशैलीप्रति आकृष्ट गरेको छ, के यो ज्ञान नयाँ पिढीलाई दिन लागिपरेका छौँ ? यी प्रश्नहरु अनुत्तरित छन् । वर्तमान समयमा हाम्रो संस्कृतिले देखाउन खोजेको आदर्श र आचरणयुक्त जीवन पद्धतिको ज्ञान हासिल नगरी भौतिकवादी आडम्बरमा हामी अहिले वर्तमानमा रुमलिएका छौँ ।

पश्चिमी सभ्यताले अपनाएको छाडा संस्कृतिप्रति सजिलै आकर्षित भएका छौँ । के यही हाम्रो आचरण हो ? नाङ्गो र आचरणहीन चाल चलन हामीलाई किन मन परेको होला ? हिन्दू संस्कृति र सभ्यताले सिकाएको र हामीले स्वीकार गरेका आदर्शका प्रतीक रामको आदर्श चरित्र के हामीले अपनाउन सकेका छौँ ? नयाँ पिढीलाई सोही आचरण गर्न उत्प्रेरित गरेका छौ ? धार्मिक सद्भावले ल्याएको परिवर्तित सत्यसँग गाँसिएको आचरण नबुझी अधर्म र छाडा तथा गतिहीन दिशातर्फ हाम्रो रोजाइ पर्नु के मनासिव हो ?

कतै विलाषीतिर अकर्षित भएका त छैनौँ ? यो प्रश्न पनि गम्भीर भएर देखापरेको छ । तसर्थ, सोच र चिन्तनमा आएको यस्तो किसिमको परिवर्तनले समाज कहिले सकारात्मक दिशातिर कहिल्यै उन्मुख हुन सक्दैन । सत्यलाई बुझी हामी र हाम्रो जन्म आदर्श गतिलाई असल र सत्यवादी चरित्रप्रति आकर्षित गर्न आएको हो भन्ने बुझी संस्कृतिले अंगाले जतिका चाडपर्व ती हाम्रै लागि र हाम्रो परिवेशलाई शुद्ध र असल प्रवृत्ति उन्मुख गराउन आएका हुन् भन्ने यथार्थ सत्य बुझी अगाडि बढ्नु वर्तमानको आवश्यकता हो । सत्य डग्दैन असत्य रहँदैन, यही मान्यतालाई शिरोधार्य गरी होली पर्व मनाऔँ, हाम्रो शुभकामना ।