राप्ती गापाको चार बर्ष : कालोपत्रेदेखि आधारभूत स्वास्थ्य इकाईसम्म

तीर्थराज ज्ञवाली
मसुरिया, २ चैत । राप्ती गाउँपालिका पूर्वाधार विकास शाखाले विगत ४ वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । राप्ती गाउँपालिकाको नवौँ गाउँसभामा स्वीकृत गर्ने गरी विगत चार वर्षका बीचमा गाउँपालिकाको गाउँसभाबाट स्वीकृत गरेर सम्पन्न भएको विकास कार्यको सार्वजनिक गरिएको हो ।

राप्ती गाउँपालिका पूर्वाधार विकास शाखा संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्रीले सार्वजनिक गरेको प्रतिवेदनमा स्थानीय सरकारको चार वर्षमा गरेका मुख्य कामहरूको बारेमा जानकारी गराएका थिए । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका १० स्थानीय तहमध्ये राप्ती गाउँपालिका पहिलो नम्बरमा छ ।

राप्तीले ७०.७९ अंक प्राप्त गरेको पालिकाका कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ । राप्ती गाउँपालिका पूर्वाधार विकास शाखाका सदस्य सचिव राप्ती गाउँपालिकाका इन्जिनियर अशोक बेल्वासेका अनुसार राप्ती गाउँपालिकाले विगत चार वर्षमा हालसम्म ३२ सय मिटर कालोपत्रे सम्पन्न भएको र यस आवको लागि ३५ सय मिटर कालोपत्रे गर्ने कार्यको लागि ठेक्का सम्झौता भएको साथै राप्ती चक्रपथ निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।

इन्जिनियर अशोक बेल्वासेकाअनुसार राप्ती गाउँपालिकामा राप्ती चक्रपथको उत्तर–दक्षिण जोडने सडकहरूमध्ये भालुवाङ बगासोती सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न तथा १५ सय मिटर कालोपत्रे कार्य सम्पन्न भएको छ । हर्षेडाँडादेखि खुरुरिया सडक ९ सय मिटर कालोपत्रे कार्य सम्पन्न भएको, श्रीनारायण चोकदेखि भानपुर सडक ८५० मिटर कालोपत्रे कार्य सम्पन्न भएको, सिसहनियादेखि महादेवा सडक १२ सय मिटर कालोपत्रे कार्य सम्पन्न भएको, बगरापुर, सगरापुर, पत्थरगढवा, पहरूवादेखि भुल्के सडक १५ सय मिटर कालोपत्रे कार्य सम्पन्न भएको छ ।

इन्जिनियर अशोक बेल्वासेकाअनुसार विगत चार वर्षमा राप्ती गाउँपालिका प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको र नव निर्वित गाउँपालिका भवनबाट कार्य सञ्चालन भइरहेको, वडा कार्यालय भवनहरू १, २, ६, ७ र ८ को निर्माण कार्य सम्पन्न भएको छ । यसैगरेर ९ नं वडा कार्यालय भवनको निर्माण कार्य अन्तिम चरनमा रहेको र वडा नं ४ को कार्यालय भवनको ठेक्का सम्झौता भइ निर्माण कार्य डिपिसी लेवलसम्म भएको, पत्थरगढवा सानो नदी पुल निर्माण कार्य सम्पन्न भइ आवतजावत सञ्चालन भइसकेको, दोलईखोला (मझनिगढ) पुलको निर्माण कार्य अन्तिम चरणको अवस्थामा छ ।

राप्ती गाउँपालिका मसुरिया बड्का गल्ली ५ सय मिटर कालोपत्रे सडक, लालमटिया पूर्व न्यौपाने–गल्ली ५ सय ५० मिटर कालोपत्रे सडक, वडा नं २ अन्तर्गत बराखुटी चोकदेखि उत्तर र दक्षिण ८५० मिटर कालोपत्रे सडक, लालमटिया पश्चिम चोकदेखि खुरुरिया जाने सडक करिब १ हजार मिटर सडक विस्तार भएको छ ।

स्वास्थ्य क्षेत्रलाई लक्षित गरी गाउँपालिकाको आधारभूत स्वास्थ्य इकाई केन्द्र भवनहरू, वडा न.२, ३, ४, ६, ७, ८ र ९ मा निर्माण कार्य सम्पन्न भइ सम्पूर्ण स्वास्थ्य इकाई केन्द्रबाट सेवा सुचारु भइरहेको र यस आर्थिक वर्षमा दोलईखोला, पहरूवा कालापानी सडकको ठेक्का सम्झौता भइ निर्माण कार्य भइरहेको, राप्ती गाउँपालिका वडा नं ५ सिसहनियामा स्थित १५ श्यया अस्पतालको ठेक्का सम्झौता सम्पन्न भएको, गाउँपालिका अन्तर्गतका वडाहरूमा अधिकांश क्षेत्रमा ग्राभेल समेतको सडक विस्तार तथा पक्की नाला, कल्भर्ट निर्माण, मठमन्दिर आदि विभिन्न प्रकारका काम भएको उल्लेख छ ।

राप्ती गाउँपालिका पूर्वाधार विकास शाखा संयोजक तथा वडा नं ४ का वडाध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्रीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आदर्श नमुना माविको प्रशासनिक भवन निर्माण सम्पन्न भएको, आदर्श नमुना माविको विद्यालय भवन निर्माण कार्य भइरहेको, यस आवमा ४ वटा विद्यालय भवनको ठेक्का सम्झौता भइ निर्माण कार्य भइरहेको, गाउँपालिकाअन्तर्गतका अन्य धेरै विद्यालयहरूको दुईकोठे र चारकोठे विद्यालय भवन निर्माण सम्पन्न गरी पठनपाठन सुचारु गरिएको छ । पर्यटन क्षेत्रको विकासका लागि गाउँपालिकाले ५ वटा पर्यटन क्षेत्रको डिपिआर गरेको छ ।